निन्दकहरूको खास चारित्रिक विशेषता हुन्छ । उनीहरु अरुलाई विश्वासको लायक नै ठान्दैनन् । शङ्कालुले अरुलाई हत्तपत्ति विश्वास गर्दैनन्, तथ्य प्रमाणको आधारमा विश्वासको आधार तय गर्दछन् । सोझोले हरेकलाई उस्तै ठान्छ, टाउको नदुखाइकन विश्वास गर्दछ ।
बोष्टन, अमेरिका // अग्नि नियन्त्रण कार्यालय बोस्टनको नयाँ हाकिमले त्यहाँका केही अग्नि नियन्त्रक कर्मचारीहरू सोमबार र शुक्रबार बिरामी बिदामा बसेको देखे । उनलाई लाग्यो— कर्मचारीहरू सप्ताहन्तको अघिपछिका दिन बिरामी बिदा लिएर घरको बसाइ लम्ब्याउन चाहन्छन् । उनले ठाने— यहाँ बिरामी बिदाको व्यापक दुरुपयोग भइरहेको छ । त्यसै दिनदेखि उनले बिरामी बिदा सम्बन्धी नयाँ नियम जारी गरे । जसअनुसार, अग्नि नियन्त्रकहरूले वर्षको १५ दिन मात्रै बिरामी बिदा लिन पाउने भए । लगातार दुई दिनभन्दा बढी बिरामी बिदामा बस्दा डाक्टरको प्रेस्क्रिप्सन अनिवार्य चाहिने भयो । उक्त नियम लागू भएको केही हप्तापछि क्रिसमस र नयाँ वर्षको दिन ‘बिरामी बिदामा’ बस्ने कर्मचारीको सङ्ख्या १० गुणाले बढ्यो । हाकिमलाई लाग्यो—अग्नि नियन्त्रकहरू झनै अटेरी भए । त्यसैले उनले क्रिसमस, नयाँवर्ष जस्ता सार्वजनिक बिदाका दिन बिरामी बिदामा बस्नेहरूको बोनस कट्टी गरिदिने नयाँ नियम थपे । नियम लागू भएको एक वर्षपछि उक्त कार्यालयमा बिरामी बिदा खपत अघिल्लो वर्षभन्दा दोब्बरले बढ्यो ।
स्थानीय बोस्टन ग्लोव अखबारमा छापिएको उक्त खबर अनुसार, अग्नि नियन्त्रक आफैँमा जोखिमयुक्त पेशा हो, जसप्रति उनीहरू गर्व गर्दथे । त्यसैकारण उनीहरूले अत्यन्त तनावपूर्ण अवस्थामा पनि थकान वा बिमारीको पर्वाह नगरी खटिएर काम गर्दथे । धेरैले अरुको जीउधनको रक्षाको लागि आफ्नै ज्यानको बाजी लगाएर काम गर्दथे । अग्नि नियन्त्रकबीचमा एकदमै विश्वासपूर्ण वातावरण थियो । बिदाको साटफेर त्यही विश्वासको बलमा हुन्थ्यो । तर नयाँ हाकिमले एकाध व्यक्ति सोमबार र शुक्रबार बिदामा बसेको भरमा पूरै कर्मचारीलाई ‘कामचोर’ ठानेर अविश्वास गरे । ती दिन बिदामा बस्नेहरू साँच्चै बिरामी भएका, थकानले चुर भएका पनि हुनसक्थे । तर, उनले कारण खोज्नेतिर नगई सबैप्रतिको विश्वासलाई सामान्यीकरण गर्दै एकल निर्णय लाद्ने निष्कर्षमा पुगे ।
अक्सर आफ्नै हिसाबले चलिरहेको प्रक्रिया वा विधिमाथि सकारात्मक उत्प्रेरणा (पुरस्कार) वा नकारात्मक उत्प्रेरणा (दण्ड) को व्यवस्था गर्दा त्यो निस्प्रभावी हुने मात्रै होइन, यसरी नै प्रत्युत्पादक भएका थुप्रै उदाहरण (यदि पुरस्कार एकदमै ठूलो नहुने र दण्ड एकदमै कडा नहुने हो भने) छन् । क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक यूरे नेइजीले आफ्नो पुस्तक ‘मिक्स्ड सिग्नल : हाउ इन्सेन्टिभ रियल्ली वर्क’ मा यस्ता निकम्मा सकारात्मक-नकारात्मक उत्प्रेरणाका थुप्रै उदाहरण पेश गरेका छन् । मलाई मन परेको र यहाँ जोड्न मिल्ने प्रसङ्ग पेरिसको एक शिशु हेरचाह केन्द्रको छ ।
