टंक कार्की,
सय वर्ष अगाडिको चीन नेपोलियन बोनापार्टको भाषामा ‘सुतेको बाघ’ हो। अरु कसैको भाषामा भन्ने हो भने चीन एसियाको बिरामी हो। ‘चीनलाई सुतिरहन देऊ, ओछ्यानमा पल्टिरहन देऊ र, यसलाई नचलाऊ’ नेपोलियन भन्थे।
यो अवस्थाबीच ठीक सय वर्षअगाडि १२ जना कम्युनिस्टले चिनियाँ कम्युनिस्ट पार्टी स्थापना गरे। सोही पार्टीको नेतृत्वमा चिनियाँ सांस्कृतिक क्रान्ति भयो। चीन संसारको सर्वाधिक जनसंख्या भएको देश हो। त्यहाँ पार्टी स्थापनाको २८ वर्षपछि त्यही १२ जना कम्युनिस्टले स्थापना गरेको कम्युनिस्ट पार्टी सत्तामा आयो।
र, ७२ वर्ष यता चिनियाँ कम्युनिस्ट पार्टीको निरन्तर सरकार छ। यो बीचमा ‘सुतेको बाघ चीन’ जागेको छ। बिरामी चीन तङ्ग्रिएको छ। अर्को ८/१० वर्षमा संसारकै सर्वाधिक सबल अर्थतन्त्र भएको मुलुकका रूपमा विकास हुँदै छ। सर्वाधिक सबल अर्थतन्त्र भएको मुलुक भएपछि सामरिक, सैनिक, रणनीतिकजस्ता सबै खालका क्षमता बढ्छ नै। बढाइ पनि राखेको छ। चाहे त्यो जमिनमा होस्, स्पेसमा होस् या जलमा होस्, स्वीकार्य प्रमुख राष्ट्रका रूपमा चीन देखिएको छ।
यदि चिनियाँ कम्युनिस्ट पार्टी नभएको भए त्यस्तो विकासको कल्पना गर्न गाह्रो पर्थ्याे भन्ने स्थिति भएको छ। भारत, अफ्रिकाका कतिपय मुलुक, इन्डोनेसियालगायत मुलुकको विकासको रफ्तारभन्दा कता हो कता माथि चिनियाँ कम्युनिस्ट पार्टी र सरकारले हासिल गरेको उपलब्धि छ।
यसको पछि चिनियाँ कम्युनिस्ट पार्टीले अवलम्वन गरेको शासन प्रणाली, दक्षता, कार्यक्रम आदि हुन्।
फेरि, चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरू आफ्नो राष्ट्र र जनताको हितप्रति सधैँभर संवेदनशील रहे। चाहे त्यो जापानको आक्रमणको बेला होस्। जतिबेला आन्तरिक झगडालाई एकातिर पन्छाएर जापानी आक्रमणको बर्खिलापमा लड्नुपर्छ भनेर चिनियाँहरूले तत्कालीन सत्तामा रहेको कोमिन्ताङसँग पनि सहकार्य गरेका थिए। उनीहरूको मुख्य ध्यान नै राष्ट्र र जनतामा गयो।
अर्कोतिर, भूमि सुधारको कार्यक्रम पनि चीनको हालको हैसियत निर्माणमा महत्वपूर्णसिद्ध छ। त्यो कार्यक्रम चाहिँ ठूल्ठूला दिग्जहरूले दिएको सुझाव र कार्यक्रमसहितको प्रस्तावमा बनेको होइन।
माओत्सेतुङले स्वयम् किसानसँग सम्वाद गरेर त्यसको आधारमा उपाय खोजिएको कार्यक्रम नै भूमि सुधार हो। आजकाल पनि चीनमा ‘घरधुरी उत्तदायी प्रणाली’ कार्यक्रम छ। त्यही कार्यक्रममार्फत् कृषि प्रणालीमा व्यापक सुधार गरिरहेको छ।
त्यो पनि किसानहरूले जे अनुभव हासिल गरे, समस्या सुल्झाउन जे उपाय दिएका थिए, त्यसलाई टिपेर देशव्यापी कृषि कार्यक्रमको रूपमा अगाडि सारिएको हो। ठूला नेताहरूको ‘डिक्टेसन’ मा तयार भएको कार्यक्रम होइन। यसरी उनीहरूले जनता केन्द्रित विकासको मोडल अगाडि सारे। अब, चीनमा पनि पार्टीहरू छन्। ८/९ वटा डेमोक्रेटिक पार्टीहरू छन्।
