सुकन्या वाइवा पारिजातकी सहोदर बहिनी र साहित्यिक जीवनको सारथी हुन् । पारिजातको जीवनको चर्चामा सुकन्याको नाम अविभाज्य रूपमा आउने गर्छ । सुकन्या पनि लामो समयसम्म कलम चलाउँथिन्, पछि लेख्न छाडिन् । तर, पारिजातको देहान्तपछि पारिजातलाई ‘अपराजिता’ को उपनामले सम्बोधन गर्दै लामै समय लेखिरहेकी छन् । त्यसको एक पुस्तक पनि प्रकाशित छ । पारिजातको जीवनी ‘सुश्री पारिजात’ लेखनको क्रममा उनीसँग गोविन्द गिरी प्रेरणाले गरेको अन्तर्वार्ताको अंश ।
२०११ सालमा पारिजात नेपाल आउनुभो, २०१२ सालमा तपाईं । तपाईं आउँदा दिदीले पढ्न थालिसक्नुभएको थियो ?
म उताबाट एसएलसी पास भएर आएँ, दिदी यता एसएलसी पास गरेर बसेको रहेछ । अनि दिदीचाहिं एक दुई दिन नाइट कलेज पनि जानुभयो । पछि दिदीले छोड्नुभयो ।
कुन नाइट कलेज ?
नेशनल कलेजमा । दिदीलाई मिलेन । दिदी पद्मकन्या क्याम्पसमा आउनुभयो । म चाहिं नेशनल कलेजमा पढें । नाइट मात्र थियो । दिउँसो काम गर्थें म । मलाई सजिलो भो, दिनभरि काम गर्ने, राति पढ्ने ।
कलेजमा पढ्न थाल्दादेखि नै उहाँले लेख्न थाल्नु भा’को ?
दिदी त सानैदेखि नै थियो । उहिले दार्जीलिङमा कस्तो भने हस्तलिखित पत्रिका निस्किन्थ्यो । टोल–टोलको अनि स्कूल–स्कूलको, राम्रो अक्षर हुनेले लेख्ने, अनि अलि जान्नेले चित्र बनाउने, त्यस्तोमा नि दिदीले लेख्थ्यो । त्यो पत्रिकाहरू त मैले बिर्सिनै सकें । दार्जीलिङका मेरो साथीहरूलाई अझै थाहा छ ।
त्यतिखेर भित्ते पत्रिकामा लेख्नुहुन्थ्यो, अनि यहाँ आउनुभयो ?
भित्ते होइन, यत्रो रजिस्टर किन्थ्यो पैसा मिलाएर, त्यहाँ लेखेर कलेक्सन नै हुन्थ्यो ।
अनि यता आएर कसरी फेरि लेख्न सुरु गर्नुभयो त ?
अनि त्यहाँदेखि पछि दिदीले लेखिबस्थ्यो । कक्षामा निबन्धहरू पनि राम्रो लेख्थ्यो दिदीले । टिचरहरूले नै नपत्याउने रे दिदीले लेखेको भनेर । अनि त्यहाँदेखि पछि यौटा अझै पनि सम्झना छ । दिदीले त्यतिबेला खूब उपन्यास पढ्ने कुशवाहाकान्त, प्यारेलाल आवारा, चक्रधर आदिले छपछपी छोपेको बेला थियो । त्यतिबेला दिदीले यौटा केटाको नाम धवल राखेको मलाई सम्झना छ, धवलले केटीलाई केके भनेको आदि इत्यादि अलिअलि सम्झना आउँछ । तर त्यो कहाँ फाल्यो थाहा छैन ।
धवल भन्ने पनि लेख्नु भा’को थियो ?
धवल भन्ने केटाको नाम हो । कहाँ फाल्यो, लेख्थ्यो फाल्थ्यो नि त्यतिबेला त । अनि त्यो पत्रिकाहरूमा लेखेकोहरू अब त्यो कहाँ पुग्यो पुग्यो । को–कोले फाल्यो सम्झना पनि छैन । यहाँ आएर लेखेको पहिलो चाहिं चित्तरञ्जन नेपालीले छपाइदिएको त थाहै छ ।
पछि बेग्लै डेरा लिएर स्वतन्त्र रूपले अलग्गै बस्नुभयो ?
होइन होइन, त्यहीं डेरामा बस्यौं । त्यहाँ दाजुले बिहा गर्नुभयो । त्यहाँबाट त्यो घरबाट उठेर हामी, त्यो घर घरबेटीलाई चाहियो अनि हामी बानेश्वर गयौं । बानेश्वरमा पनि हामी सँगै बस्यौं । त्यहाँ बानेश्वरबाट आएर चैं हामी छुट्टियौं । त्यतिवेला मैले काम पाएँ, काम पाएपछि अब बाबु र दिदीलाई चैं ल अब हामी पुतलीसडकमा बस्ने भनेर सरेको । अलिकति नमिठो पनि त भयो नि, बिहा गरेको दाजुले अब हैन, दिदीले लेखेको छ नि उसको संस्मरणमा छ नि ! त्यल्ले गर्दा नि छुट्टेर हामी पुतलीसडकमा आ’को ।
तपाईंहरू तीन जना ?
