स्पेन र इटाली युरोकपको सेमीफाइनलमा प्रवेश


१९ असार २०७८, शनिबार ०९:४३ मा प्रकाशित

झापा, १९, असार ।। शुक्रंवारबाट सुरु भएको क्वाटरफाइनल खेलबाट उपाधीका दाबेदार मानिएका इटाली र स्पेनले युरोकप फुटबल २०२० को सेमिफाइनलमा प्रवेश गरेका । विश्व बरियताको शीर्ष स्थानको बेल्जियमलाई २-१ गोलको नतिजामा पराजित गर्दै इटाली युरो २०२० को सेमिफाइनलमा पुगेको हो ।

Advertisement

गए राति भएको खेलमा निकोलो बेरेलाले ३१ औं मिनेटमा गरेको गोलसँगै इटालीले अग्रता लिएको थियो । मार्को भेराटीले दिएको पासलाई ६ यार्ड बक्स नजिकबाट प्रहार गर्दै बेरेलाले इटालीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको खेल सकिन एक मिनेट बाँकी रहँदा लोरेन्जो इन्सिग्नेले गरेको गोलसँगै इटालीले अग्रता दोब्बर पारेको थियो । इन्सिग्नेले करिब मैदानको आधा भाग दौडाएर पेनाल्टी एरिया बाहिरबाट प्रहार गर्दै सुन्दर गोल गरेका थिए ।

पहिलो हाफको निर्धारित ४५ मिनेटसम्म २-० ले पछि परेको बेल्जियमका जेरेमी डोकुमाथि भएको फाउलमा पेनाल्टी पाएको थियो । इटालियन डिफेन्डर जियोभानी डी लोरेन्जोले १८ यार्ड बक्समा फाउल गरेपछि पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै बेल्जियमका रोमेलु लुकाकुले स्कोर लाइन २-१ मा छोट्याएका थिए ।

हिजै राति भएको पहिलो खेलमा स्वीट्जरल्यान्डलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै तीन पटकको च्याम्पियन स्पेन युरो २०२० को सेमिफाइनलमा पुगेको छ । सुरुआतदेखि नै स्वीट्जरल्यान्डको रक्षापंक्तिमाथि निरन्तर आक्रमण गरेको स्पेनले आठौं मिनेटमा डेनिस जकारियाले गरेको आत्मघाती गोलसँगै अग्रता लिएको थियो ।

स्पेनले पाएको कर्नरमार्फत आएको क्रसमा डिफेन्डर जोर्डी अल्बाले पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार जकारियाको खुट्टामा लागेर गोलमा परिणत भएको थियो । पहिलो हाफमा १-० ले पछि परेको स्वीट्जरल्यान्डले दोस्रो हाफको सुरुआतदेखि नै आक्रामक शैली अपनाएको थियो ।

बल पोसेसनमा हाबी बनेको स्पेनमाथि काउन्टर अट्याकको फाइदा उठाउँदै स्वीट्जरल्यान्डले ६८औं मिनेटमा आजका कप्तान शेर्डेन शकिरीको गोलसँगै बराबरी गरेको थियो ।

दुई स्पेनिस डिफेन्डर अलमलमा परेको फाइदा उठाउँदै रेमो फ्रेउलरले कप्तान शकिरीलाई सुन्दर पास दिएका थिए । शकिरीले सोही पासको सदुपयोग गर्दै स्पेनिस गोलकिपर उनइ सिमोनलाई बिट् गर्दै स्वीट्जरल्यान्डलाई बराबरीमा ल्याएका थिए ।

त्यसको ९ मिनेट नबित्दै स्पेनिस फरवार्ड जेरार्ड मोरेनोमाथि खराब फाउल गरेका फ्रेउलरले रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिनु परेको थियो । फ्रेउलरले रातो कार्ड पाएसँगै १० जना खेलाडीमा सीमित भएको स्वीट्जरल्यान्डले ९० मिनेटसम्म स्पेनलाई रोकेर अतिरिक्त समयमा लगेको थियो । अतिरिक्त समयमा पनि थप गोल हुन नसकेपछि खेल पेनाल्टी सुट आउटमा पुगेको थियो ।

समूह एको तेस्रो स्थानमा रहेर अन्तिम १६ मा पुगेको स्वीट्जरल्यान्डले क्वार्टरफाइनल प्रवेशका लागि फ्रान्सलाई पराजित गरेको थियो ।
सेमिफाइनलमा बुधबार राति स्पेन र इटाली फाइनल प्रवेशका लागि भिडन्त हुने पक्का भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here