माओत्सेतुङले स्वयम् किसानसँग सम्वाद गरेर त्यसको आधारमा उपाय खोजिएको कार्यक्रम नै भूमि सुधार हो। आजकाल पनि चीनमा ‘घरधुरी उत्तदायी प्रणाली’ कार्यक्रम छ। त्यही कार्यक्रममार्फत् कृषि प्रणालीमा व्यापक सुधार गरिरहेको छ।
ती पार्टीहरूबीच सहयोगात्मक सम्बन्ध हुन्छ। त्यसले गर्दा त्यहाँको सहयोगात्मक राज्य प्रणाली हो। यता हाम्रोमा चाहिँ प्रतिस्पर्धात्मक सम्बन्ध हुन्छ। हाम्रोलाई प्रतिस्पर्धात्मक सम्बन्ध भएको राज्य प्रणाली भन्न सकिन्छ।
त्यही भएकाले चीनमा चिनियाँ कम्युनिस्ट पार्टी र अन्य डेमोक्रेटिक पार्टीहरूबीच आपसमा सहयोग गरागर हुन्छ। यस्तो परिपाटी चीनमा दशकौं अघि विकास भएको हो। फेरि, चीन पुरानो सम्भ्यता पनि हो। त्यो सभ्यताको प्रभाव पनि होला। ‘होलिस्टिक अप्रोज’ को आधारमा चिनियाँ सम्भ्यता विकास भएको हो। त्यसको पनि परिणाम जस्तो लाग्छ।
सन् १८४० पछिको अफिम युद्धपछि झन्डै एक शताब्दी चीन विश्व शक्तिबाट ओझेल परेको थियो। तर, अहिले चिनियाँहरू चिनियाँ राष्ट्रको पुनर्जागरणको निम्ति महान् अभियानमा छन्।
नभन्दै यसबीचमा उनीहरूको उपलब्धि अधिक भयो। जो कल्पना नगरिएको उपलब्धि हो। आजसम्मको मानव जातिको इतिहासमा चिनियाँहरूले जसरी द्रुततर विकास कसैले गरेका छैनन्।
पश्चिमा राष्ट्रको विकास त औपनिवेशकालमा गरेको ब्रह्मलुटबाट भएको हो। त्यही भएर उनीहरूमा अतिरिक्त पूँजी भयो। जो औधोगिकरणमा प्रयोग गरे। तर, चीनमा त्यस्तो भएको होइन। आधारभूत विकास गर्दै अघि बढेको हो चीन। यति छोटो अवधिमा यत्रो विकास गर्नु लरतरो कुरा होइन।
उदाहरणकै रूपमा हेर्ने हो भने ५० को दशक अगाडिसम्म छोरी पाउनसाथ समुद्रमा फ्याँकिदिने चीनले आज करिब ८० करोड बढी जनतालाई २०/३० वर्षको अवधिमा गरिबीबाट पूर्णरूपमा मुक्त गर्यो। संसारको गरिबी निवारणमा नै झन्डैझन्डै ७० प्रतिशत त चिनियाँहरूले गरेको योगदान छ भनिन्छ।
अब त चिनियाँहरूको ध्यान चीनको मात्रै उन्नति होइन। सिंगो मानव जातिको उन्तति, कल्याणसँगै शान्ति, स्थिरता र विकासको निम्ति सकारात्मक भूमिकातर्फ केन्द्रित देख्छु। जो अपेक्षित भूमिका पनि हो। उनीहरूले कर्तव्यबोध पनि गरेका छन् जस्तो छ।
जस्तै, केही वर्ष यता सबै मानव जातिको साझा विकासको अवधारणालाई अगाडि बढाउन ‘विन विन फिलसफी’ को कुरा गरिरहेका छन्। बीआरआई जस्ता मेगा प्रोजेक्टहरू दुनियाँसामू अगाडि सारेका छन्। मानव जातिको साझा समस्याबारे जुध्नका निम्ति आफ्ना धारणा अगाडि सारेका छन्।
(कार्की चीनका लागि नेपाली पूर्वराजदूत तथा एमाले नेता हुन् ।)
केन्द्रविन्दुबाट