बाबु, म र दिदी । त्यही घरमा शिरीषको फूल लेखेको दिदीले । त्यहाँको बहाल १३ रुपैयाँ थियो त्यतिबेला । दिदी र म बसेको कोठाको १३ रुपैयाँ, माथि बाउ बसेको कोठाको ५ रुपैयाँ । १८ रुपैयाँ थियो बहाल । तलब पाइन्थ्यो १०० रुपैयाँ । हाहाहा… त्यस्तो थियो ।
अनि शिरीषको फूल त्यहीं नै लेख्नुभयो ?
त्यहीं नै लेखेको दिदीले । दिदीले शिरीषको फूल लेख्दाखेरि चाहिं मैले अर्कै ठाउँमा काम गरिसकेथें । त्यो कलेज अफ एजुकेशन त अर्कै हो नि ! अर्को काम गर्थें म, त्यहाँदेखि मैले कलेज अफ एजुकेशनको तलब थोरै भो भनेर, तल स्कूल थियो, कलेज अफ एजुकेशन मुन्तिर यौटा स्कूल खोलेको थियो, त्यहाँ सरें । अलि बढी थियो तलब । त्यहाँबाट महेन्द्र भवनमा सरें । त्यहाँ निकै थियो तलब । गर्दाखेरि, म महेन्द्र भवनमा काम गर्दैगर्दा लेखेको त्यो शिरीषको फूल । डेरा त्यही ठाउँमा थियो ।
अनि त्यो ‘शिरीषको फूल’ त्यही डेरामा बसेर लेखेको हो ?
त्यही डेरामा ।
सप्पै त्यही डेरामा ? बाहिर कतै जानुभएन ?
एक महिनामा सिद्धिएको त्यो । दिनको एक परिच्छेद लेखेको हुन्थ्यो । म काममा जान्थें । म दौडेर आउँदा बेलुका पहिला त्यही सुन्थें । कस्तो भयो भनेर दिदीले सुनाउँथ्यो । दुब्लाउँछ, बिरामी हुन्छ भनेर मैले दिनको यौटा फुल चाहिं ठेकिदिएको थिएँ । खाउ है अण्डा, दुब्लाउँछ तिमी लेखी लेखी, हाहाहा… ।
अनि त्यो पहिलो उपन्यास कसले छाप्यो ?
शंकर लामिछाने दाइले ।
छापेकै उहाँले ?
पैसा त उहाँले नै हाल्या नि ! उहाँले नै हाल्या ।
प्रकाशक चाहिं पारिजात भनेर लेख्या छ ?
खोइ त्यो त बिस्र्यो हो, अहिले त । उहाँकै होला नि त । उहाँले नै छापेको हो । यो त रत्ना दिदीलाई थाहा होला ।
‘शिरीषको फूल’ लेख्दाखेरि, त्यो लेखुन्जेलसम्म शंकर लामिछानेसँग चिनजान भैसक्या थियो कि थिएन ?
थियो, शंकरदाइसँग परिचय भैसकेर त त्यो लिएर म गा’को नि त !
हैन हैन, लेख्न थाल्दाखेरि शंकरदाइसँग चिनाजानी थियो कि थिएन ?
त्यो पर्सनल्ली भेटेको चाहिं थाहा भएन । तर शंकर लामिछानेको लेखाइबाट दिदी धेरै प्रभावित थियो र मलाई ल यो लिएर शंकर लामिछानेकहाँ जा, देखा पाण्डुलिपि भनेर पठाएको ।
पाण्डुलिपि तपाईंले लिएर गा’को ?
अँ, मैले लिएर गा’को । पाण्डुलिपि लिएर गएँ । त्यतिबेला शंकरदाइहरू रक्सी–सक्सी नखाने । शंकरदाइ एकदम राम्रो हुनुहुन्थ्यो नि त ! उहाँहरूको क्यूरियो पसल थियो न्यूरोडमा । म दिउँसो गएर दिएको । शंकरदाइले त्यो भूमिकामा पनि लेख्नुभा’को छ । शंकरदाइले नै छापेको हो ।
तपाईंले पाण्डुलिपि दिनुभयो अनि सीधै भूमिका लेख्नुभयो कि केही थपघट गर्नुपर्छ भन्ने सुझाव दिनुभयो ?
केही भन्नुभएन । त्यसमा राम्रो भूमिका लेखिदिनुभयो । खूब मन पर्यो भन्नुभयो अनि छाप्नुभयो । त्यही हो ।
तपाईंहरू डेरा सरेर कीर्तिपुरको भाजंगल कसरी पुग्नुभो ? यहाँको मान्छे भाजंगल पुग्ने कारण ?
