हल्दिबारीको गाउँसभामा कुटाकुट


११ असार २०७७, बिहीबार ०५:०८ मा प्रकाशित

झापा । झापाको हल्दिवारी गाउँपालिकाको गाउँसभामा कुटाकुट भएको छ । गाउँसभाका केही सदस्यले अध्यक्ष रविन्द्र लिङ्गदेनलाई मुक्का प्रहार गरेका हुन् ।

Advertisement

उनको अहिले भद्रपुरस्थित मेची अस्पतालमा उपचार भइरहेको छ । घटनामा पालिकाका केही कुर्सी, टेबल पनि भाँचिएका छन् ।

अध्यक्ष लिङ्गदेनले गाउँसभा विथोल्न आएका अराजक व्यक्तिकोे आक्रमणबाट झ्याल, ढोका, टेवल कुर्सीलगायत कार्यालयका भौतिक संरचनामा क्षति पुगेको बताए ।

उनले नेकपाबाट निर्वाचित गाउँ सभा सदस्यबाट आक्रमण भएको आरोप लगाएका छन् । गाउँ सभामा प्रस्तुत नीति तथा कार्यक्रमका अन्तरबस्तुमा सभा सदस्यसँग सुझाव संकलन गर्ने क्रममा विमती सिर्जना भएपछि एकैपटक आक्रमण सुरु भएको उनको भनाइ छ ।

यद्यपि, गाउँपालिकाका वडा नम्बर ३ का अध्यक्ष त्रिलोचन सापकोटा भने अध्यक्षकै डिजाइनमा गाउँ सभा भाँडिएको बताउँछन् ।

उनले अध्यक्ष लिङ्गदेनले नेकपाबाट निर्वाचित गाउँ सभा सदस्यबाट आक्रमण भएको भन्ने आरोपको औचित्य पुष्टि गर्न पनि चुनौति दिए ।

गाउँपालिकामा मागसहितको ज्ञापनपत्र बुझाउने बहानामा आएका व्यक्तिहरूले एक्कासी ढुंगामुढा गरेको अर्का एक जनप्रतिनिधि बताउँछन् । उनका अनुसार ज्ञापन पत्र लिएर आउने व्यक्ति कार्यपालिकामा संलग्न थिएनन् ।

विवाद भएपछि अध्यक्ष लिङ्गदेन सभा बिसर्जन समेत नगरी बाहिरिएका थिए । त्यसपछि उपाध्यक्ष डम्बर गिरीको अध्यक्षतामा सभा सञ्चालन भएको थियो ।

हल्दिवारीमा बहुमत कार्यपालिका सदस्य नेकपाका रहेका कारण अल्पमतमा रहेका गाउँपालिका अध्यक्षले आफ्नो पार्टीको नीति र लक्ष्य अनुसार काम गर्न नपाएको नेकपा पक्षको आरोप छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here