मेयरको लहडले धरान अस्तव्यस्त, साम्पाङको कार्यशैली मेयरभन्दा अभियन्ताको जस्तो


१५ श्रावण २०८०, सोमबार ०९:४० मा प्रकाशित

स्थानीय बुद्धिजीवी भन्छन्: साम्पाङको कार्यशैली मेयरभन्दा अभियन्ताको जस्तो देखियो I

Advertisement
  • सुमन पुरी//

साउन १५, धरान ।। धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएदेखि सामाजिक सञ्जालमा अनवरत चर्चामा छन् हर्क साम्पाङ । उनको लोकप्रियताको ग्राफ कहिले ह्वात्तै उकालो लाग्छ, त कहिले पहिरो खसेझैँ खसेर भुईँमा बजारिन्छ ।

मेयर निर्वाचित भएको भोलिपल्टैबाट साम्पाङ श्रममा खटिन थाले । दिनहुँ ढुंगा र पाइप बोकेका तस्बिर–भिडिओहरू सामाजिक सञ्जालमा हालेर भावुक नेपालीहरूलाई उनले द्रवीभूत बनाए । खानेपानीको लागि ज्यान दिएरै लागेका पनि हुन् । धराने जनतालाई खानेपानी खुवाउने साम्पाङको प्रतिबद्धता र लगन सराहनीय छ । तर, त्यसबाहेक मेयरका रूपमा उनको कार्यसम्पादन र कार्यशैली नियाल्ने हो भने निराशा मात्रै हात पर्छ ।

साम्पाङले सामाजिक सञ्जालमा जति लोकप्रियता पाए त्यति नै विवादित पनि भए । हरेक दिन दर्जनभन्दा बढी फेसबुक पोस्ट गर्ने उनी आफ्ना हचुवा र अराजक स्टाटसहरुले बारम्बार विवादमा आइरहे । पछिल्लो समय उनी धार्मिक विवादमा समेत मिसिन पुगेका छन् ।

मेयरको कुर्सीमा बसेर जुन जिम्मेवारी साम्पाङले निभाउनुपर्ने हो, त्यसमा उनी खरो उत्रिन सकेका छैनन् । उनी मेयरभन्दा पनि अभियन्ताको शैलीमा अगाडि बढेको स्थानीय बुद्धिजीवीहरूको टिप्पणी छ । कुनै पनि काम योजनाबद्ध र संस्थागतरुपमा नभएर व्यक्तिगत लहडमा गर्दा धरानका अन्य जनप्रतिनिधिहरूमा असन्तुष्टि चुलिँदो छ ।

कस्तो छ त धरानमा मेयर साम्पाङको कार्यशैली र कार्यसम्पादन ?

डुंगुको प्रकोप झाँगिँदै

दुई महिनाको अवधिमा धरान उप महानगरपालिकाभित्र डेङ्गु रोगका कारण ७ जनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिकाको तथ्याङ्कअनुसार ३ हजार ५ सय ३२ जनाको डेङ्गु परीक्षण गर्दा २ हजार ६६ जनामा डेङ्गु सङ्क्रमण देखियो ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले डेङ्गु परीक्षण गर्न आएकामध्ये ७५.९ प्रतिशतमा डे्ङ्गु पोजेटिभ देखिएको रिर्पोट साउन ७ गते सार्वजनिक गरेको थियो । डेङ्गुको प्रकोप फैलिएसँगै प्रतिष्ठानले डेङ्गु क्लिनिक सञ्चालन गरेको छ भने कोभिड अस्पताललाई डेङ्गु अस्पतालको रूपमा परिणत गरिसकेको छ ।

यही तथ्याङ्कलाई आधार मान्ने हो भने अहिले धरानका घर–घरमा डेङ्गुका बिरामी भेटिन्छन् र प्रकोप महामारीको रूपमा फैलँदो छ । अस्पताल नगई घरै बस्नेको सङ्ख्या पनि ठुलो रहेको जनप्रतिनिधिहरु बताउँछन् ।

डेङ्गुको सङ्क्रमण तीव्र रूपमा फैलँदा पनि रोकथाम र नियन्त्रणको काम प्रभावकारी रूपमा अगाडि बढ्न सकेको छैन । धरान उपमहानगरपालिकाको वडा नम्बर १७, ११, १८, १३, १६ र १५ सबैभन्दा बढी प्रभावित छन् । तर ती वडाका बासिन्दाले डेङ्गु परीक्षणका लागि महँगो शुल्क तिरिरहनु परेको छ । डेङ्गु परीक्षण गर्ने किटको मूल्य १८० रुपैयाँ मात्र पर्छ । तर नीजि मेडिकल सञ्चालक तथा क्लिनिकहरूले कम्तीमा १५ सय रुपैयाँ लिने गरेका छन् ।

