चिया मजदूरका समस्या एमालेले समाधान गर्छ : अग्नी खरेल


२२ कार्तिक २०७९, मंगलवार १४:४४ मा प्रकाशित

मेचीनगर । झापा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अग्नी प्रसाद खरेलले नेकपा एमालेले किसान र मजदूरलाई बिर्सेर अघि नबढ्ने बताए ।

Advertisement

उनले मंगलबार नकलबन्दा टि–स्टेटका मजदूरहरुका समस्या बुझ्दै बर्गीय असमानताको पक्षबिरुद्ध लडेको एमाले तल्लो बर्ग र समुदायसँग जोडिएको पार्टी भएको धारणा व्यक्त गरे । ‘जब एमालेको सरकार बन्छ, श्रमिकको न्यूनतम ज्याला, सामाजिक सुरक्षा कोष, गरीब, विपन्न र असहाय र सुकुम्वासीको हितमा काम सुरु गर्छ’, उनले भने ।

उनले नेकपा एमालेको सरकारकै पालामा श्रमिकहरुको ज्याला रु. १५ हजार पुर्याएको र अब बन्ने एमाले सरकारले न्यूनतम ज्याला रु. २५ हजार पुर्याउने उनीहरुलाई जानकारी दिए । खरेलले नेकपा एमालेको हालै सार्वजनिक भएको घोषणा पत्रमा श्रमिकको ज्याला रु. २५ हजार तोकिएको र त्यसलाई सरकार बने लगत्तै व्यवहारमा कार्यान्वयन गरेर देखाउने प्रतिवद्धता व्यक्त गरे ।

प्रदेश सभा (क) का उम्मेद्वार रविन कोइरालाले जनता र मजदूरको अभिभावक पार्टी एमालेले घरवारविहीनलाई बसोवासको व्यवस्था मिलाउने बताए । उनले भने, ‘बगानबाट रिटायर्ड भएका मजदूरको भविष्यमा बसोवासका लागि नेकपा एमालेले एकीकृत बस्तीको व्यवस्था गर्ने उनीहरुसमक्ष प्रतिबद्धता व्यक्त गर्ने छ ।’

चिया मजदूर संघको केन्द्रीय महासचिव रामबहादुर राईले एमालले बनाएको ऐन, कानुनलाई समेत बर्तमान गठबन्धन सरकारले कार्यान्वयन नगर्दा मजदूरहरु समस्यामा परेको बताए ।

एमाले सरकारले नै २०७४ सालमा श्रम ऐन बनाएर मजदूरको रोजगारी, सामाजिक सुरक्षाकोषको ग्यारेन्टी गरे तापनि कार्यान्वयन हुन नसकेको बताउँदै भने, ‘अब एमालेलाई जिताउनुपर्छ, एमालेले मात्र ऐन र कानुनमा लेखिएको कुरालाई व्यवहारमा लागु गरेर मजदूरको उत्थान गर्नेछ ।’
उम्मेद्वारको स्वागतमा बगानमा एकसय बढी मजदूरहरु भेला भएर आफ्ना समस्या राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here