मौसम पूर्वानुमान : दिउँसोदेखि अझै धेरै पानी पर्ने, सोमबारसम्मै वर्षा हुने


२७ श्रावण २०८०, शनिबार ०७:३७ मा प्रकाशित

साउन २७, काठमाडौं । न्यूनचापीय रेखा नेपाल नजिकै सरेकाले देशभर पानी परिरहेको छ । आज दिउँसोदेखि अझै धेरै पानी पर्ने पूर्वानुमान छ । पानी पर्ने क्रम सोमबारसम्मै जारी रहने मौसमविदले बताएका छन् ।

Advertisement

मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको र भारत उत्तरप्रदेशको बिहार आसपासमा न्यून चापीय प्रणालीको पनि प्रभाव रहेकाले अघिल्ला दिनको तुलनामा बढी पानी पर्ने प्रक्षेपण छ । पानी पार्ने न्यूनचापीय रेखा नेपालको अझै नजिक सर्ने सम्भावना छ । त्यसैले जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार नै विशेष बुलेटिन जारी गर्दै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको थियो ।था मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद रोजन लामिछानेले आज दिउँसोदेखि पानी पर्ने क्रम झन् बढ्ने बताएका छन् । आगामी सोमबारसम्मै देशभर पूर्ण बदली हुने र पानी पर्ने पूर्वानुमान गरिएको उनको भनाइ छ ।

गएरातिदेखि देशैभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बागमती प्रदेशको नुवाकोटस्थित ककनी जलमापन केन्द्रमा भने ६ घण्टाको अवधिमा भारी वर्षा रेकर्ड भएको छ । अन्य स्थानमा भने हल्कादेखि मध्यम वर्षा भएको छ । गत २४ घण्टाको अवधिमा भने कोशी, बागमती र गण्डकीका एक–दुई स्थानमा पनि भारी वर्षा मापन भएको छ ।

‘आज दिउँसोतिर पानी पर्ने क्रम अझै बढ्ने नै देखिन्छ,’ मौसमविद लामिछानेले भने, ‘आइतबार र सोमबार अझै धेरै पानी पर्ने सम्भावना छ ।’

अहिले सातै प्रदेशमा सामान्यदेखि पूर्णतया बदलीको अवस्था छ । यस्तो अवस्था सोमबारसम्मै रहने सम्भावना छ । आज राति र भोलि भारीदेखि र धेरै भारी वर्षाको पनि सम्भावना रहेको मौसमविद लामिछानेले जानकारी दिए ।

उनका अनुसार अहिलेसम्मको बादलको प्रकृति हेर्दा दिउँसोपख पानी पर्न कम हुने र अपराह्नपख फेरी पानी पर्ने सम्भावना देखिन्छ । ‘अहिले नेपालतर्फ आइरहेको बादल हेर्दा बेला–बेला रोकिने, फेरी पानी पर्ने, घाम लागेजस्तो त हुने तर पानी पर्दै नपर्ने भन्ने चाहिँ हुँदैन,’ उनले भने ।

आज राति कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । यसैगरी भोलि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज देशका अधिकांश नदीहरुको बहाव उल्लेख्य बढ्ने जनाएको छ । भोलि बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, भेरी र महाकाली नदी तथा यी नदीका सहायक नदी तथा खोलाहरुको बाढी सतर्कता तह आसपास पुग्ने पूर्वानुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here