धरान उपमहानगर पालिकाका उपमेयर आइन्द्र विक्रम बेघा डेंगु परीक्षण महँगो भएको स्वीकार गर्छन् । अस्पतालका विषयमा जनगुनासो प्रशस्तै आएको उनले बताए ।

‘यो प्रकोपको बेला हो, तर कतिलाई यही मौका हो भन्ने पनि भएको छ,’ उनले भने, ‘अस्पतालले डेंगुको १ हजार र सिबिसी टेस्टको ५ सय लिइरहेको गुनासो आएको छ ।’

धरानमा डेङ्गुको प्रकोप फैलिएको दुई महिना बिते पनि मेयर हर्क साम्पाङको ध्यान भने अहिले वृक्षारोपणमा केन्द्रित छ । उनी बिहान ९ बजेसम्म र बेलुका ४ बजेपछि पनि श्रमदान भन्दै वृक्षारोपणमै व्यस्त छन् । गत आइतबारदेखि बल्ल बेलुका बेलुका डेङ्गु नियन्त्रणका लागि ‘सर्च एन्ड डिस्ट्रोए’ अभियानमा निस्कन थालेका हुन् ।

साम्पांङका प्रमुख स्वकीय सुदर्शन लिम्बुले भने, ‘मेयर साप बिहान बृक्षारोपण र बेलुका डेङ्गु नियन्त्रणका लागि सर्च अभियानमा हिँड्ने गर्नुभएको छ ।’

महामारीको रूप लिन लाग्दा पनि मेयर हर्क साम्पाङले नीतिगत निर्णय गरेर डेङ्गु रोग रोकथाम र नियन्त्रणको प्रयासमा नलागेको वडा अध्यक्षहरू बताउँछन् ।

धरान उपमहानगरपालिका वडा नम्बर १७ का वडाध्यक्ष मनोज भट्टराईले भने, ‘डेङ्गु रोकथाम र नियन्त्रणमा संस्थागत काम हुन सकेन ।’

नगरपालिकाले काम नगरेपछि अहिले समुदाय स्तरबाट चन्दा उठाएर टोल–टोलमा फगिङ को काम भइरहेको छ । उनले भने, ‘संस्थागत कुरा गरेको भए हामी पनि मेयर सापसँगै हिँड्छौँ ।’

पर्यटनको हब– बजेट २३ लाख

धरानलाई पर्यटकीय सहरको रूपमा चिनिन्छ । धरानमा प्रशस्त रूपमा धार्मिक र पर्यटकीय स्थलहरू छन् । धार्मिक र पर्यटकीय सहर भएका कारण धरान उपमहानगरले धरानको पर्यटन विकासकालागि छुट्टै पर्यटन उपसमिति बनाएको थियो ।

उपसमितिले धरानको पर्यटन विकासकालागि गुरु योजना निर्माण गर्ने, धार्मिक र पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने र पर्यटन प्याकेज निर्माण गर्ने काम गर्दै आएको थियो ।

तर २०७९ को स्थानीय तहको निर्वाचनपछि पर्यटन उपसमितिले पूर्णता पाउन सकेको छैन । यस विषयमा धरानका पर्यटन व्यवसायी र सरोकारवालासँग छलफल समेत हुन नसकेको पर्यटन व्यवसायी वासुदेव बरालले बताए ।

‘धरानको पर्यटनको अवस्था दयनीय छ,’ उनले भने, ‘मेयरकै संलग्नतामा धरानका पर्यटकीय स्थलहरूमाथि आक्रमण भइरहेको छ ।’

उनले केही दिनअघि प्याराग्लाडिङ उडान गर्ने क्षेत्रमा भएको वृक्षारोपणको प्रसङ्ग निकाले ।

‘धरानमा साहसिक पर्यटनको विकास सुरु भएको थियो,’ बरालले भने, ‘अब यसतर्फको आकर्षण समेत घट्दै गएको छ ।’