त्यहाँनिर सस्तो राम्रो घर पाइयो नि त ! मान्छे पनि कोही चिनेको थियो होला भाजंगलमा । कसैले बन्दोबस्त गर्यो जस्तो लाग्छ । सुब्बासाप सुब्बासाप भन्थ्यो त्यहाँको घरबेटी । तिनीहरूको मान्छे गयो क्यारे, भाजंगल गयौं हगि ! पछि त्यहाँ टाढा भयो भनेर टेकुमा सर्यौं ।
टेकु पछि यहीं बालाजु हो ?
पहिला त अलि पर बस्यौं नि त ! पर पोल्ट्री फार्म थियो, त्यहाँ बाटोमा, त्यहाँ बस्यौं, निकै वर्ष ।
डेरामै ?
डेरा भनेर पैसा तिर्नुपर्दैनथ्यो भाइ त्यहाँ । निर्मलको साथीको पोल्ट्री फार्म थियो । निर्मलले त्यहाँ पोल्ट्रीमा हेरिदिन्थ्यो, कुखुराहरू हेरिदिन्थ्यो । हामी सित्तैं बस्थ्यौं ।
राल्फातिर जाउँ न, राल्फा कसरी सुरु भो ?
हँहँहँ.. जसरी सुरु हुनुपर्थ्यो त्यसरी सुरु भयो होला । हेर्नोस् म त अफिस जान्थें, मलाई त राम्रो आइडिया हुँदैन । तर यो जवान केटाहरू, योंग पोयटहरू, कविहरू साह्रै झुम्मिन्थ्यो क्या दिदीकहाँ । दिदीलाई मन पराउँथ्यो । अनि एकचोटि सिंहदरबारमा के पनि हल्ला गरे भने त्यो पारिजात योंग केटाहरू थुपारेर विद्रोहको गीतहरू गाएर, विद्रोहको कविताहरू लेखेर बस्छ पनि भन्यो रे भन्ने सुनिन्थ्यो ।
सिंहदरबारमा ?
अँ, त्यसबेला रायन, रामेश आ’को । पारिजात दिदी, रामेश, रायन त्यहाँदेखि मञ्जुल आयो । त्यहाँदेखि त निनु यिनीहरू सबै आयो । विमल पनि थियो । अलिक दिनसम्म त गणेश रसिक पनि थियो, यिनीहरूको ग्रुपमा । अरिम थियो । बाजा बजाउँथ्यो । अनि यिनीहरूले कार्यक्रमहरू पनि गर्यो ।
बडा राम्रा राम्रा गीतहरू गाउँथ्यो । साह्रै राम्रा राम्रा गीत गाउँथ्यो । अनि दिदी र मञ्जुलले ठूलो कापी राखेको थियो, त्यहाँनिर क्रुसिफिकेशन भनेर लेखेको थियो माथि । जत्तिबेला पायो मञ्जुलले लेख्थ्यो, जत्तिवेला पायो दिदीले लेख्थ्यो । त्यसरी निकै भइसकेको थियो, कहाँ फाल्यो त्यो पनि कुन्नि । त्यस्तो पनि गरेको थियो ।
रोजी क्रुसिफिकेसन भन्ने त रूपरेखामा छापिएको छ । पारिजातको नाममा मात्रै छ !
होला होला त्यो रोजी क्रुसिफिकेसन भन्ने ।
अनि छेकुडोल्मा चाहिं कसरी लेखियो ?
छेकुडोल्मा मञ्जुलले लेखेको ।
तर पारिजात दिदीकै बारेमा हो नि ?
पारिजात दिदीको बारेमा । पारिजात दिदीलाई मन पराउँथ्यो । माया गथ्र्यो, लेख्यो नि उल्ले । निर्मलले त्यतिबेला पढेको थियो छेकुडोल्मा । पढेर, अति नजिक हुन चाहेको रहेछ भन्थ्यो निर्मलले (हाँसो) । उसको आफ्नो भनाइ होला ।
राल्फाको विभिन्न कार्यक्रमहरूमा त तपाईं जानुभएन ?
गइनँ म ।
पारिजात दिदीचाहिं जानुभो, कहाँ कहाँ ?
यिनीहरू वीरगञ्ज पनि गा’को थाहा छ । सिक्किम गयो, आसाम गयो । दार्जीलिङ गयो । कालिम्पोङ गयो । त्यतातिर गा’को थाहा छ मलाई ।
अलि पछि तिर जाउँ न, पारिजात दिदीको दार्जीलिङमै प्रेम भएर बिहा हुने जस्तो भा’को हो ?
