प्रधानमन्त्री महोदय, कृपया सुन्नुहोस् !


४ बैशाख २०८०, सोमबार १९:१० मा प्रकाशित

तपाईंको प्राथमिकता के हो ? सामाजिक न्याय हो ? पूर्वाधार हो ? कृषि हो ? उद्योग हो ? पर्यटन हो ? शिक्षा हो ? स्वास्थ्य हो ? सुशासन हो ? जता पुग्यो, जसलाई भेट्यो, त्यही नै मेरो प्राथमिकता हो भन्न छाड्नुहोस् ।

Advertisement

केशव दाहाल

प्रधानमन्त्री महोदय, आजको लेख मैले तपाईंका नाममा प्रस्तुत गरेको छु । तपाईं बस्ने दरबारको मूलद्वार खुल्नुअगाडि; आँगनमा हाकिम, ठेकेदार र नेताहरू झुम्मिनुअगाडि; सत्ताको हिसाबकिताब सुरु गर्नुअगाडि ब्रह्ममुहूर्तमा कृपया सान्त बसेर यो लेख पढ्नुहोला ।

यो लेख पढिरहँदा छेउमा तपाईंका नातागोता, सेवक, सहयोगी र आसेपासे कोही पनि नहोऊन् । किनभने, शास्त्रहरू भन्छन्, ‘योग्य प्रधानमन्त्री बन्धनहरूबाट सर्वथा मुक्त हुनुपर्छ ।’ स्पष्ट गर्छु, यो लेखमा मैले तपाईंलाई सधैंझैं प्रश्न, घोचपेच र आलोचना गरेको छैन । यसमा मेरा मुख्यतः चारवटा सुझाव छन् । कृपया, झिंजो नमान्नुहोला ।

पहिलो सुझाव प्रश्नबाट सुरु हुन्छ । कमरेड पीएम, प्रधानमन्त्रीका रूपमा यो पटक तपाईंको मुख्य प्राथमिकता के हो ? अवश्य नै कामहरू धेरै छन् ।

अप्ठ्यारा धेरै छन् । जब कामहरू धेरै हुन्छन्, थाल्ने कहाँबाट ? अलमल स्वाभाविक हुन्छ । तपाईंलाई थाहै छ, संसारका सबै देश सबै कुरामा एकै पटक सफल भएका होइनन् । अहिले पनि कतिपय देश खास विषयमा मात्र सफल छन् । कुनै कृषिमा सफल छन् । कुनै पर्यटनमा । कुनै उद्योग, व्यापारमा । कुनै सामाजिक न्यायमा । कुनै स्वास्थ्यमा । कुनै शिक्षामा । कुनै सुशासनमा । कुनै पनि प्रधानमन्त्रीले एउटा कार्यकालमा सर्वत्र चमत्कार गर्दैन । तर कतै केही त चमत्कार हुन सक्छ । यो अर्थमा मैले सोधेको हुँ- तपाईंको प्राथमिकता के हो ? सामाजिक न्याय हो ? पूर्वाधार हो ? कृषि हो ? उद्योग हो ? पर्यटन हो ? शिक्षा हो ? स्वास्थ्य हो ? सुशासन हो ? जता पुग्यो, जसलाई भेट्यो, त्यही नै मेरो प्राथमिकता हो भन्न छाड्नुहोस् । बरु आजै आफ्नो प्राथमिकता निर्धारण गर्नुहोस् । अन्यथा, कुहिराको काग जति नै उचाइमा उडे पनि लक्ष्यमा किमार्थ पुग्न सक्दैन ।

