मेचीनगर नगरपालिकामा राजकपूरको अराजकता, यस कारण गरियो खर्च गर्ने अख्तियारी स्थगन


२४ पुष २०७९, आईतवार २१:४० मा प्रकाशित

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज कपुरले अख्तियारी दुरुप्रयोग गरेको तथ्य फेला परेको छ । उनले मेचीनगरमा रहँदा कानुन विपरित योजना अगाडि बढाएपछि उनी विवाद मुछिएका छन् ।

Advertisement

प्रमुख प्रशासकीय अधिकृत कपुरको कार्यशैली विवादमा परेपछि कार्यपालिका बैठकले उनलाई फिर्ता पठाउने निर्णय गरेको थियो । तर, उनी काज सकेर फेरि मेचीनगरमा आउनेमा अड्डी कसेर बसेका छन् ।

मेचीनगर नगरपालिकामा नगर प्रमुखले कार्यपालिका निर्णय समेत गराई स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७३ उपदफा (१) बमोजिम सभाबाट बजेट सात दिनभित्र प्रमुख वा अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतलाई बजेटको खर्च गर्ने अख्तियारी प्रदान गर्ने कानुनी व्यवस्था गरेको थियो । सोही बमोजिम नगर प्रमुखले दिएको अधिकार नगर प्रमुखले नै स्थगन गरी प्रमुख प्रशासकीय अधिकृतलाई दिएपछि हाल यो बिषयले चर्चा पाएको छ ।

यस कारण गरियो खर्च गर्ने अख्तियारी स्थगन

दमकल खरिद प्रकरण
अहिले तपाईं मेचीनगर नगरपालिका जानुभयो भने नगरपालिका हाता भित्र अहिले नँया दमकल देख्नु हुन्छ । त्यो दमकल खरिदको प्रक्रिया आ.व. २०७८÷०७९ मा नै शुरु भएको हो । नव निर्वाचित जनप्रतिनिधि आए पश्चात नगर प्रमुखले पटक पटक कार्यालय प्रमुख र आर्थिक प्रशासन शाखा प्रमुखलाई दमकल खरिदको प्रक्रिया कहिले टुंगिन्छ भनेर सोधी रहनु भयो । दमकल त ढिलो भए पनि आयो तर अहिलेसम्म आधिकारीकरुपमा न दमकल कार्यालयमा आएको छ, न सँचालन नै गर्न सकिने अवस्था छ । नगर प्रमुखले धेरै तागेता गरे पश्चात दमकल खरिद प्रक्रियालाई टुंगाउन खोज्दा खरिद प्रक्रियामा बोलपत्र मूल्यांकन समितिको निर्णय नै देखिदैन, त्यस्तै सम्झौताको म्याद सकिनु २१ दिन अगाडि म्याद थपको पत्र कार्यालयमा दर्ता भएको पनि देखिँदैन ।

ढुंगा गिटी प्रकरण
मेचीनगर नगरपालिकाको आन्तरिक श्रोत तर्फको नदीजन्य पदार्थ संकलन उत्खनन् ठेक्का मुख्य आय ठेक्का हो । मेचीनगर नगरपालिका मेची, निन्दा हडिया र टिमाई खोला मध्ये पहिलो सूचनामा हडिया खोलाको मात्र ठेक्का २०७९ कार्तिक ६ गतेको सूचना अनुसार परेको थियो । उक्त ठेक्काका लागि प्रमुख प्रशासकीय अधिकृतले मंसिर २७ गते आशय पत्र जारी गरेको छ भने २०७९ पौष ४ गते सम्बन्धित ठेकेदारलाई सम्झौता गर्न आउने पत्र लेखा अधिकृतले हस्ताक्षर गरी पठाउनु भएको छ । पत्र बमोजिम सम्बन्धित ठेकेदारले किस्ता रकम र धरौटी राखी २०७९ पौष ५ गते पत्र राखी पेश गरेको छ । तर कार्यालयको तर्फबाट एक्कासी नयाँ बिषय उठान गरी सम्झौता प्रक्रिया अवरुद्ध गरिएको देखिन्छ ।

