चार्ल्स शोभराजलाई कैदमुक्त गर्न सर्वोच्चको आदेश


६ पुष २०७९, बुधबार १९:०२ मा प्रकाशित

काठमाडौं । सर्वोच्च अदालतले बिकिनी किलर नामले चिनिने चार्ल्स शोभराजलाई कैदमुक्त गर्न आदेश दिएको छ ।

Advertisement

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले अन्य मुद्दामा थुनामा बस्न नपर्ने भए आजैदेखि कैद मुक्त गर्न र पन्ध्र दिन भित्र आफ्नै देश फर्काउने व्यवस्था मिलाउन आदेश जारी गरेको हो ।

शोभराजले दिएको बन्दीप्रत्यक्षीकरण मुद्दामा इजलासले १९ वर्ष कैद सजाय भोगिसकेको र ७८ वर्षको वृद्ध भएकाले उनले कानूनले दिएको सुविधा पाउनुपर्ने भनेको हो ।

जेष्ठ नागरिकले पाउनु पर्ने ७५ प्रतिशत कैद छुटको सुविधा दिलाउन माग गर्दै सर्वोच्चमा रिट हालेका थिए ।

जेलभित्र असल चालचलन भएका ७५ वर्ष उमेर पुगेका कसुरदारलाई ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने कानुनी व्यवस्था छ । उक्त व्यवस्था कैद सजाय भोगिरहेका नेपालीमात्र होइन विदेशी नागरिकको हकमा पनि लागु हुनु पर्ने शोभराजको जिकिर थियो। उनको जिकिरलाई अदालतले स्वीकार गरेको छ ।

उनलाई कारागारभित्रको पनि गोलघर (एकान्तवासमा) राखिएकोमा सर्वोच्चले टिप्पणी गरेको छ ।

१९ वर्ष कैद सजाय भोगीसकेको ७८ वर्ष उमेरको वृद्ध व्यक्तिलाई कानून प्रदत्त सुविधा तत्काल प्रदान नगरिएको र निजको संविधानप्रदत्त बाँच्न पाउने हक र एकान्त कारावास विरूद्धको हकमा समेत असर पर्न गएको सर्वोच्चले बताएको छ ।

‘निजलाई निरन्तर कैदमा राखिराख्नु बन्दीको मानवअधिकार मापदण्ड संविधान तथा कानुन प्रदत्त अधिकार अनुकुल देखिएन,’ सर्वोच्चको आदेशमा उल्लेख छ, ‘बन्दीप्रत्येक्षीकरणको आदेश जारी गरिदिएको छ। अन्यमुद्दामा थुनामा राख्नु नपर्ने भए निजलाई आजै कैदबाट छाडिदिन र १५ दिनभित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउनसमेत यो आदेश जारी गरिदिएको छ ।’

सन् १९७५ (विक्रम संवत २०३२) मा अमेरिकी नागरिक कोन्नीजो ब्रोन्जिजलाई काठमाडौंको मनहरामा मारेको दुई दिनमै उनले क्यानेडियन नागरिक लरेन्ट अरमान क्यारिअरेलाई भक्तपुरको साँगामा हत्या गरेका थिए ।

हत्यापछि फरार भएका शोभराज २०६१ सालमा काठमाडौं आएका थिए । त्यही बेला उनलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेपछि काठमाडौं र भक्तपुर जिल्ला अदालतमा हत्या मुद्दा अघि बढेको थियो ।

दुवै अदालतले उनलाई फरकफरक समयमा जन्मकैद हुने फैसला सुनाएका छन् । काठमाडौं जिल्ला अदालतमा चलेको उनको मुद्दा सर्वोच्च अदालतसम्म पुगेको थियो। जिल्ला अदालतले उनलाई गरेको जन्मकैदको फैसला सर्वोच्च अदालतले सदर गरेको थियो ।

उनी पक्राउ परेपछि अहिलेसम्म उनले केन्द्रीय कारागार सुन्धारामा कैद सजाय काटिरहेका छन् । उनलाई २०८० साल असोज १ गते सम्म कैद राख्नुपर्ने पुर्जी अदालतले जारी गरेको थियो ।

सर्वोच्चले भने वृद्ध, मुटु रोगी भएको र मानवअधिकार मापदण्ड विपरि एकान्तवासमा राखिएको भन्दै सर्वोच्चले कैद मुक्त गर्ने आदेश दिएको हो ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले यो आदेशको जानकारी जिल्ला अदालत काठमाडौं,भक्तपुर र केन्द्रीय कार्यालयलाई पठाइसकिएको जानकारी दिए । यो आदेश पाएपछि जिल्ला अदालतले अन्य मुद्दामा कैद भोग्नुपर्ने छ कि छैन भनेर हेर्छ । यदि रहेनछ भने जिल्ला अदालतले छोड्नका लागि कारागारलाई पत्राचार गर्ने छ। त्यसपछि मात्र उनी छुट्ने छन् । सेतोपाटी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here