धरान उपमहानगरपालिका पर्यटनको विकासप्रति गम्भीर छैन भन्ने कुरा बजेटले समेत देखाउँछ । २०७४ सालमा नयाँ जनप्रतिनिधि आएपछि तत्कालीन मेयर स्व. तारा सुब्बाको पालामा धरानको पर्यटनका लागि १ करोड हाराहारी बजेट विनियोजन भएको थियो । उनको मृत्युपछि उपनिर्वाचन भयो । उपनिर्वाचनपछि बनेका मेयर तिलक राईको पालामा ५० लाख हाराहारी पर्यटन क्षेत्रमा बजेट विनियोजन हुँदै आएको थियो । यस आर्थिक वर्षमा भने धरानको पर्यटन विकासका लागि जम्माजम्मी २३ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

खस्कँदो धरानको खेल क्षेत्र

धरानको परिचय खेलकुदसँग जोडिएको छ । धरानमा हुने बुढासुब्बा गोल्ड कप देशमा मात्रै होइन, विदेशमा समेत चर्चामा रहन्छ ।

२०५५ सालदेखि निरन्तर चल्दै आएको देशै पुरानो फुटबल प्रतियोगिता बुढासुब्बा गोल्ड कपका लागि उप महानगरले दिने बजेट कटौती गरेको छ । धरानमा १२ महिना फुटबलका टुर्नामेन्टहरु सञ्चालन भइरहन्छन् ।

तर प्रतियोगिता गर्ने खेल मैदानको अवस्था जीर्ण हुँदै गएको एन्फाका केन्द्रीय उपाध्यक्ष किशोर राईले बताए । बुढासुब्बा गोल्ड कपका लागि १२ लाख रुपैयाँ बजेट विनियोजन हुँदै आएको थियो राईले भने अहिले ९ लाखमा झारिएको छ ।

कोशी प्रदेशमा एन्फा एकेडेमीको ट्रेनिङ सेन्टर धरानमा छ । यो वर्ष मात्रै धरानमा रहेको एन्फा एकेडेमीबाट उत्पादन भएका ९ जना खेलाडी अन्डर–१९ को राष्ट्रिय टिममा पर्न सफल भए । तर एन्फा एकेडेमीका लागि धरानले वार्षिक ३ लाख रुपैयाँ बजेट विनियोजन गरेको राई बताउँछन् ।

यस्तै धरानमा राष्ट्रिय स्तरको बिपी मेमोरियल सितारियो कराँते प्रतियोगिता हूने गरेको छ । सो प्रतियोगिताका लागि धरानले विनियोजन गर्ने बजेटमा समेत कटौती गरिएको छ । ५ लाख रुपैयाँ बजेट विनियोजन हुँदै आएकोमा नयाँ मेयर साम्पाङ आएपछि ३ लाखमा झारिएको छ ।

खेल क्षेत्रमा धरान उपमहानगरले सहयोग नगरेको खेल क्षेत्रमा लागेकाहरू बताउँछन् । संस्थागत सहयोग भएन एन्फाका उपाध्यक्ष राई भन्छन्, ‘धरानले खेल क्षेत्रमा बनाएको प्रतिष्ठा बिस्तारै खस्कँदै गएको छ ।’

उपमहानगरले अभिभावकत्व नलिँदा खेल क्षेत्र लथालिङ्ग अवस्थामा पुगेको उनले आरोप लगाए ।

धरानबाट बसाई सरेर हिँड्नेको संख्या वर्षेनी बढेको छ । धरान उपमहानगरपालिका पञ्जीका शाखाले उपलब्ध गराएको तथ्याङ्कअनुसार धरानबाट २०७८ सालमा ११४७ परिवार बसाई सरेर अन्यत्र गएका थिए भने २०७९ मा २७१० परिवार धरान छाडेर गएका छन् ।

कला साहित्य र संस्कृतिको संस्थागत विकासमा उपेक्षा

धरानको कला साहित्य र संस्कृतिको विकासका लागि भन्दै पूर्व मेयर स्व. तारा सुब्बाको पालामा धरान प्रज्ञा प्रतिष्ठान गठन भयो । कार्यविधि र ऐनविना नै प्रतिष्ठान गठन गरेर ५० लाख रुपैयाँ बजेट पनि विनियोजन भयो । ऐन र विधिविना प्रतिष्ठान गठन भएपछि खर्च प्रक्रियामा समस्या भएपछि विवाद उत्पन्न उब्जियो ।

सोही विवादका कारण प्रज्ञा प्रतिष्ठानका सदस्यहरुले राजीनामा दिए । त्यसपछि अहिलेसम्म प्रज्ञा प्रतिष्ठानले पूर्णता पाएको छैन । प्राध्यापक डा. टङ्क न्यौपानेले विधि र प्रक्रियामा नचल्दा धरानको कला साहित्य र संस्कृतिको संरक्षण हुन नसकेको बताए ।

