‘म हिस्सिएँ !’


१६ जेष्ठ २०७८, आईतवार १३:५८ मा प्रकाशित

।। कविता ।।

Advertisement

मैले त भोट खसाल्दै गर्दा
तिमी सत्य निष्ठापूर्वक
हामीलाई निशुल्क शिक्षाका निम्ति
हामीलाई सुपथ औषधी उपचारका निम्ति
प्रतिज्ञा गर्छौ होला ठानेको थिएँ
तर तिमीले ‘त्यो पर्दैन’ भन्यौ
म हिस्सिएँ ।
मैले त
हाम्रो स्वाभिमानका लागि
हाम्रो देशभक्तिका लागि
हाम्रो सार्वभौमिकताका लागि
आफूलाई वलिदान गर्नु परेपनि
तिमी प्रतिज्ञावद्ध हुन्छौ ठानेको थिएँ
तर तिमीले ‘त्यो पर्दैन’ भन्यौ
म हिस्सिएँ ।
शाह र बादशाहहरुको बाटो छाडेर
तिमी त हाम्रा हौ
हाम्रो बाटो हिड्ने कवोल गर्छौ
तिमी त कामगरी खाने जनताको छोरो हौ
जनतासँगै घुलमिल हुने प्रतिज्ञा गछौं
मैले ठानेको थिएँ
तर तिमीले आज ‘त्यो पर्दैन’ भन्यौ
म हिस्सिएँ ।
तिमी धेरै पढन्ता मान्छे
महाभारत पढेर डर खाएछौ कि क्याहो ?
प्रतिज्ञा गरेकै कारण
देवव्रतले अनेक हण्डर खानुपर्यो
सत्यवती जस्ती सुन्दरी त्याग्नु पर्यो
बहादुरी साथ हरण गरेर ल्याएका
अम्बा, अम्बिका, अम्बालिका जस्ता षोडषीहरु
स्वभावतः भतिजाहरुलाई सुम्पिनु पर्यो
अझ महत्त्वपूर्ण त,
हस्तिनापुरको रजाइँ नै त्याग्नु पर्यो
त्यसैले तिमी प्रतिज्ञा नगर्ने प्रतिज्ञा गर्दैछौ कि
त्यसैले पो तिमीले भनेका हौ कि
‘त्यो पर्दैन’
म हिस्सिएँ ।

………………………

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here