उक्त शिशु हेरचाह केन्द्रमा अभिभावकहरू साँझको ४ बजे आफ्ना बच्चा लिन जान्थे । शहरमा ट्राफिक जाम भएको बेला वा अन्य कारणले अभिभावक कहिलेकाहीँ केही समय ढिला पनि हुन पुग्थे । तर, उक्त केन्द्रका सञ्चालकले ढिला आउने अभिभावकलाई दण्डस्वरूप बच्चा बुझ्न दश मिनेटभन्दा बढी ढिला भएमा ३ डलर जरिवाना लाग्ने नयाँ नियम लागू गरे । सुरुमा त जरिवाना तिर्नुपर्ने डरले उक्त नियमको राम्रै पालना भयो तर, केही समयपछि ढिलो पुगेर दण्ड तिर्ने अभिभावकको (ठीकै छ तीनै डलर त हो भन्ने) सङ्ख्या उल्लेख्य बढ्यो । हुँदै जाँदा अभिभावकहरूको समयमै बच्चा लिनपुग्ने दर दण्डको नियम नहुँदा भन्दा नियम राखेपछि कम हुनपुग्यो अर्थात दण्डको उत्प्रेरणा निकम्मा बन्नपुग्यो । अच्चाक्ली भएपछि उक्त केन्द्रले ३० मिनेट ढिलो हुँदा बच्चा पुलिसलाई बुझाइदिने र थानामा बुझ्न जानुपर्ने नियम (कडा उत्प्रेरणा) लगाए । कडा नियमले काम गर्यो र अभिभावक समयमै आउन थाले ।
बोस्टन अग्नि नियन्त्रण कार्यालयको हाकिमको प्रसङ्गमा पनि शिशु हेरचाह केन्द्रकै जस्तो कडा नियम भएको भए सायद मन लागी–नलागी पालना पनि हुन्थ्यो होला । तर, हाकिमले अग्नि नियन्त्रक पेशाको संवेदनशीलतालाई बुझेनन् । एकाधलाई हेरेर समग्र कर्मचारीलाई नै विश्वास गर्न लायक ठानेनन् । उनले निन्दक चरित्र प्रदर्शन गरे ।
निन्दकहरू अरुले गरेका हरेक काम र व्यवहारलाई नाटक वा अभिनय गरेको भन्दै शङ्कालु दृष्टिले हेर्छन् । त्यसै अनुरूप अरुलाई खारेज गर्ने, उडाउने र होच्याउने व्यवहार गर्दछन् । समग्रमा निन्दक चरित्र भएका मानिसले आफ्नो नकारात्मक अनुभवलाई सामान्यीकरण गर्दै आफूबाहेकका मानिस वा संस्थालाई विश्वास नगर्ने मात्रै होइन, विश्वासको लायक नै ठान्दैनन् ।
अरुमाथि गरिने विश्वासको आधारमा मानिसको मोटामोटी तीन प्रवृत्ति हुन्छन् । निन्दक (सिनिक), शङ्कालु (स्केप्टिक), र सोझो (नेइभ) । हुन त यी प्रवृत्ति पूर्ण रुपमा भिन्न हुँदैनन्, वर्णपट (स्प्रेक्ट्रम)मा हुन्छन् । समय, मुद्दा र सन्दर्भ अनुसार मानिसले त्यसमाथि निन्दा, शङ्का र विश्वास गरिरहेको हुन्छ । तथापि निन्दकहरूको खास चारित्रिक विशेषता हुन्छ । उनीहरु अरुलाई विश्वासको लायक नै ठान्दैनन् । शङ्कालुले अरुलाई हत्तपत्ति विश्वास गर्दैनन्, तथ्य प्रमाणको आधारमा विश्वासको आधार तय गर्दछन् । सोझोले हरेकलाई उस्तै ठान्छ, टाउको नदुखाइकन विश्वास गर्दछ ।