‘धरान कला साहित्यको क्षेत्रमा उर्वर भूमि हो,’ न्यौपाने भने, ‘स्थानीय तह बनेपछि धरानको कला साहित्य उपेक्षामा प¥यो ।’

धरानमा गएको असार १५ र १७ गते दोस्रो अन्तर्राष्ट्रिय धरान साहित्य तथा सांस्कृतिक पर्यटन महोत्सव सम्पन्न भयो । सो कार्यक्रममा नेपालका सातैवटा प्रदेशसहित, सिक्किम, दार्जिलिङ, आसामलगायतबाट कवि तथा साहित्यकार सहभागी भए ।

कार्यक्रममा धरानका मेयर हर्क साम्पाङ समेत सहभागी भए तर त्यो कार्यक्रममा धरानले आर्थीक सहयोग समेत नगरेको न्यौपाने बताउँछन् ।

उनले प्रश्न गरे, ‘साहित्य, कला र संस्कृतिका विषयमा वास्ता नगर्ने कस्तो सरकार हो ?’

साहित्य कला र संस्कृतिका क्षेत्रमा धरान उपमहानगरले नीति नबनाएको र संस्थागत विकासमा नलागेको न्यौपानेको गुनासो छ ।

आन्तरिक उत्पादनमा कमजोर

देशमा १० वटा उपमहानगरपालिका छन् । तीमध्ये आकारको हिसाबले धरान उपमहानगरपालिकाको बजेट सातौँ नम्बरमा आउँछ ।

धरान उपमहानगर पालिकाले २०८०/८१ का लागि १ अर्ब ७१ करोड बजेट विनियोजन गरेको छ । सँगै जोडिएको इटहरी उपमहानगरले भने २०८०/८१ का लागि २ अर्ब ३५ करोडको बजेट ल्याएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७९÷८० मा पनि धरानको बजेटको आकार सानो थियो । ०७९/८० मा धरान उपमहानगरपालिकाले १ अर्ब ६८ करोड ५८ लाख २३ हजारको बजेट ल्याएको थियो । जबकि सोही वर्ष छिमेकी उपमहानगर इटहरीले भने २ अर्ब १८ करोड ६ लाख १० हजारको बजेट ल्याएको थियो ।

बजेटमा मात्रै होइन राजश्व सङ्कलनका हिसाबले पनि धरान कमजोर देखिन्छ । आर्थिक वर्ष २०७९/८० मा धरान उपमहानगरले २१ करोड ७९ लाख रुपैयाँ आन्तरिक राजश्व सङ्कलन गरेको छ । २५ करोड रुपैयाँ आन्तरिक राजश्व उठाउने लक्ष्य थियो । जोडिएको इटहरी उपमहानगरले भने यही आर्थिक वर्षमा २९ करोड ६३ लाख रुपैयाँ आन्तरिक आम्दानी गरेको छ । इटहरी उपमहानगरले सो आर्थिक वर्षमा ३६ करोड ५ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको थियो ।

धरान उपमहानगरका राजश्व महाशाखा प्रमुख खगेन्द्र खतिवडाले धरानको राजश्व सङ्कलनको क्षेत्र नै कम भएका कारण बजेटको आकार सानो भएको बताए । उनले धरानको भूगोलमा ७५ प्रतिशत जङ्गल भएकाले आम्दानी कम भएको तर्क गरे । आन्तरिक उत्पादन वृद्धिमा उपमहानगरले धेरै काम गर्न नसकेको उनको स्वीकारोक्ति छ ।

एक्लै हिँड्दै मेयर

धरानमा स्थानीय तहको निर्वाचनपछि नयाँ जनप्रतिनिधि आए । उनीहरू आएसँगै खोला ठेक्का लगाउने विषयमा विवाद सुरु भयो ।

वडाअध्यक्षहरु खोलाजन्य पदार्थको ठेक्का नलगाउँदा राजश्व कम हुने चिन्तामा थिए भने मेयर हर्क साम्पाङ भने खोला दोहन भएको भन्दै दहतर बहतरको ठेक्का नलाउने पक्षमा थिए । वडा अध्यक्ष र मेयर हर्क साम्पाङका बिचमा सामाजिक सञ्जालमा दोहोरी चलिरहँदा आर्थिक वर्ष २०७९/८० को बजेट बनाउने तयारी भयो ।

