रिडर्स फेस्टिवल: पहिलो पटक काँकरभिट्टामा रिडर्स प्रतिस्पर्धा हुँदै


१४ मंसिर २०८१, शुक्रबार १९:०९ मा प्रकाशित

मंसिर १४, काँकरभिट्टा ।। झापाको काकरभिट्टामा हुन गइरहेको रिडर्स फेस्टिवलमा करीब एक सय जना रिडर्सहरु प्रतिस्पर्धामा सहभागि हुने भएका छन । नेपालमै पहिलो पटक हुन गइरहेको रिडर्सहरु बिचको प्रतिस्पर्धालाई तीन समूह बनाएर प्रस्तुत गरिने आयोजक संस्था रिडर्स अभियान नेपालले जनाएको छ । 

Advertisement

अभियानका सचिव मदन अधिकारीका अनुसार विद्यालय तह, क्याम्पस तह र खुल्ला गरी तीन वटा समूहमा रिडर्सहरुले आफुले अध्ययन गरेका पुस्तकका बारेमा धारणा राख्नेछन । रिडर्सहरुको उक्त धारणाबाट विभिन्न विधामा उत्कृष्ट रिडर्सहरुको चयन गरी पुरस्कृत गरिने सचिव अधिकारीले बताउनु भयो । अधिकारीका अनुसार नेपालबाट विद्यार्थी र खुला गरी करीब ८० जनाले फेस्टिवलको प्रतिस्पर्धामा सहभागि हुन फारम भरिसकेका छन भने छिमेकी देश भारतबाट करीब २० जनाले फारम भरेका छन ।

तीन दिवशीय फेस्टिवलमा विभिन्न पुस्तकका लेखक र पाठक (रिडर्स) हरुले सघन अन्तरक्रिया गर्ने रिडर्स अभियान नेपालका अध्यक्ष सन्तोस आचार्यले बताउनु भयो । ‘बेला बेला हुने कला–साहित्य उत्सवहरुमा लेखक र बौद्धिक भनिएका व्यक्ति मात्रै प्राथमिकतामा पर्ने गरेका छन,’ अध्यक्ष आचार्यले भन्नुभयो, ‘तर यो फेस्टिवलको मुख्य आकर्षण नै पाठक आर्थत रिडर्सहरु हुन ।’ आचार्यले भन्नुभयो, ‘हाम्रो फेस्टिवलमा लेखकले चिन्दै नचिनेको पाठकले आफ्ना पुस्तकका बारेमा चर्चा गरेको हेर्न पाउने छन ।’ वहाँका अनुसार फेस्टिवलमा नेपाल र भारतका लेखकहरुको सहभागिता रहने छ । झापाली स्रष्टाहरुलाई नै मुख्य रुपमा फेस्टिवलमा सहभागि गराउने योजना रहेको अध्यक्ष आचार्यले बताउनु भयो ।

‘सभ्य समाज र समृद्ध जीवनका लागि अध्ययन’ भन्ने मूल नाराका साथ रिडर्स अभियान सञ्चालन गर्ने उद्देश्यका साथ गठित रिडर्स अभियान नेपालले आफ्नो पहिलो सार्वजनिक कार्यक्रमका रुपमा ‘रिडर्स फेस्टिवल २०८१’ मंसिर २८, २९ र ३० गते झापाको काकरभिट्टामा आयोजना गर्दैछ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here