‘होप फर सिनिक : द सरप्राइजिङ साइन्स अफ ह्यूमन गुडनेस’ का लेखक जामिल जाकीका अनुसार, निन्दकहरू अरुमाथि एकोहोरो अविश्वास जताउँछन् । उनीहरूको अन्तर्यमा मान्छेहरू सबै स्वार्थी, कपटी र भ्रष्ट हुन्छन् भन्ने विश्वासले अड्डा जमाएको हुन्छ । उनीहरु प्रमाण बिना नै खराब भन्दा खराब परिणामको कल्पना गरेर कुरा गर्छन् । निन्दकहरू अरुले गरेका हरेक काम र व्यवहारलाई नाटक वा अभिनय गरेको भन्दै शङ्कालु दृष्टिले हेर्छन् । त्यसै अनुरूप अरुलाई खारेज गर्ने, उडाउने र होच्याउने व्यवहार गर्दछन् ।
समग्रमा निन्दक चरित्र भएका मानिसले आफ्नो नकारात्मक अनुभवलाई सामान्यीकरण गर्दै आफूबाहेकका मानिस वा संस्थालाई विश्वास नगर्ने मात्रै होइन, विश्वासको लायक नै ठान्दैनन् । उदाहरणको लागि नेपाली समाजमा अहिले व्याप्त सङ्कथनहरू ‘जुन जोगी आएपनि कानै चिरेका’, ‘सबै नेता चोर फटाहा हुन्’, ‘सबै कर्मचारी भ्रष्टाचारी छन्’, ‘सञ्चार माध्यमका १२ भाइ एकै हुन्’, ‘सामाजिक सेवा भनेको सोसल मिडियामा देखाउनकै लागि गरिएको नाटक मात्रै हो’ र ‘नेपाल खत्तम छ र यहाँ बसेर भविष्य छैन्’ आदि यस्तै अविश्वासको जडमा अडिएका निन्दक अभिव्यक्तिहरू हुन् ।
निन्दक उत्पादनका कारखाना
मानिसहरू निन्दक बन्दै जानुमा व्यक्तिगत, सामाजिक र मनोवैज्ञानिक कारण हुन्छन् । अरुलाई विश्वास गर्दा पटकपटक धोका खाएका कतिपय मानिसको सञ्ज्ञानात्मक प्रणालीले विश्वास गर्नु भनेकै धोका पाउनु हो भनेर अनुभवको सामान्यीकरण गर्दछ । र, त्यस्ता मानिसले आफूलाई थप धोका हुनबाट जोगाउन मनोवैज्ञानिक कवचको रुपमा कसैमाथि पनि विश्वास नगर्ने निन्दक प्रवृत्ति अङ्गाल्न पुग्छन् ।
त्यस्तै समाजमा विभिन्न अनैतिक क्रियाकलाप देख्दै र भोग्दै गएपछि पनि मानिसमा त्यहाँका संस्थाहरूप्रतिको विश्वास भत्कन्छ र अविश्वास बढ्दै जान्छ । विस्तारै मान्छे त्यस्ता नकारात्मक क्रियाकलापका बारेमा मात्रै चासो राख्ने र त्यसैको खोजी गर्ने र सकारात्मक कुरा भएता पनि बेवास्ता गर्ने ‘नकारात्मक पूर्वाग्रही’ मा रूपान्तरित हुन्छ । त्यसका लागि सञ्चार माध्यम र सामाजिक सञ्जालका नकारात्मक समाचारले पनि ठूलो भूमिका खेलेको हुन्छ ।
लोकतन्त्रमा मिडियाले ‘वाचडग’को भूमिका निर्वाह गर्नुपर्ने भएकाले स्वाभाविक रुपमा बेथिति (नकारात्मक) का कुरा मिडियाको प्राथमिकता र रोजाइमा पर्छ । त्यसैगरी समाजमा थिति बसाल्न लामो समय लाग्छ तर, थिति बिगार्न निमेषमै सकिन्छ । मिडियालाई बाँच्नको लागि चाहिने निरन्तर खबरको आपूर्ति, लामो समयमा एकाध हुने सकारात्मक घटनाले भन्दा यत्रतत्र उपलब्ध हुने बेथितिका खबरले गरिदिन्छन् । त्यसकारण सञ्चारमाध्यममा नकारात्मक समाचारको अधिकता हुन्छ ।