बिहा हुने कुरा चाहिं भा’को होइन । दिदीले लेखेको पनि छ कहीं कहींनेर । त्यो धनवीर मुखिया भन्ने केटा । लेखक नि ! उसको खास नाम त अर्कै थियो । जीवी मुखिया भन्थ्यो के । लेख्थ्यो नि उसले पनि धनुवर भनेर । त्यो राम्रो केटा थियो ।
उनीहरू भोटे बस्तीमा बस्थ्यो, हामी यता लिम्बूबस्तीमा बस्थ्यौं । दिदीले नि मन पराउँथ्यो । उल्ले पनि एकदम मन पराउँदोरहेछ । भन्नु नसक्ने दुई जना । त्यतिबेलाको दार्जीलिङको उसमा । खूब मन पराउँथ्यो । त्यत्तिकै भयो । दिदी यता आयो । छुट्यो । धेरै मन पराएको थियो ।
तर दिदी अप्ठ्यारो खालको मान्छे, कस्तो कुन्नि हो । मन चैं पर्ने । प्लाटोनिक टाइपको लब क्या । त्यतिबेलाको लव हो । एकदम आदर्शवादी । छेउमा आयो भने मनै पर्दैन भन्छ के । त्यस्तो खालको के । टाढा टाढा आत्माको प्रेम रे के । त्यहाँबाट हामी यता आयौं । तर त्यो दाइले चाहिने पहिरो जाँदा हामी भागेर पर गा’को थियौं । खोज्दै आएछ त्यो धनुवर दाइ ।
कहाँ ? उहीं नै ? तपाईंहरूको घरमा पहिरो गा’को थियो ?
१९५० मा त ठूलो पहिरो गयो नि त ! हामी त भाग्यौं । बाउले हामीलाई भगाएर वनमा ठूलो यौटा त्यतिबेलाको बंगला, बंगालीमा कोठी भन्छ नि त, धनी धनी बंगालीहरूले बनाइरहेको ठूलो भवन रहेछ । त्यहाँ डराउन पर्दैन भनेर हामी त्यसमा बस्यौं ।
त्यसको दुई चार दिन वाद हेरेको त धनुवर दाइ आउँदै रहेछ । कता दाजु भन्दा तिमीहरू कहाँ पुग्यौ होला भन्दै खोज्दै आ’को नि भनेर भन्यो । ल मैले ल्याइदिएको छु भनेर पाउरोटी, वनहरू ल्याइदिएको रहेछ के । दिदी पर बसेको छ, हेर्दा पनि हेर्दैन, बोल्दा पनि बोल्दैन । कुन्नि के भा’को । त्यो धनुवर यस्सो हेरिबस्छ नि !
कहाँ होला भनेर ?
अँ, अनि त्यो भयो अनि पछि चाहिने म त स्कूल टाढा पर्थ्यो, त्यताबाट जान्थें । दिदी तल आउँथ्यो, धनुवर दाइ आउँथ्यो त्यहाँनिर । गुलाफको फूलैफूल फुलेको थियो रे, एकदम पुरानो घरमा धनुवर दाइ भेट्न आउँथ्यो रे ! मैले त भेट्दिनथें । म त स्कूल गा’को हुन्थें । बेलुका अलि ढिलो आउँथें । त्यस्तो चाहिं सुन्थें म । अनि त्यहाँदेखि दिदी यता आइहाल्यो । वास्ता पनि गरेन धनुवर दाइलाई ।
पारिजात दिदीले उनलाई भेट्न जानुभएन ?
गएन । उल्ले बिहा गरिसक्यो । बिहा गरिसकेपछि पछि यहाँदेखि जाँदाखेरि बिरामी भएर जाँदा माया दिदीको तर्फबाट उनीहरू भेट गथ्र्यो अरे । साथीको हैसियतमा । धनुवर दाइ पनि बित्नुभयो । … यहाँ आउनुभो नि त धनुवर दाइ । आएर ऊ त्यो सालिक हेरेर जानुभएको ।
काठमाडौं आएपछि चाहिं उहाँले बिहा गर्ने इच्छा गर्नुभएन पारिजात दिदीले ?
यहाँ आएपछि खै बिहा गर्ने इच्छै गरे जस्तो मलाई लागेन ।
विमलजीसँग त उहाँले बिहै गर्न खोज्नु भा’को भन्ने छ नि ?
त्यो मलाई थाहा छैन । म घरमा हुन्नथें ।
हर्क गुरुङसँग पनि बिहा गर्ने विषयमा कुरा भा’को होइन ? परिस्थितिवश नभा’को तर हुने लगभग भा’को होइन र ?
