एमाले आयोजक कमिटीको वैधानिकताबारे सर्वोच्च आदेशको अर्थ के हाे ? अब बादललगायत नेताकाे हैसियत के हुन्छ ?


२८ जेष्ठ २०७८, शुक्रबार ०९:५३ मा प्रकाशित

 

Advertisement

बिहीबार सर्वोच्च अदालतबाट आएका केही आदेशहरूले एमाले महाधिवेशन आयाेजक कमिटी अध्यक्षको हैसियतमा प्रधानमन्त्री केपी ओलीले गरेका पछिल्ला निर्णयहरूको वैधानिकतामाथि प्रश्न उठाएका छन् । एक वाक्यमा भन्दा, राजनीतिक तहबाट हुनुपर्ने निर्णय स्वभाविक बाटाेबाट हुन नसक्दा न्यायालयले दललाइ बाटाे देखाउनु परेकाे छ, जुन त्यति सुखद भने हाेइन ।

याद रहाेस्, २३ फागुनमा सर्वोच्च अदालतको आदेशमार्फत् एमाले र माओवादी केन्द्र पूर्ववत् हुने भनिएको थियो । तर व्यवहारमा पार्टी पूर्ववत् अवस्थामा फर्केकाे थिएन ।

पहिले महाधिवेशन आयाेजक कमिटीकाे वैधताबारे कुरा गराैं ।

सांसद प्रकाश ज्वालासहित चार प्रदेश सांसदहरूलाई पदमुक्त गर्ने ओली निर्णयविरुद्ध रिट परेकाे थियाे । रिटमा  उनले एकलाैटी गठन गरेकाे महाधिवेशन आयाेजक कमिटीकाे वैधानिकतालाइ चुनाैती दिइएकाे थियाे । साेही रिटमा न्यायाधीश प्रकाशमान सिंह राउतले आज अन्तरिम आदेश दिँदै एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिलाई केन्द्रीय कमिटी साेसरह मान्न अस्वीकार गरे । उनकाे याे आदेशका अर्थहरू भने अझै गम्भीर छन् ।

ओलीले २ जेठ ०७५ सम्मको पार्टी संरचनालाई एकलौटी निर्णयमार्फत् दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीमा परिणत गरेका थिए । विगत माओवादीबाट आएका रामबहादुर थापालगायत नेताहरूलाई त्यसमा समावेश गरिएको थियो । आजको अदालती आदेशबाट ती निर्णयहरूसमेतको वैधानिकतामा प्रश्न उठेका छन् ।

आदेशअनुसार, दशौ राष्ट्रिय आयोजक कमिटी नेकपा एमालेको पार्टीको आधिकारीक संरचना होइन । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ अनुसार दल त्याग सम्बन्धी विषयमा कारवाही गर्दा सम्बन्धित दलको केन्द्रीय समितिले मात्र कारवाही गर्न सक्ने व्यवस्था छ । पार्टीको विधान र राजनीतिक दल सम्बन्धी ऐनले नचिनेको संरचनाबाट गरिएको निर्णय वदरभागी छ ।

वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईका अनुसार यो आदेशले साबिकको नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित एमाले केन्द्रीय कमिटीलाई मात्रै मान्यता दिएको छ । भट्टराईले भने, ‘आदेशमा सबै वाक्यहरू सिधा ढंगले नपरेका हाेलान्, आदेशहरू यस्तै हुन्छन् । तर कर्णालीमा कारबाही गरिएका भनिएका चार प्रदेश सांसदमाथि गरेको कारबाहीको औचित्यमाथि प्रश्न उठ्दा स्वतः महाधिवेशन आयोजक कमिटीमाथि प्रश्न उठेको हो ।’