सञ्चार माध्यम मात्रै होइन, सामाजिक सञ्जाल झनै नकारात्मकता फैलाउने लामखुट्टे हुन् । सामाजिक सञ्जालका एल्गोरिदमले मानिसलाई बढी इन्गेज गराइराख्ने सामग्री बढी देखाउँछन् । किनभने सामाजिक सञ्जालको आम्दानीको मोडल ध्यान अर्थतन्त्र (अटेन्सन इकोनोमी) मा आधारित छ, जसमा मानिसको ध्यानलाई उत्पादनको साधन मानिन्छ । अर्थात सञ्जालमा जति बढी मानिसको ध्यान खिचेर अलमलाउन सक्यो, त्यति नै त्यसका सञ्चालकले मुनाफा कमाउँछन् । अझ सामाजिक सञ्जालमा असत्य कुरा सत्य भन्दा द्रुत र अधिक मात्रामा फैलने गर्दछन् । एमआइटीका अध्येताले सन् २०१८ मा गरेको एक अध्ययनले सामाजिक सञ्जाल ट्विटरमा सत्यभन्दा असत्य कुरा ७० प्रतिशतले बढी रिट्वीट हुने र त्यसको फैलावट सत्य भन्दा छ गुणाले ज्यादा हुने देखाएको थियो ।
नोबेल पुरस्कार विजेता ड्यानियल कानेमन र एमोस ट्रेभर्स्कीको निष्कर्ष छ, कुनै कुराको सामीप्यताले मानिसको निर्णय क्षमतालाई व्यापक प्रभाव पार्ने गर्दछ । उनकाअनुसार, मानिसको मस्तिष्कले निर्णय गर्दा तत्काल उपलब्ध सूचनाको आधारमा छोटो बाटो (अभाइलेभिलिटी ह्यूरिष्टिक) अपनाउँदछ । अर्थात मान्छेले जे सामिप्यमा छ, त्यसकै आधारमा धारणा बनाउँछ । समाचार र सञ्जालमा निरन्तर आउने खबरलाई मानिसले बढी हुने घटनाको (जस्तै शार्कले मान्छे मारेको) रुपमा लिन्छन् जबकी वास्तविकतामा त्यो फरक हुन्छ । त्यसकारण नकारात्मक समाचारको बाढी देखेपछि मानिसमा नकारात्मक पूर्वाग्रहको मात्रा बढ्दै जान्छ र मानिस विस्तारै निन्दक बन्दै जान्छ ।
निरन्तर निन्दाको परिणाम
सम्भवतः यस्तै कारणले होला यतिखेर संसारभर राज्यका अङ्ग, नेता, मिडियाप्रति जनताको भरोसा कम हुँदै गएको सर्वेक्षणहरूले देखाएका छन् । अमेरिकामा गरिएको सर्वेक्षणमा सन् १९७० को तुलनामा हाल मानिसले त्यहाँको राष्ट्रपति, सञ्चारमाध्यम, सदन र सार्वजनिक विद्यालयलाई गर्ने भरोसामा तीव्र गिरावट आएको छ । विश्वभर नै राज्यका अङ्गहरूप्रतिको मानिसको विश्वास घटिरहेको विभिन्न सर्वेक्षणले देखाएका छन् । नेपालमा पनि सन् २००७ को तुलनामा जनताको नेताप्रतिको भरोसा वा विश्वासमा सन् २०१७ मा आइपुग्दा घटेको अध्ययनहरूले देखाएका छन् ।
निन्दकहरू हमेसा आलोचना गरिरहने हुनाले कहिलेकाहीँ निन्दक प्रवृत्तिले आलोचनात्मक चेतलाई सघाएता पनि त्यस्ता मानिस नयाँ तथ्यले आफ्नो पूर्ववत् अविश्वासलाई खारेज गर्ने अवस्था आउँदा पनि अविश्वासी नै हुन्छन् । थप, आलोचनात्मक चेत भनेको अरुको मात्रै आलोचना गर्ने होइन, आफू र आफ्नो चेतप्रति पनि आलोचित हुने र तथ्यअनुसार धारणा बदल्ने चैतन्य पनि हो, जुन निन्दकहरूमा पाइदैन ।