धरानको बजेट सार्वजनिक गर्नुपर्ने बेला विवाद थप चुलियो । मेयर कोषमा १ करोड रुपैयाँ राखेको भन्दै वडाध्यक्षहरूले विरोध गरे । उपमेयरले समेत उपमेयर कोषमा बजेट राख्न पाउनुपर्ने अडान उनीहरूले राखे ।

मेयर कोषमा राखेको १ करोड रुपैयाँबाट धरानमा सुरु भएको विवाद अहिलेसम्म मिलेको छैन । यस आर्थिक वर्षमा मेयर हर्क साम्पाङले मेयर कोषमा १ करोड ५० लाख रुपैयाँ बजेट राखेका छन् भने उप मेयर कोषमा पनि १ करोड रुपैयाँ बजेट छुट्टाइएको छ ।

वडाध्यक्ष र मेयरका बिचमा विवाद भइरहँदा मेयरका स्वकीय सुदर्शन लिम्बुले मेयरका तर्फबाट धरानका २० वटै वडामा फागुन २९ गते निर्देशनात्मक पत्राचार गरेका थिए । पत्र सम्बन्धमा चैत १ गते कार्यपालिका बैठकमा मेयर साम्पाङले ‘मैले अह्राएको’ भनेपछि वडाध्यक्ष र मेयरबीच विवाद भएको थियो ।

बैठकमा १० नं. वडाका अध्यक्ष विवेक राईले आफूले बोल्न पाउनुपर्ने र फरक मत राख्न पाउनुपर्ने बताएका थिए । उनले निर्वाचित जनप्रतिनिधिलाई अनधिकृत व्यक्तिले निर्देशनात्मक पत्राचार गरेकामा विरोध जनाएका थिए ।

सोही विवादका आधारमा चैत ३ गते मेयर साम्पाङले १० नं वडाध्यक्ष राईलाई नियम विपरीत लिखित स्पष्टीकरण सोधे । त्यसपछि लामो समय कार्यपालिका बैठक बस्न सकेको थिएन ।

त्रिभुवन विश्वविद्यालयको सहप्राध्यापक राजेन्द्र शर्मा धरानमा सामूहिक निर्णय हुन छाडेको बताउँछन् ।

‘मेयर हर्क साम्पाङले केही राम्रा काम सुरु गरेका छन्,’ शर्माले भने, ‘तर ती संस्थागत काम होइनन् । धरानको खानेपानी व्यवस्थापनका लागि काम भए तर त्यो मेयरका हैसियतले भन्दा अभियन्ताका हिसाबले भए ।’

उनले थपे, ‘हर्क साम्पाङ त धरान उपमहानगरको मेयर हो नि । उहाँले कार्यपालिका बैठकमा निर्णय गरेर काम गरेको भए हुने थियो । उहाँले कहिल्यै आफूले गरेको कामलाई संस्थागत गर्ने प्रयास गर्नु भएन ।’

प्राध्यापक डा. टङ्क न्यौपाने धरानमा सुरु भएको श्रम संस्कृतिको प्रशंसा गर्छन् ।

उनी भन्छन्, ‘देशमै नभएको नमूना कामको सुरुवात धरानले गरेको छ, तर यो काम संस्थागत हुन सकेको छैन ।’

कामको सुरुवात गरेपछि विधिमा ढाल्नु पर्ने उनको मत छ ।

‘विधिमा ढाल्न सके पो अरूले पनि विधि फलो गर्छन्,’ उनले भने, ‘हर्क होइन्जेल श्रम संस्कृतिले निरन्तरता पाउला, त्यसपछि पाउँदैन ।’

न्यौपानेले कार्यविधि र ऐनहरू बनाएर यो कामलाई संस्थागत गर्नु पर्ने सुझाव दिए । विधि नबन्दा अहिले भइरहेका कुनै पनि कामले निरन्तरता नपाउने खतरा रहेको उनको चिन्ता छ ।

धरान १७ का वडाध्यक्ष भट्टराई पनि मेयरले संस्थागत काम नगरेको आरोप लगाउँछन् ।

‘कार्यपालिका बैठकबाट निर्णय गरेको भए हामी पनि पाइप तान्न जान्थ्यौ होला नि,’ उनले भने, ‘उहाँ एउटा समूह जम्मा गर्नु हुन्छ अनि कार्यपालिकामा निर्णय नगरी अगाडि बढ्नु हुन्छ । कार्यपालिकाले निर्णय नगरेको कुरा धरानले गरेको भन्न मिल्दैन ।’