अर्का वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले पनि यही कोणबाट तर्कहरू दिए । ‘अदालतले गरेको आदेशमा दसौं महाधिवेशन आयोजक कमिटी एमालेको आधिकारिक संरचना नभएकोले त्यो कमिटी पनि अवैधानिक हुन गयो भन्ने प्रष्ट छ,’ उनले भने, ‘यस अनुसार एमालेको विगत महाधिवेशनबाट चुनिएको कमिटीअन्तर्गतका नेताहरू अब वैधानिक हुनुहुन्छ । अरू कमिटीलाइ फैसलाले चिन्दैन ।’

एमालेभित्र माधव नेपाल पक्षले उठाउँदै आएको २ जेठ ०७५ मा फर्किनुपर्ने मागलाई ओलीले सिधा सम्बोधन नगरे पनि अदालत स्वयंले त्यसतर्फ पुर्‍याइदिएको विज्ञ विचार छ । आदेशलाई आधार मान्दा ओलीले यो बीचमा पार्टी महाधिवेशन आयोजक समितिको अध्यक्षको हैसियतमा गरेका निर्णयहरूको वैधानिकतामाथि प्रश्न उठाउन सकिने उनीहरूले बताएका छन् ।

सम्भवतः रामबहादुर थापा, टोपबहादुर रायमाझी, मणि थापालगायत विगत माओवादीका नेताहरू एमालेमा रहने हो भने अर्को निर्णयमार्फत मात्रै एमालेमा प्रवेश गर्नुपर्ने हुन्छ । किनकि उनीहरू प्रवेश गरेको कमिटी भनेको महाधिवेशन आयोजक कमिटी नै हो, साबिक एमाले केन्द्रीय कमिटी होइन । भट्टराइले उनीहरूकाे हैसियतमाथि प्रश्न उठेकाे बताए ।

एमाले नेता सुवास नेम्बाङसँग यसबारे जिज्ञासा राख्दा आफूले आदेशका पूर्णपाठ हेर्न नभ्याएकाले धारणा बनाउन केही समय लाग्ने बताए । 

एमाले नेता घनश्याम भूसालले अदालतबाट आफूहरूकाे पक्षमा आदेश आएकाे देखिए पनि राजनीतिक ठाउँबाट निर्णय हुनुपर्ने विषयलाइ अदालतले भन्दिनुपर्ने अवस्था भने आफैंमा सुखद नरहेकाे टिप्पणी गरे । 

राेचक के छ भने, ओलीले माधव नेपाल पक्षका नेतालाइ कारबाही गर्ने नै हाे भने पनि उनले २ जेठ ०७५ का बेलाकाे केन्द्रीय कमिटीकाे बहुमतबाट मात्रै कारबाही गर्न सक्छन् । याे बीचमा थप गरिएका केन्द्रीय सदस्यहरूलाइ आदेशले चिन्दैन ।

यस अर्थमा महाधिवेश आयाेजक कमिटी अध्यक्षका रूपमा ओलीकाे वैधानिक हैसियतमाथि आदेशले प्रश्नै प्रश्न उठाइदिएकाे छ ।

अनि सरकार प्रमुखका रूपमा उनले जारी गराएका अध्यादेशकाे वैधानिकता त आजकाे आदेशमार्फत बाँकी रहेन । गण्डकी प्रदेशमा उनका बिश्वासपात्र पिएस गुरूङकाे सरकार बिहीबारै ढलेकाे छ । अध्यादेश ल्याएर नागरिकता बाड्ने  उनकाे योजनमा सर्वोच्चले तगाराे हालिदिएकाे छ । कर्णाली प्रदेशका चार एमाले सांसदलाई पुनर्वहाली गर्न अन्तरिम आदेश दिएकाे छ । अनि उनले एकलाैटी बनाएकाे एमालेको दशौं महाधिवेशन आयोजक कमिटीलाइ अवैधानिक ठहर  गरिदिएकाे छ । 

यसरी अदालतले ओलीलाइ थप रक्षात्मक बनाइदिएकाे छ । अर्काे शब्दमा भन्दा अदालतकै विगत फैसलाकाे आडमा एकाएक शक्तिशाली बनेका ओलीसमक्ष उपलब्ध विकल्पहरू साँघुरिँदै गएका छन् ।

शिलापत्रबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here