२ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षको उमेर हद उपयोगी नभएको बताएका छन् ।
७० वर्ष पुगेकै आधारमा पार्टीमा काम गर्न नपाउने र पार्टी छोड्नुपर्ने अवस्था उपयुक्त नभएकाले हटाएको उनले प्रष्टीकरण दिए । अखिल नेपाल महिला संघ, बागमती प्रदेश कमिटीले शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा गरेको कार्यक्रममा ओलीले चीन र साइप्रसमा पनि विगतमा उमेर हद राखेको र पछि हटाएको बताए ।
नेकपा एमालेले २०६५ सालमा ७० वर्ष पूरा भएकाहरुले पार्टी कमिटीमा बस्न नपाउने निर्णय गरेको थियो । तर १९ जेठमा बसेको एमाले सचिवालय बैठकले उक्त व्यवस्था निलम्बन गरेको थियो ।
ओलीले यो निर्णयको विरोध गर्नुभन्दा ७० वर्ष पुगेकाहरुलाई पराजित गरेर अघि बढ्न युवाहरुलाई चुनौती दिए ।
७० वर्षको उमेर हदबारे ओलीले के भने ?
थुप्रै साथीहरु ७० वर्ष (उमेरहद) छ भनेपछि हच्किएका हुन्छन् । कामै गर्न नपाउने ७० वर्ष पुगेपछि, राजनीति नै छोडनुपर्ने स्थिति, कमिटी नै छोडनुपर्ने स्थिति भएपछि यो ७० वर्ष अप्ठ्यारो भयो ।
कतिपय साथीहरुलाई आउन, उहाँहरुलाई एकजष्ट गर्न, उहाँहरुलाई जिम्मेवारी दिन पनि हामीले ७० वर्ष हटाइदिनुपर्यो । ७० वर्ष कहिँ पनि छैन दुनियाँमा । अमेरिकामा छ, ?, ८० वर्षको मान्छेले राष्ट्रपति चलाइराखेको छ । अनि, शेरबहादुर देउवाजी ७७, ७८ कति वर्ष हो ? चलाइराख्नुभएको छ । कतै पनि छैन ७० ।
हाम्रोमा हामीले राखेका थियौं, हामीलाई पनि उपयुक्त भएन । यसले प्रगति गर्न अप्ठ्यारो पार्यो । त्यसकारण हामीले हटाउने भन्यौं । यसमा फेरि हाम्रा साथीहरु किन यो ७० हटाउने कुरा भएन के ? ए बाबा, चुनाव लडनुस् आउँदो महाधिवेशनमा । हुनुस् अध्यक्ष कसलाई मन लाग्छ, उपाध्यक्ष, महासचिव हुनुस् । झन् राम्रो भयो नि त ७० वर्ष पुगेकाले पनि पाउने भए त । राम्रै भयो त । सबैले लड्न पाउने भए । अनि किन आपत्ति जनाएको ? दौडिनुस् ।
यतिवर्ष भन्दा माथिकालाई दौडन दिन्न किन भन्ने ? ७० का सँग दौडनुस् । ७० कासँग दौडँदा अगाडि जानुभयो भने ठीकै छ, पदक लिनुस् । दौडन नसक्ने, घरमा बस्ने अनि घरमा बसेर गफ गरेर ७० वर्ष किन हटाइयो भन्ने फेरि, यो राजनीतिक कुरा भएन ।
कुनै पनि पार्टीमा, संसदमा यस्तो छैन । यस्तो अमेरिकामा छ ? बेलायतमा छ ? भारतमा छ ७० वर्ष ? जापानमा छ ? चीनमा छ, कहिँ छ ? चीनमा थियो, हटिसक्यो । सी जिन पिङ दुई पटक भन्दा हुन नपाउने भन्ने थियो, हटाइसके । उहाँले ७० वर्ष पनि पार गरिसक्नुभयो । अनि, चीनले पनि यसलाई सच्यायो । ६५ वर्ष थियो साइप्रसमा, साइप्रसले पनि हटाइसक्यो काम लाग्ने रहेनछ भनेर ।
सबभन्दा पछि हामीले राखेका हौं ७० वर्ष । दुई, तीन वटा पार्टी थिए ७० वर्ष राख्ने पार्टी दुनियाँमा । चिनिया कम्युनिष्ट पार्टी, साइप्र्रसको पार्टी र हाम्रो पार्टी । अरुले छाडे, हामीले पनि अन्तिममा छोड्नै पर्यो । किनभने यो उपयोगी भएन । यस्ता कुरामा अल्मलिएर, अल्झेर, राजनीतिक कुरा नगरेर ७० वर्ष भयो कि भएन ? दुनियाँमा कहीँ नभएको कुरा, कहीँ नभएको जात्रा एमाले किन गर्न जरुरी छ ?
त्यसकारण हामीले त्यसलाई छोड्ने भएका हौ । त्यसका कुनै साथीहरुले बेकारमा चर्चा, परिचर्चा गरेर । कोही भन्दै हिँडेका छन्–यो महाधिवेशनमा हुन दिँदैनौं । अव यही कुरा बाँकी छ हामीले गर्नुपर्ने ? महाधिवेशनमा नीति तय गर्ने, कसरी जाने, कसरी लाने भन्ने कुरा भन्दा यस्ता नचाहिने कुरामा अल्मलिने ? काम गर्न नसक्ने छ भने ७० वर्ष चाहिँदै चाहिदैन ।
६० वर्षमा पनि काम गरेन भने के गर्ने ? काम गर्न नसक्ने भएपछि त सिद्धियो नि । काम गर्न सक्दैछ भने हामी कसैलाई उम्मेदवार बनाउँदैनौं । उम्मेदवार बन्छ कोही भने काम गर्न नसक्ने मान्छे उम्मेदवार भएछ भने भोट नदिउला नि के भयो र । काम गर्न नसक्नेलाई भोट नदिने कुरा त हाम्रै हातमा छ नि त ।
त्यसो भएर यस्ता अनावश्यक कुरामा अल्झिरहने होइन । यो नचाहिने कुरामा अल्मलिने होइन । हामी राजनीतिक भएर बुढाबुढीहरु लौरो टेकेर अघि बढ भन्छौं । केटाकेटीहरु अगाडि बढ, युवाहरु अगाडि बढ । किशोरकिशोरीहरु अगाडि बढ । अहिले जो १४ वर्षका केटाकेटी २०८४ को चुनावमा मतदाता हुन्छन् । उनीहरुलाई पनि अलमल नगराई लिएर जानुछ हामीले ।
त्यसकारण म साथीहरुलाई आग्रह गर्न चाहन्छु–नयाँ पट्टी फर्किऊ । नयाँ बनाऊ । अव कोहीकोही बुढाबुढी भएर पनि काम गर्न सक्छौं भन्छन् भने । उमेरले जे भएपनि मान्छे काम गर्न सक्छ भने काम गर्न दिने । हामीले काम गर्न नदिनुपर्ने केही जरुरी छैन । काम गर्न रोक्नुपर्ने, काम गर्न प्रतिबन्ध लगाउनुपर्ने केही जरुरी छैन । काम गर्न सक्छन् भने दिने ।