सबैलाई एउटै डोकोमा हालेर गरिने निन्दकहरूका सामान्यीकृत आलोचनात्मक अभिव्यक्ति सुनेर कतिपय मानिस ठान्छन् — निन्दकहरू चलाख, बुझेको, जानेको मान्छे हुन् । तर, जामिल जाकी भन्छन् – त्यो भनेको भ्रम मात्रै हो । निन्दकहरू सञ्ज्ञानात्मक परीक्षामा कम नम्बर ल्याउँछन् अर्थात उनीहरु मन्दबुद्धिका हुन्छन् । साथै निन्दक चरित्रका मानिस सामान्य मानिसको तुलनामा डिप्रेसनबाट बढी शिकार हुने, मुटुका रोगी हुने र कम बाँच्ने अनुसन्धानहरूले देखाएका छन् ।
लोकतान्त्रिक संस्थान प्रतिको भरोसा टुटेपछि जनता दिग्भ्रमित हुने अवस्थामा पुग्छन् । त्यही दिग्भ्रमपूर्ण अवस्थाको दोहन गर्दै मानिसबीच कृत्रिम धुव्रीकरण गराउने, प्रपोगान्डा र कुसूचना फैलाउने, प्रजातान्त्रिक तौरतरिका लत्याउने र त्यसको ठाउँमा कठोर शासनको माग गर्ने अभिलाषीहरू बढ्छन् ।
निन्दक चरित्रले मान्छेलाई व्यक्तिगत हानी गर्ने मात्रै होइन, त्यसको सामाजिक मूल्य पनि चर्को छ । समाजमा निन्दकहरू बढ्ने र उनीहरूको आवाज बढ्तै मुखरित हुँदै जाँदा सामाजिक संस्थानहरूप्रतिको जनविश्वास क्षयिकरण हुँदै जान्छ । समाजमा स्वयंसेवी भावनाको ह्रास हुने र सामाजिक कार्यहरूमा जनसहभागिता कम हुँदै जान्छ । जसले सामाजिक संरचना बिग्रने र भत्कने डर हुन्छ ।
नेता वा पार्टीको निन्दाको नाममा मानिसहरूले भोट नै नहाल्ने, प्रजातान्त्रिक प्रणालीमा हुने बहस, छलफललाई लत्याउने र त्यसमा हुने सम्झौता र सहकार्यलाई दुत्कार्ने प्रवृत्ति मौलाउँछ ।
अदालत, मिडिया, कानुन, मजदुर युनियन जस्ता संस्थानहरूको भरोसा कम हुँदाको अवस्था चित्रित गर्दै टिमोथी स्नाइडरले ‘अन टिरानी : ट्वान्टी लेसन्स फर्म द ट्वान्टि्थ सेन्चुरी’मा त्यसको शिष्टताको प्रतिरक्षा गर्नुपर्ने तर्क गरेका छन् ।
लोकतान्त्रिक संस्थान प्रतिको भरोसा टुटेपछि जनता दिग्भ्रमित हुने अवस्थामा पुग्छन् । त्यही दिग्भ्रमपूर्ण अवस्थाको दोहन गर्दै मानिसबीच कृत्रिम धुव्रीकरण गराउने, प्रपोगान्डा र कुसूचना फैलाउने, प्रजातान्त्रिक तौरतरिका लत्याउने र त्यसको ठाउँमा कठोर शासनको माग गर्ने अभिलाषीहरू बढ्छन् । यस्तो अस्तव्यस्ततालाई ठीक राख्न कठोर मुटु भएको नेतृत्व चाहिन्छ भन्दै ‘स्ट्रङ्गम्यान’हरूले शक्ति हत्याउन सक्छन् ।
जर्मनीमा हिटलरको उदयको पछाडि समाजमा व्याप्त निन्दक चरित्र एउटा प्रमुख कारण थियो । सोभियत सङ्घमा स्टालिनले आफ्नो शासन टिकाउन प्रपोगान्डा फैलाउने र स्थापित संस्थाहरूलाई निरन्तर आक्रमण गर्ने गर्दथे । हिटलर र स्टालिनका जस्ता स्ट्रङ्गम्यानका अनुयायीहरू संसारभर उदाइरहेको वर्तमान अवस्थामा त्यसका नेपाली संस्करणहरूलाई सगरमाथामा पुर्याउने गरी हामी निन्दक नभइदिने कि ?
-नेपालभ्युजबाट