अधिकार दुरुप्रयोग प्रकरण
कार्यालय सञ्चालनका सन्दर्भमा निर्दिष्ट गर्न बनेको मेचीनगर नगर कार्यपालिकाको (कार्यसम्पादन) नियमावली, २०७४ को नियम २० को उपनियम (२) वमोजिम कार्यकारी अधिकृतद्वारा विषयगत शाखा, नगरपालिकाको अधिकृत वा वडा सचिवलाई प्रत्यायोजित अधिकार विशेष कारण परी फिर्ता लिनुपर्ने भएमा सोको औचित्य सहितको जानकारी प्रमुख मार्फत कार्यपालिकालाई गराउने व्यवस्था भएकोमा नगर प्रमुख नै नभएको अवस्थामा जानकारी समेत नगराई मेचीनगर नगर कार्यपालिकाको (कार्यसम्पादन) नियमावली, २०७४ लाई लत्याउँदै मनोमानी ढंगले आफूखुसी त्यस्ता किसिमका निर्णय गरि नगर प्रमुख र कार्यपालिकाको अपमान गरेकाले ।

पदको दुरुपयोग
कानुन विपरित अख्तियारी नै प्राप्त नगरेका कर्मचारी कम्प्युुटर अधिकृत र लेखा अधिकृतले आफुले नपाएको अधिकार प्रयोग गरी कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत उपस्थित हुँदा हुँदै निमित्त प्रमुख प्रशासकीय अधिकृतको छाप प्रयोग गरी कन्सुलर प्रमाणित गरेको र उक्त कार्य कानुन विपरित हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कन्सुलरसँग सम्बन्धित उजुरी पर्न गई मेचीनगर नगरपालिकालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट कारवाही गर्न भनी पत्र समेतआएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट कारवाही गर्न भनी पत्र आएपश्चात प्रमुख प्रशासकीय अधिकृतद्वारा मिति २०७९–०६–०१ बाट लागुहुने भनी मिति २०७९–०६–२५को पत्र बनाई मिति २०७९–०९–११ मा हस्ताक्षर र चलानी गरी कार्यालयमा छाप र पदको दुरुपयोग गरि एकै समयमा दुई जना प्रमुख प्रशासकीय अधिकृत सिर्जना गर्ने उक्त कर्मचारीलाई कार्यालय प्रमुखका हैसियतले कारवाही गर्नुको साटो नियतवस अझ पक्ष पोषण र बचाव गर्ने उद्धेश्यका साथ कन्सुलर प्रमाणित गर्ने अख्तियारी प्रदान गरि अनुचित कागजात सिर्जना गरेको देखिएको छ ।

अनुभवी नआउँदाको समस्या

मेचीनगर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत टिक्दै टिक्दैनन, चाँडै सरुवा भइहाल्छन भन्ने विषय पनि बारम्बार उठिरहन्छ । यो विषयलाई नियालेर हेर्दा स्थानीय तहमा खासै अनुभव नभएका र भए नै पनि कुनै स्थानीय तहमा ४÷५ महिना भन्दा बढी नबसेका, अन्य मन्त्रालय र ति मन्त्रालयका मातहतका इकाईमा मात्र कार्यरत रहि स्थानीय तहको अनुभव नै नभई मेचीनगर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्राप्त गरेकाले पुरा अवधि काम गर्न नसकेको देखिन्छ । स्थानीय तहमा अनुभव भएका मेचीनगर नगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृतहरु पशुपति खतिवडा २ वर्ष, पुरुषोत्तम सुवेदी १ वर्ष, महेन्द्र खाम्याहाङ्ग २ वर्ष र खेमराज ओझाले १५ महिना सम्म सफलतापूर्वक काम गरेर फर्किनु र अन्य एकै स्थानीय तहमा खासै अनुभव नभएका या १ वर्ष भन्दा कम अनुभव भएका सहदेव रायमाझी, दिनानाथ लम्साल र राजकपुर चौलागाईले पुरा अवधि काम गर्न नसकि फर्किनुले पनि यो कुरालाई स्पष्ट पार्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here