मानौं तपाईंले आफ्नो कार्यकालका तीनवटा प्राथमिकता निर्धारण गर्नुभयो । ती प्राथमिकता पूरा गर्न तपाईंलाई चाहिने नीति, संरचना, जनशक्ति र स्रोत के हो ? अब गृहकार्य थाल्नुहोस् । त्यसका लागि देश–विदेशमा काम गरिरहेका योग्यतम पचास वा सय जना नेपाली विषयविज्ञहरूलाई सिंहदरबार झिकाउनुहोस्, जसमा होऊन् विश्वस्तरका प्राविधिक, वैज्ञानिक, योजनाविद्, अर्थशास्त्री, समाजशास्त्री । उनीहरूलाई निश्चित समय दिएर तपाईंका प्राथमिकताहरूमा रणनीति (मार्गचित्र) बनाउन जिम्मेवारी दिनुहोस् । तपाईं आफैं पनि त्यो प्रक्रियामा संलग्न हुनुहोस् । अनावश्यक भेटघाट बन्द गर्नुहोस् । उद्घाटन र भाषण बन्द गर्नुहोस् । मात्र काम । सुन्न पाइयोस् कि हाम्रा प्रधानमन्त्री मध्यरातसम्म काम गर्छन् । कथाजस्तो । किंवदन्तीजस्तो । मान्छेले भनून्— प्रचण्डलाई केही गर्ने भूत चढेको छ । यो सबै गरिरहँदा तपाईं आसेपासे, दलाल र बिचौलियाबाट बच्नुहोस् । स्तुतिगान हैन, आलोचना र प्रश्नहरू सुन्नुहोस् । उत्कृष्ट, योग्य र इमानदार मान्छेका बीचमा रमाउनुहोस् । र, निश्चित समयभित्र आफ्ना प्राथमिकताहरू कार्यान्वयनको मार्गचित्र तयार गर्नुहोस् ।

जब मार्गचित्र बन्छ, नागरिकलाई आफ्नो प्राथमिकता सुनाउनुहोस् । यसकारण कि मान्छेले तपाईंको प्राथमिकता सुनून् । र, सम्भवतः त्यसमा आफूलाई एकाकार गरून् । तपाईंको प्राथमिकता राष्ट्रिय प्राथमिकता बनोस् । त्यसपछि कार्यान्वयनको पहिलो चरण सुरु हुन्छ । जसमा तपाईंले आवश्यक कानुन, संरचना, स्रोत र जनशक्तिको व्यवस्था गर्नुपर्ने हुन्छ । अब विषयगत मन्त्रालयलाई काम दिनुहोस् । अब व्यवस्थापिकालाई काम दिनुहोस् । भोलि अदालतबाट अवरोध नहोस्, कानुनी प्रबन्धहरू मिलाउनुहोस् । नीति तथा कार्यक्रम त्यसरी नै बनाउनुहोस् । बजेट त्यसरी नै तयार गराउनुहोस् । स्रोत खोज्नुहोस् । चाहिने जनशक्तिको नक्सांकन गरेर त्यसको प्रबन्ध मिलाउनुहोस् । कहाँ होला जनशक्ति ? कसले तपाईंको योजनालाई ठीक समयमा कार्यान्वयन गर्ला ? क्षमता हेर्नुहोस्, पार्टी नहेर्नुहोस् । इमान हेर्नुहोस्, नाता नहेर्नुहोस् ।

आफ्नो कार्यसमूहलाई उत्प्रेरित गर्नुहोस् । र, पाँच वर्षभित्र परिणाम निकाल्नुहोस् । अमूर्त हैन, मूर्त परिणाम । ठोस, देखिने र देशको भविष्यलाई बदल्ने परिणाम । यस्तो होस् कि खेलको नियम परिवर्तन होस् । मेरो पहिलो सुझाव यही हो ।

मेरो दोस्रो सुझाव भुइँतहसँग सम्बन्धित छ । किनभने भुइँ हाम्रो आधार हो । तपाईंलाई सानो नीति स्मरण गराउँछु, ‘भुइँ नटेकी दौडनेहरू पछारिन्छन् ।’ मानौं, तपाईंले सुरु गर्नुभएको प्राथमिकतामा आधारित कामले परिणाम दिन केही वर्ष लाग्ला । अथवा, त्यसबाट सबैभन्दा गरिब समुदायलाई तत्कालै लाभ नमिल्ला । के उनीहरूलाई अझै पर्खाउने ? कति पर्खाउने ? के लोकतन्त्रले विवेक पुर्‍याउनु पर्दैन ?

