भारतबाट घटेर आएपनि घटेन पेट्रोलियम पदार्थको मूल्य


१७ मंसिर २०७९, शनिबार १२:२७ मा प्रकाशित

झापा । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य नघटाउने जनाएको छ । निगम हाल रु २७ अर्ब घाटामा रहेकाले मूल्य समायोजन नगर्ने भएको हो ।

Advertisement

निगमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावले विगत लामो समयदेखि नोक्सानीमा सञ्चालन हुँदै आएको उल्लेख गरेको छ । इन्डियन आयल कर्पोरेशन लिमिटेडबाट यही १५ मङ्सिरमा प्राप्त खरिद मूल्यअनुसार एलपी ग्यासको मूल्य केही बढेको छ भने पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा केही घटेर आएको छ ।

‘मङ्सिर १५ गते पाएको खरिद मूल्यसूचीबमोजिम एलपी ग्यासमा प्रतिसिलिण्डर रु. ४३.९३ ले बढेर आएको छ । एलपी ग्यासमा निगमलाई हाल प्रतिसिलिन्डर रु. २ सय ७७.०२ घाटा भइरहेको छ’ विज्ञप्तिमा भनिएको छ, ‘निगमले इन्डियन आयल कर्पोरेशनलाई हालसम्म तिर्न बाँकी रकम, पुरानो बक्यौता तथा नेपाल सरकारलाई तिर्नुपर्ने ऋणसमेत गरी करिब रु २७ अर्ब तिर्न बाँकी छ ।’

ग्यास सिलिन्डर बिक्रीबाट मात्र निगमलाई १५ दिनमा रु. ३६ करोड ८५ लाख घाटा हुने देखिएको निगमले जनाएको छ । यद्यपि पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा मूल्य घट्दा पनि यथावत् राख्दा १५ दिनमा करिब रु ५८ करोड नाफा हुने निगमले जनाएको छ ।

‘हाल अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पदार्थको मूल्य पुनः घटबढ हुने क्रममा रहेको अवस्थामा पेट्रोलियम पदार्थको आपूर्ति सञ्चालन राख्न र इन्डियन आयल कर्पोरेशन लिमिटेडको बक्यौता एवं सरकारलाई उपलब्ध गराइएको ऋणको व्यवस्थापन गर्न निगमलाई चुनौती रहेकाले हाललाई पेट्रोलियम पदार्थको खुद्रा मूल्य यथावत राखिएको छ’ विज्ञप्तिमा भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here