यो कुराहरू त विस्मृतिमा जान दिनुभए हुन्छ जस्तो लाग्छ । डा. हर्क गुरुङले मन पराएको हो । प्रशस्त मन पराएको हो ।
एकपल्ट पारिजात दिदी हर्क गुरुङकहाँ जानु भा’को थियो रे, हर्क गुरुङको बिहा भइसकेपछि । उहाँको श्रीमतीलाई केही आभास भएर होला त्यति राम्रो व्यवहार गर्नुभएन रे ! त्यो पनि सुनेथें ।
अनि त्यसपछाडि पारिजात दिदीले पछि चैं साथीभाइसँग चैं त्यल्ले मलाई त्यस्तो व्यवहार गरी तर मैले चाहेको भए त्यो ठाउँमा म हुन्थें भन्नुभा’को थियो रे के ।
होइन, हर्क गुरुङले मन पराएको हो, प्रपोज गर्या पनि हो । तपाईंको त्यो कविता पनि त छ नि त, लाहुरेलाई रोगी प्रेमिकाको प्रेमपत्र त्यही त हो नि !
त्यो चाहिं पारिजात दिदीले हर्क गुरुङलाई नै लिएर लेख्नुभा’को हो ?
अँ, हर्क गुरुङलाई नै लिएर लेख्या हो । त्यहाँ पछि त धेरै कम्प्लिकेसनहरू आयो । अब हर्क गुरुङले पछिबाट बिहा गर्नुभयो, शादीसुदा भयो ।
पछि पनि सम्बन्ध त थियो ? आउजाउ अथवा त्यस्तै केही ?
हैन, उहाँ त इङ्गल्याण्ड गइहाल्नुभयो नि ! पछिबाट आएपछि अब हर्क गुरुङ पनि टाढिंदै गयो । दिदी पनि टाढियो । राल्फाको धेरै भयो भनेर पनि होला । हर्क गुरुङले पनि । नसोध्नोस् यो कुरा मलार्ई… हाहाहा…. डा. हर्क गुरुङ कस्तो नमिठो बित्यो नि हगि ? कति चाहिने मान्छे नि ! धनुवर दाइलाई धोका दिएको पाप लाग्यो क्या दिदीलाई । त्यस्तो राम्रो मान्छे ।
दिदीले धोका दिएकै हो ?
दिदीले धोकै दिएको त हो नि ! त्यस्तो माया गर्ने मान्छेलाई खोइ वास्तै गर्दैन त ।
अनि दिदीले मसँग पनि भन्नुभा’को थियो… पछि दार्जीलिङ जाँदाखेरि बिहा गर्छु भनेर भनेको थियो रे धनुवरले …। त्यो गर्नुहुँदैनथ्यो नि !
सेकेण्ड भए पनि के भो त भनेर भन्या तर सेकेण्ड त म झन् गर्दिनँ भनेर भन्नुभयो रे नि त ?
होइन होइन त्यो त कुरै गर्नुहुँदैन । त्यस्तो खालको कुरा त हगि, परिवारहरू भइसकेपछि त । तर भुतुक्कै भैजान्थ्यो त्यो धनुवर दाइ त, पछिसम्मै भुतुक्कै जान्थ्यो, कुन्नि के भा हो ? थुप्रै केटाहरूले मन पराउँथ्यो हो दिदीलाई । चिट्ठी त कति कति हुन्थ्यो दिदीको त । राम्री । थाक थाक चिट्ठीहरू हुन्थ्यो केटाहरूको ।
उहाँले ‘पारिभाषित आँखाहरू’ काठमाडौं बाहिर बसेर लेख्नुभा’को होइन ?
होइन यहीं हो । त्यतिबेला चैं दिदीले बन्दी सहायता नियोगमा काम गरिसक्नुभएको थियो के, सोसियल वर्कर । उहाँले सुरु गर्नु भा’को नि त ! त्यतिबेला चैं उसले त्यस्तो केसहरू भेट्यो, अनि त्यसबाटै प्रभावित भएर लेख्या हो ।
‘अनिंदो पहाड’ सँगै हो त ?
‘अनिंदो पहाड’ सँगै चाहिं आन्दोलनसँग सम्बन्धित ।
जे होस् बाहिर कतै बसेर लेख्नुभएको छ यौटा उपन्यास … कुन हो त्यो ?
ए, त्यो तोरी बारी बाटा र सपनाहरू होला ।
कहाँ गएर लेख्नुभा’को ?
मधेश । मधेश गा’को बेलामा ।
मधेश कहाँ बस्नुभएको ?
हिरापुरमा । दाजु मधेश जानुभएको थियो नि ! त्यहीं दिलकुमार सिं दाइको हिरापुरमा अलिकति जग्गा थियो । … लालबन्दी भन्दा अलि उतै पर्छ रे ! मधेश ।
त्यहाँ कति बस्नुभयो ?
त्यहाँ महिना दिन जति बस्यो कि जस्तो छ । त्यहाँको वर्णन जम्मै हिरापुरको हो ।
अनि बीचमा वीरगञ्जतिर पनि उहाँ बस्नुभा’को थियो ?