अतः तपाईंले देशका सबैभन्दा सीमान्तीकृत वर्ग, जाति, क्षेत्र, लिंग र समुदायबारे आजै र अहिल्यै सोच्नुपर्छ । हिसाब गरौं, त्यो संख्या कति होला ? ४० लाख वा ५० लाख ? सहकारी मन्त्रालयले गन्न बिर्सिएको संख्या । गरिबी निवारण मन्त्रालयले नदेखेको संख्या । कृषि र भूमिसुधारले नहेरेको संख्या । विकासे परियोजनाका रिपोर्टमा देखिने तर धूलाले पुरिएका भुइँमान्छेको संख्या । सत्य यो छ कि देशमा अझै पनि मान्छेहरू अघाउँजी खान पाउँदैनन् । सत्य यस्तो छ कि आज पनि महिलामाथि विभेद छ । आज पनि छुवाछुत छ । आज पनि स्कुल जाने बच्चाहरू भैंसी र सुँगुर धपाउन बाध्य छन् । सडक, ओडार, कान्ला र अनकण्टारमा भोक, रोग र विभेदले थिलथिलो पारिएका अभागी (?) मान्छेको देश हो यो । भुइँमा पछारिएको त्यो वर्ग निराश छ । ऊ तपाईंसँग निराश छ । सिंहदरबारसँग निराश छ । लोकतन्त्रसँग निराश छ । उसलाई लाग्छ, उसको कोही छैन । पुस्तौंदेखि अन्यायमा परिएका ती मान्छेहरूका लागि के तपाईं हुनुहुन्छ ? पीएम महोदय, कृपया देशमा प्रधानमन्त्री छ भन्ने आभास दिनुहोस् ।

विचार गर्नुहोस्, उनीहरूलाई के गर्न सकिन्छ ? अलिक ठोस । अलिक सार्थक । गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, सुरक्षा, रोजगारी ? रासन कार्ड ? विज्ञहरूलाई राखेर सोध्नुहोस् । अभियन्ताहरूसँग छलफल गर्नुहोस् । संसारका अनुभव सुन्नुहोस् । र, मुख्यतः भुइँलाई परिवर्तनको आभास दिनुहोस् । भुइँलाई राज्यमा हिस्सेदारी दिनुहोस् । अन्यथा, तपाईं सिंहदरबारमा हुनु वा नहुनु आफैंमा महत्त्वहीन कुरा हो । अन्यथा, संविधानमा लेखिएको समाजवाद इतिहासलाई झुक्याउने जाली कुरा मात्र हो । अन्यथा, संघीय लोकतान्त्रिक गणतन्त्र भुइँमान्छेका लागि मात्र एक भ्रम हो । मेरो टिप्पणी कडा भएमा माफ पाऊँ । अन्यथा, तपाईं स्वयंले लडेको जनयुद्ध उसका लागि फगत लालआतंक हो । र, तपाईं हुनुहुन्छ त्यो आतंकको एक अभिशप्त खलनायक ।

प्रधानमन्त्री महोदय, मेरो तेस्रो सुझाव सुशासनसँग सम्बन्धित छ ।

तपाईंलाई सल्लाह दिन्छु- आफ्ना विरोधी, आलोचक र शुभचिन्तक सबैलाई अचम्म हुने गरी सुशासनको प्रत्याभूति दिनुहोस् । यसका लागि तीनवटा काम प्रस्ताव गर्छु- पहिलो, मितव्ययिता; दोस्रो, प्रभावकारिता; तेस्रो, दण्ड–सजायको प्रबन्ध ।

जस्तो कि सार्वजनीक खर्च पुनरवलोकन आयोगका अनुसार हाम्रा ६ वटा मन्त्रालय, तीन दर्जन आसपास महाशाखा, दर्जनौं विकास समिति र आयोगहरूलाई या त खारेज गर्न सकिन्छ या मिलाउन । त्यसो गर्दा अहिले नै हजारौं कर्मचारीको खर्चबोझ कम हुन्छ । सरकारले केही वर्ष नयाँ गाडी खरिद नगर्ने हो भने अर्बौं जोगिन्छ । सरकारी साधनको दुरुपयोग अर्को बेथिति हो । रोक्न सकिन्छ । अहिले साप्ताहिक बिदा एक दिन दिइन्छ, दुई दिन गर्न सकिएला । त्यसो त मन्त्रिपरिषद्, संसद्, आयोग, समिति, सरकारी कार्यालयमा दिइने बैठकभत्ता रोक्दा अर्बौं जोगिन्छ । जस्तो कि सांसदलाई तलब छँदै छ, बैठकभत्ता किन दिने ? यसबाट बचेको रकम निःशुल्क शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, रोजगारी सृजना र कृषिमा लगाउन सकिन्छ । मेरो सुझाव छ, यो विषयमा सिंहदरबारले केही उल्का गरोस् ।

