हिन्दी चलचित्र नेपाल विवाद: धर्मेन्द्रमाथि प्रतिबन्ध, ऋतिक रोशन प्रकरणदेखि आदिपुरुषसम्म


१२ असार २०८०, मंगलवार १८:०२ मा प्रकाशित

भारतीय चलचित्र ‘आदिपुरुष’मा समावेश रहेको भनिएको एक विवादास्पद संवादका कारण गत साता नेपाल तरङ्गित बन्यो।

Advertisement

विश्वभर ठूलो तामझामका साथ प्रदर्शन गरिएको निकै महँगो खर्चमा बनाइएको भनिएको उक्त चलचित्रबारे तेर्सिएको विवाद नेपालमा हिन्दी चलचित्रसँग सम्बन्धित पहिलो भने होइन।

निकै चलेका भारतीय अभिनेता धर्मेन्द्रदेखि अक्षय कुमार, माधुरी दीक्षित लगायतबारे नेपालमा विगतमा कैयौँ यस्ता घटना भएका छन् जसले नेपालमा चर्को आलोचना निम्त्याएको थियो।

सन् २०००मा बलीवुड अभिनेता ऋतिक रोशन जोडिएको प्रकरणले त ‘निकै ठूलो आन्दोलनको स्वरूप लियो’।

विगतमा भन्दा फरक यस पटकको विवादको केन्द्रमा भने जन निर्वाचित प्रतिनिधि छन्।

काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले आदिपुरुष चलचित्रको एउटा विवादास्पद संवाद नहटाए काठमाण्डूका सिनेमाघरहरूमा कुनै पनि हिन्दी चलचित्र प्रदर्शन गर्न रोक लगाउने घोषणा गरे। लगत्तै पोखरा महानगरपालिकाले उस्तै बेहोराको निर्णय सार्वजनिक गर्‍यो।

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले पनि आफ्नो क्षेत्रमा आदिपुरुष प्रदर्शनमा रोक लगाइएको उद्घोष गरे।

देशका केही प्रमुख सहरहरूमा उक्त चलचित्र प्रदर्शनमा घोषित रूपमा रोक लगाइए पनि प्रभाव भने देशै भर पर्‍यो।

विभिन्न विद्यार्थी सङ्गठन लगायतले सिनेमाघरहरूमा पुगेर सचेत गराएपछि सुरक्षा चुनौतीका कारण सिनेमाघरहरूले चलचित्र प्रदर्शन रोके। सामाजिक सञ्जालमा काठमाण्डूमा चल्दाचल्दैको फिल्म बन्द गर्न लगाइएको भिडिओ देखा परेको थियो।

उक्त चलचित्रमा समावेश भएको भनिएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने ‘आपत्तिजनक सन्देश’ चलचित्रको मूल भागबाटै हटाउन महानगरका मेयरले आह्वान गरेका थिए। उक्त संवाद सच्याउन तीन दिनको म्याद दिइएको थियो।

आदिपुरुषमा रहेको भनिएको संवादबारे नेपालमै फरक फरक बुझाइ रहेको पाइन्छ। चलचित्रमा सोझो रूपमा त्यस्तो संवाद नरहेका विवरणहरू पनि सार्वजनिक भएका छन्।

विवादबीच सिनेमाघरहरूमा सबै भारतीय चलचित्र प्रदर्शनमा रोक लगाइएपछि सरोकारवालाहरूले अदालतको ढोका ढकढकाए। गत साता दायर गरिएको मुद्दामा सुनुवाइ गर्दै उच्च अदालत पाटनले भारतीय चलचित्रको प्रदर्शनलाई निरन्तरता दिन अल्पकालीन अन्तरिम आदेश दियो।

त्यसयता सिनेमाघरहरूमा विक्की कौशल र सारा अलि खानले अभिनय गरेको बलीवुड चलचित्र ‘जरा हटके जरा बचके’ पुनः प्रदर्शनमा आएको छ। तर अदालतको आदेशपश्चात् पनि आदिपुरुष प्रदर्शनको अवस्थामा भने कुनै परिवर्तन आएको छैन।

महँगो मूल्य तिरेर वितरण अधिकार खरिद गरिएको भनिएको आदिपुरुष चलचित्रले विगतमा भएको ऋतिक रोशन काण्डको तीतो सम्झना ताजा बनाइदिएको उक्त चलचित्रका वितरक मनोज राठी बताउँछन्।

ऋतिक रोशन काण्ड हुँदा एक दुई महिनासम्म सिनेमाघरमा मानिसहरू नआएको उनको भनाइ छ।

नेपालमा भारतीय चलचित्रका कारण सृजना भएका कैयौँ यस्ता विवाद छन् जसको कतिपय अवस्थामा ठोस कारण हालसम्म पनि खुल्न सकेको छैन।

त्यस्ता केही विवाद सामान्यरूपमा सल्टिएका छन् भने केही विवादका कारण सर्वसाधारणले ज्यान नै गुमाउने अवस्था सृजना भएको थियो।

नेपालमा भारतीय चलचित्रका कारण राजनीतिक तहमा समेत तरङ्ग उत्पन्न हुने गरेको भए पनि तुलनात्मक रूपमा हिन्दी सिनेमा प्रदर्शनको चलन भने अन्यत्रका तुलनामा ढिला सुरु भएको लेखक तथा चलचित्रकर्मी प्रकाश सायमी बताउँछन्।

उनका अनुसार खासगरी काठमाण्डूमा रहेका सिनेमाघरहरूमा त्यसबेला अङ्ग्रेजी चलचित्रको बोलवाला थियो।

“तर क्रमिक रूपमा हिन्दी चलचित्रको बजार विस्तार हुँदै गयो। सिनेमा राम्रोसँग चल्ने भएकाले पछि हिन्दी चलचित्र प्रदर्शन हुँदा चर्चित स्क्रीन पत्रिकामा दिइने विज्ञापनमा ‘रिलिजिङ अल ओभर इन्डिया एन्ड नेपाल’ (भारतका सबै सहर र नेपालमा प्रदर्शन हुन लागेको) भनेर उल्लेख गर्ने गरिन्थ्यो,” सायमी भन्छन्।

उनका अनुसार खासगरी सन् १९७०को दशकबाट काठमाण्डू, पूर्वी नेपाल अनि तराईमा हिन्दी चलचित्रको बजार फस्टाउन थाल्यो।

नेपालको बजार त्यस बेला भारतीय निर्माताहरूका लागि पनि ‘निकै महत्त्वपूर्ण रहेकाले’ नेपाल र भारत दुवै देशका सिनेनिर्माताहरूले अक्सर छिमेकीलाई हानी नपुग्ने गरी योजना तयार पार्ने एक किसिमको सहमति नै गरेको सायमीको बुझाइ छ।

त्यस बेला नेपालका चलचित्र निर्माताहरूले त्यो कुरा धेरै हदसम्म पालना गर्ने गरेको भए पनि भारतमा बन्ने चलचित्रहरूमा भने नेपालीहरूलाई चौकीदार लगायतका भूमिकामा चित्रण गरिने हुँदा छिटपुट घटनाहरू हुने गरेका दृष्टान्त दिनेहरू छन्।

  • संजीव गिरी
  • बीबीसी न्यूज नेपालीबाट ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here