सामाजिक सञ्जालमा चर्चा, नगरमा समस्या

धरानका मेयर हर्कराज साम्पाङ सामाजिक सञ्जालमा खुबै चर्चामा छन् । उनी घण्टा घण्टामा फेसबुकमा स्टाटस लेख्छन् ।

उनी सामाजिक सञ्जालमार्फत आग्रह गर्छन्, सामाजिक सञ्जालमार्फत नै निर्देशन दिन्छन् । सामाजिक सञ्जालमा उनका बारेमा आएका क्रियाप्रतिक्रिया रोचक हुन्छन् ।

उनको कामका बारेमा सहप्राध्यापक राजेन्द्र शर्माको टिप्पणी छ ‘मेयर सावका प्रशंसक नेपालमा भन्दा बाहिर बढी छन्, धरानमा भन्दा बाहिर बढी छन् ।’

तर धरान उप महानगरले अरूको साथ र सहयोग लिन नसकेको शर्माले बताए । उनका अनुसार योजनाविना मेयर साप एक्लै हिँड्दा धरान अधोगतिमा हिँड्दै छ ।

‘अध्ययन र योजना देखिएन । जलाधारको संरक्षणका लागि बृक्षरोपण गरिनु राम्रो हो, तर कुन बिरुवाले पानी दिन्छ र कुन बिरुवाले पानीको मुहान सुकाउँछ भन्ने अध्ययन कहाँ र कहिले भयो ? अध्ययनविना गरिएको कामले राम्रो नतिजा दिँदैन,’ उनले भने ।

धरानका मेयर साम्पाङले सामाजिक सञ्जालमा गरेका आग्रहका आधारमा देश विदेशबाट श्रम गर्न मानिसहरूको घुइँचो लाग्ने गरेको छ । श्रमदान र चन्दा सहयोगकै भरमा साम्पाङले खानेपानीको श्रोत व्यवस्थापनको काम गरिरहेका छन् । उनले धरानबाट ४३ किलोमिटर टाढाबाट कोकोहको पानी धरान ल्याए ।

मेयरमा निर्वाचित भएको भोलिपल्टदेखि श्रम अभियानमा व्यस्त हर्क साम्पाङले धरानको पकुवा, निशाने, सर्दुखर्दु जस्ता बर्खे मुहानलाई खानेपानी लाइनमा जोडेर स्रोत थपेका छन् ।

साम्पाङ धरानको मेयर भएपछि सुरुमा उनकै नेतृत्वमा पकुवा खोलाबाट पानी सङ्कलन भयो । पकुवा खोलामा ड्याम बनाएर उनले धरान ११ र १७ का लागि पानी पनि ल्याए तर हिउँदमा मुहानै सुक्यो । त्यसपछि सर्दु, लर्दु र निशानेको पानी जम्मा गरेर धरानमा पानी ल्याउने अभियान सुरु गरे ।

१ लाख २३ हजार क्षमताको ट्याङ्कीमा फिल्टर राखेर उनले त्यहाँको पानी धरान ११ को स्वस्तिक चोकमा झारे । भालु खोलाबाट पनि धरान पानी ल्याउने योजना सुरु भई काम सम्पन्न भइसकेको छ ।

तर यी सबै कामको अपनत्व धरान उपमहानगरले लिन सक्ने अवस्था छैन । धरान उप महानगरको सहभागिता त छैन नै, श्रोत व्यवस्थापनका लागि भएका कामको नीतिगत निर्णयसमेत भएको छैन ।

मेयर हर्क साम्पाङका स्वकीय सुदर्शन लिम्बु हर्क साम्पाङ मेयरले गरेको कामको अपनत्व स्वतः धरान उप महानगरको हुने दाबी गर्छन् । उनले भने, ‘मेयर लागेर भएको कामको जस धरानले उप महानगरले पाउँछ, तर यी सबै कामका लागि कार्यपालिकाबाट निर्णय गरिएको छैन ।’

उनले श्रोत व्यवस्थापन थप भएपछि धरानमा कति पानी मूलबाट थपियो भन्ने तथ्याङ्क नभएको बताए ।

‘हामी यसको बारेमा चाँडै सार्वजनिक गर्छौ’ लिम्बुले नेपाल प्रेससँग भने, ‘पानी त धेरै बढेको छ ।’

-नेपालप्रेसबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here