अँ, केही समय वीरगञ्जतिर पनि बस्या हो । राल्फाकालमै हो वीरगञ्जमा बसेको, त्यो अलि तातो हुन्छ भनेर । अनि दार्जीलिङ चाहिं बरोबर जानुहुन्थ्यो ।
दार्जीलिङमा कहाँ बस्नुहुन्थ्यो जाँदाखेरि ?
दार्जीलिङमा जाँदाखेरि कहिले ठूलो दिदीकोमा बस्ने । कहिले होटलमा बस्ने । हेरी–हेरिकन । धेरैजसो ठूलो दिदीकहाँ र हाम्रै दिदीकहाँ । हाम्रो ठूल्दिदी हुनुहुन्थ्यो नि ! हाम्रो ठूल्दिदीकोमा पनि अनि अर्को दिदी कुमार दाइ भनें नि, उसको बहिनी थियो । उसँग बस्नुहुन्थ्यो । दुई वटा दिदीहरूकोमा । पछि जाँदा त हामी होटलमा बस्यौं प्रायः । एक दुई चोटि त म पनि गा’को छु सँगै । होटलमै बसेको ।
‘शिरीषको फूल’ लामो समयसम्म पुनः प्रकाशन गर्न उहाँले अनुमति दिनुभएन नि ?
अब उसले माक्र्सवादी सिद्धान्त लिएपछि सप्पैले भन्यो, यो भएन शिरीषको फूल, यो कागजको फूल भनेर । नछाप्ने भन्दा खेरि त भएन, त्यो त एकदम चाहियो । त्यो ध्रुवचन्द्र गौतमले चिट्ठी नै लेख्या छ नि उसलाई छपाएँ यसलाई भनेर । कोर्स बुकमा निस्केपछि त कर लाग्यो छपाउनलाई । उसले नछपाउने भनेको हो ।
अनि उहाँले छाप्न दिइसकेपछि कम्युनिष्ट पार्टीको गोरखपुरमा भा’को सम्मेलनमा त्यसको विरोध भा’को थ्यो रे नि हो ?
अँ हो, दिदीलाई के के भन्यो रे भन्ने सुनेकी थिएँ मैले ।
अनि उहाँको ‘बैंसको मान्छे’ छापिएपछि र अलि पछि एकेडेमीको विद्वत् वृत्तिमा उहाँले उपन्यास पनि लेख्नुभयो, होइन ?
दुई वटा उपन्यास लेख्यो ।
अनि त्यो कालमा उहाँलाई असाध्य आलोचना गरेर लेख्ने सुशील देवकोटा भन्ने मान्छे को हो ? कहिल्यै कुरा हुन्थ्यो यो विषयमा ? यो त नक्कली नाउँ होइन ?
निनु हो कि मलाई थाहा छैन । पहिला निनु र मञ्जुलले गरेको भन्थ्यो, सुशील देवकोटा चाहिं मलाई थाहा छैन । को हो, सुनेको चाहिं हो ।
एकदम दिदीको आलोचना गरेर, दिदीले विदेशको पैसा खायो, एकेडेमीको पैसा खायो, के खायो भनेर दिदीलाई धेरै लाञ्छना लगाएपछि त्यस पछाडि दिदीले मैले एकेडेमीबाट यस्तो गर्या हुँ, यसमा यस्तो गर्या हुँ भनेर क्लेरिफिकेशन पनि दिनु भा’को थियो नि !
हो, लेखेको हो त्यो त । म पनि चिन्दिनँ, निनु हो कि जस्तो लाग्छ मेरो मनमा । तर मैले पनि दिदीलाई नखाउ है एकेडेमीको विद्वत् वृत्ति नलेउ भनेर भन्या हो के । दुई वटा उपन्यास निस्कियो । मञ्जुलले पनि धेरै सम्झाएको हो । मैले मञ्जुललाई भनेकी मञ्जुल भन न, तिमीले भनेको कुरा खान्छ उसले, नलेउ भनन, किन लिने भनेको ।
तर लिएको त्यो पनि जनताकै पैसा त हो नि ! आजभोलि सम्झँदा । एकेडेमीको लियो त के भयो त ? उल्लाई पनि सहयोग भयो । ५–६ सय रुपैयाँ कति पाउँथ्यो । किताब पनि निस्कियो । खर्च पनि आउँथ्यो । मैले नि के कारणले नलेउ भन्या हुँला फेरि जस्तो लाग्छ क्या । अब विद्वत् वृत्ति खायो त खायो नि के भयो त अब ! त्यो लेख्नेहरूले त लेख्नुसम्म लेख्यो नि पहिला ।
किन त्यो राल्फा छोडेको भएर …
होइन, विद्वत् वृत्ति सरकारी खायो भनेर, सरकारी पैसा खायो भन्ने होला नि त ! त्यतिबेला नयाँ–नयाँ कम्युनिष्ट हुँदाखेरि के के गर्न मिल्छ । नयाँ जोगीले खरानी धेरै घस्छ भनेको जस्तो हो, त्यो । त्यो नलेखेको भए पनि हुन्थ्यो, लेखेछ । त्यो लेख्नुको म कुनै अर्थ देख्दिनँ । विरोध । दिदीलाई फेरि त्यो त्यतिवेला थियो नि बाङ्देल, घरैमा आई खानुपर्छ, यो हाम्रै जनताको पैसा हो भनी भनी खुवाएको…
बाङ्देल पनि घरमै आउनुहुन्थ्यो ?