यसै गरी, प्रभावकारी सेवा नागरिकको अधिकार हो । यसका लागि सरकार शासक हैन, सेवक बन्नुपर्छ । यो अर्थमा सम्पूर्ण क्षेत्रमा लागू हुने गरी सुशासनका पाँचवटा (मानौं) सर्त तोकौं । के भयो भने सुशासन हुन्छ ? र, ती सर्तहरूको कार्यान्वयनमा शून्य सहनशीलता अपनाऔं । साथै, अहिलेलाई कम्तीमा नागरिकता, पासपोर्ट, कर संकलन, जग्गा किनबेच लगायतका कामलाई अनलाइनबाट गरौं र पूर्णतः जनमैत्री बनाऔं ।

यहीँनेर आर्थिक अनुशासनको कुरा आउँछ । जस्तो कि भ्रष्टाचार चर्को छ । सर्वत्र बेथिति । परियोजनाहरू सुरु हुन्छन्, पूरा हुँदैनन् । ठेकेदारले काम गर्दैन । ऋण लिएर खर्च गर्‍यो, परिणाम शून्य । ठूला परियोजनाहरू सुरु त हुन्छन् तर समयमा सम्पन्न हुँदैनन् । जस्तो कि प्रत्येक राष्ट्रिय गौरवको आयोजनामा प्रारम्भिक अनुमानभन्दा दोब्बर वा तेब्बर समय र पैसा खर्च भइरहेको छ ? के यस्तै हुन दिने ? यसमा तीनवटा काम गर्नुहोस् । पहिलो, देशमा सञ्चालन भइरहेका निश्चित अंक (मानौं ५० करोड) माथिका सम्पूर्ण परियोजनाको स्थिति मूल्यांकन गरी एक महिनाभित्र दोषीलाई कारबाही गर्ने अभियान थाल्नुहोस् । उचित कारण छैन भने ठेक्का रद्द गराउनुहोस् । क्षतिपूर्ति भराउनुहोस् । कानुनी त्रुटि छन् भने सुधार गर्नुहोस् । दोस्रो, विगतमा भएका चर्चित भ्रष्टाचारका काण्डहरूका फाइल खोल्नुहोस् । तेस्रो, अहिलेसम्म राजकीय पदमा बसेकाहरूको सम्पत्ति छानबिन गर्न स्वतन्त्र आयोग बनाई कारबाही चलाउनुहोस् । सम्पत्ति जफत गर्नुहोस् । दोषीलाई सजाय दिनुहोस् । निर्दोषलाई आरोपबाट मुक्त गर्नुहोस् । पीएम महोदय, के यति गर्न सक्नुहुन्छ ?

चौथो कुरा सीधै तपाईंको व्यक्तित्वसँग सम्बन्धित छ । मेरो सल्लाह छ, कृपया धेरै नबोल्नुहोस् । आरोप–प्रत्यारोप नगर्नुहोस् । बोल्दा गृहकार्य गरेर बोल्नुहोस् । तथ्यमा बोल्नुहोस् । विद्वान्, विषयविज्ञ र अनुभवले खारिएका अनेकौं व्यक्तित्वसँग संगत बढाउनुहोस् । मिहिनेत गर्नुहोस् । मलाई लाग्छ, सिंहदरबारमा बस्ने र पार्टीका आँगन धाउनेहरूको क्षमताले यो देश बन्दैन । क्षमताको सीमा भत्काउनुहोस् । प्रधानमन्त्री भनेको चानचुने व्यक्ति होइन । त्यसैले चानचुने कुरा नगर्नुहोस् । चानचुने सपना नदेख्नुहोस् । चानचुने काममा नअलमलिनुहोस् । प्रधानमन्त्री हुनु भनेको नाता, कुटुम्ब, धन, दौलतभन्दा माथि हुनु हो । लोभ, मोह, सांसारिक स्वार्थ र अहंकार साधारण मान्छेका बन्धनहरू हुन् । महोदय, यी सबैबाट विमोक्ष हुनुहोस् ।

अन्त्यमा यति भन्छु, तपार्इंमाथि मेरा प्रशस्त आलोचना र प्रश्न छन् । तर प्रधानमन्त्रीसँग अपेक्षाहरू पनि त हुन्छन् । त्यसैले यी मेरा कोरा सल्लाहहरू मात्र हैनन्, एक नागरिकका प्रतिनिधिमूलक र अतृप्त अपेक्षाहरू हुन् । काम नगर्नलाई तपाईंसँग अनेक बहाना होलान् । तर इतिहासले कसैको बहाना सुन्दैन । र, भ्रमको कुनै आयु हुँदैन । प्रधनमन्त्री कमरेड, कृपया परिणाम दिनुहोला ।

-कान्तिपुरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here