आउनुहुन्थ्यो । सम्झाउनुहुन्थ्यो । त्यो लेउ भनेर भन्न आउनु भा’को । आउनुहुन्थ्यो ।
बाङ्देल जस्तै सिनियर लेखकहरू को–को आउनुहुन्थ्यो ?
पहिला दान खालिङ आउनुहुन्थ्यो । दान खालिङको चाहिने राम्रो त्यो छ । दिदीले पहिले यौटा संघर्ष भन्ने उपन्यास लेखेको थियो । एकजना साथीलाई त्यो छाप्न पठायो । यन्त्रणा भन्ने पहिला पब्लिकेशन थियो । अरू थिएन भन्दा पनि हुन्छ । यस्तै यन्त्रणालय भन्ने के थियो होला । त्यस्तै नामको थियो हगि ।
त्यहाँ लगेर छाप्दाखेरि फर्काइदियो । यस्तो स्पेलिंग मिस्टेक भाको पनि कल्ले छाप्छ र भनेर फर्काइदियो । त्यतिबेला खालिङ दाइसँग कुरा गर्दा खालिङ दाइले यौटा सानो गल्ती भेट्यो । मैले कति भेट्थें दिदीको गल्ती । त्यहाँदेखि खालिङ दाइले यत्रो ग्रामर किताब ल्याइदिनु भा’छ । ल पढ बहिनी, तिमी चाहिने गर, हेर्नु पर्यो नि स्पेलिंग त भने’सि त्यो पढेपछि त एकदम राम्रो भयो । त्यसरी फर्काएको । त्यही संघर्ष त जलाको हो दिदीले ।
तीन चार वटा नै जलाएको हो नि हैन र ?
अँ, तीन वटा कि चार वटा ।
त्यो कुन ठाउँमा जलाएको हो ?
त्यो त्यही पुतलीसडकको बाहिरको घरमा हो ।
मुख्यतः छापिएन भनेर आक्रोश भएर हो कि, जलाएको ?
त्यो कारण जलाएको हैन होला । खोइ सनकी भन्ने कि के भन्नु हो ! त्यो सँगसँगै अरू पनि जलाएको हो नि ! कति राम्रा राम्रा । वर–पीपल भन्ने लेखेको थियो । त्यो वर–पीपलमा चाहिं कुशवाहाकान्तकै प्रभाव देख्थें त्यसमा चैं ।
त्यो सरिता भन्ने लेख्यो, काव्यै लेख्यो । सरिता पूरै बण्डल लेखेको थियो । त्यो अफिसबाट मैले बनाएर ल्याइदिएको थियो के, लिथो गर्ने कागजको कापी बनाएर ल्याइदिएको थिएँ । हो त्यसमा, मलाई अझसम्म सम्झना छ । त्यो पनि छैन । कहाँ पार्यो पार्यो । कहाँ फाल्यो ।
सरिता काव्य ?
अँ ।
सुनाउनु भा’को थियो तपाईंलाई ?
मैले पढेको पनि थिएँ । बिर्सें । सरर्र बगेको त्यस्तो त्यो । मुहानबाट आएको नदीसम्म पुगेको । समुद्रसम्म पुगेको भन्न मिल्छ सरितालाई । राम्रो थियो । छैन, त्यो पनि देख्दिनँ । अब म पनि जोगाइराख्न भ्याउँदिन थिएँ । आफू कलेज पनि जानुपर्ने । अफिस पनि जानुपर्ने । घरको जम्मै काम गर्नुपर्ने । अनि कहाँबाट भ्याउँथें त !
तपाईंको बिहा पारिजात दिदीले गराइदिनुभएको हो ?
पारिजात दिदीले मलाई यो केटा मन पर्छ भनेको हो । हिरो वर्सिपर जस्तै म त्यतिबेला । स्टुडेण्ट युनियनमा दिदीहरूसँग गल्र्स कलेजबाट जाने रहेछ । उनीहरूको राम्रो रहेछ । मैले देखेको पनि थिइनँ निर्मललाई । त्यहाँदेखि पछि दिदीले यो केटा एकदम मन पर्छ तँ बिहा गर्छस् भन्यो । मैले मानें ।
पछिसम्म पनि उहाँको सद्भाव रहिरह्यो पारिजातप्रति ?
अँ, असाध्यै इज्जत गथ्र्यो दिदीलाई निर्मलले । अनौठो लाग्थ्यो ।
खानपान पनि सँगै हुन्थ्यो ?
आफ्नो आफ्नो नै हुन्थ्यो । …बस्न त हामी सँगै बस्यौं । हामीसँग त्यति खाँदैनथ्यो निर्मलले । दिदी र म मात्र खान्थ्यौं । निर्मल त बाहिरै खान्थ्यो ।
त्यति बस्नुहुन्थेन हो निर्मल घरमा ?
हैन निर्मल त अब त्यो छोरा जन्मेर ठूलो भैसकेपछि पनि अण्डर ग्राउण्डमा हो नि ! धेरै बस्न पाएन । त्यहाँ पर त्यो बच्चाको स्कूलको परपट्टि बस्दाखेरि त्यहीं बसेको थियो, अण्डर ग्राउण्ड भइहाल्यो । त्यतिका त्यतिकै धेरै । अनि यहाँ आएपछि त फेरि अण्डर ग्राउण्डको अण्डर ग्राउण्डै । अनि पछि खुलिसकेपछि आएर चैं हामी सँगै भयौं ।
पारिजात दिदीको नाम सुमित्रा काँडा पनि रे हैन ?
हो, हो ।
अरू पनि नाम थिए कि ?
सुमित्रा काँडा मात्र थाहा छ मलाई । अरू त थाहा छैन ।
अपराजिता नि त ?
अपराजिता त मैले बोलाउने नाम हो । सुमित्रा काँडा चाहिं हो । अरू चाहिं मलाई सम्झना भएन । कुन्नि के माइली भनेर पनि छपाए जस्तो लाग्छ हो । के माइली भने जस्तो लाग्छ ।
अन्तिम बेला पारिजात दिदी कति दिन हस्पिटलमा बस्नुभयो ?
दिदी अन्तिममा ३–४ दिन त एकदम सिरियस नै भएछ नि त ! धेरै बाँच्नुभएन । इन्टेन्सिव केयर युनिटमा लगिहाल्यो । त्यहाँ दिनभरि रायनले समातेर ठाडो बस्न नसकेर अनि पछिबाट इन्टेन्सिव केयर युनिटमा स्वाट्टै सारेपछि म त्यहीं बसें ।
हस्पिटल गएपछि क्यै बोल्नै सक्नुभएन ?
बोल्यो अलिअलि । एकोहोरो त्यो अक्सिजन दिएको हेरेको । खा’को छैन । भोक लाग्यो । खान्छौ भनेर गोलो सेल किन्न पठायो । बाहिर, कल्ले हो पेटीमा बेच्ने खालको डोनट ल्याएछ । विचरा खान सकेन त्यो डोनट । नराम्रो लाग्छ सम्झिंदा । त्यहाँ त खानै सकेन नि त !
दिदीको इच्छाहरू के के थियो मेरो शेषपछि भन्ने ?
त्यो इच्छा त दिदीको त्यो अलिकति बढी हो । मेरो शवमा हरियो लुगा लगाइदिनु भनेको थिएन । दिदीले लेनिनको फोटो राखिदिनु भनेको हो मलाई । मेरो सिरानमा लेनिनको फोटो राखिदिनु भनेको हो । स्वयम्भूमा मलाई लैजा भनेको हो । अनि एकेडेमीमा नलानु खुलामञ्चमा लानु । यो तिनोटा कुरा चैं मलाई दिदीले भनेको हो ।
दिदीलाई हरियो लाउन मन पर्थ्यो, त्यो साँचो हो । तर त्यो हरियो लगाइदे मलाई, त्यो भनेको थिएन । धेरैले विरोध गर्यो लेनिनको कुरामा । असाध्यै लेनिनलाई किन मन पराको कुन्नि ! सिरानमै लेनिनको फोटो राखिदिएको थियो । त्यो राखिदिएको छु मैले दिदीको । सिरानमै राखिदिएको ।
उहाँको इच्छाभित्रै त थिएन नि महिलाहरूले शव बोकेर जाने कुरा, होइन ?
अँ…सबभन्दा पहिला काँध थाप्ने महिलाहरू शान्ता श्रेष्ठ । शान्ता श्रेष्ठ हुनुहुन्थ्यो नि उहाँले सुरुवात गरेर महिलाहरूले धेरैसम्म ल्याएको थियो । अनि महिलाहरूले सक्दैन नि अनि चाहिं पुरुषहरूले बोके । मैले त टिभीमा हेरेको हगि ! अनि मञ्जुल चाहिं अन्तसम्म पनि बसेको कता देखेको थिएँ मैले । त्यो क्यासेट पनि कहाँ पुग्यो, पुग्यो !
- अनलाइन खबर डटकमबाट ।