चैत्र २९, काठमार्डां ।। नेपालको नयाँ सरकार गठन भएको दुई साता नबित्दै भारतसँग उच्चस्तरीय भ्रमणको तयारीले गति लिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबारे दुई देशबीच सैद्धान्तिक सहमति भइसकेको छ । तर, भ्रमणको मिति तय हुनुअघि नेपालले आफ्ना प्राथमिकता निर्धारण गर्ने र द्विपक्षीय संयन्त्रहरूलाई सक्रिय बनाउने प्रक्रिया पूरा गर्नुपर्ने भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शाह प्रधानमन्त्री निर्वाचित भएपछि बधाई सन्देशसहित भारत भ्रमणको निम्तो दिएका थिए । शाहले त्यसको जवाफमा ‘उचित समयमा भारत भ्रमण गर्ने’ उल्लेख गरेका थिए । परराष्ट्रमन्त्री शिशिर खनालले यसबारे पुष्टि गर्दै प्रधानमन्त्री शाहले नै भारत भ्रमणको इच्छा व्यक्त गरेको जानकारी दिएका छन् ।
खनालले यो जानकारी मोरिससको पोर्ट लुइसमा नवौं हिन्द महासागर सम्मेलनको साइडलाइनमा भारतीय विदेशमन्त्री एस जयशंकरसँग भएको द्विपक्षीय भेटवार्तामा दिएका हुन् । यो खनालको नयाँ सरकार गठनपछि पहिलो विदेश भ्रमण थियो । भेटमा नेपाल–भारत सम्बन्धका विविध आयाम, नयाँ सरकारको परराष्ट्र नीति समीक्षा र उच्चस्तरीय भ्रमणको सम्भावनाबारे गहन छलफल भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
खनालले विदेशमन्त्री जयशंकरलाई नेपाल र भारतबीच अत्यन्त गहिरो राजनीतिक, आर्थिक तथा जनस्तरको सम्बन्ध रहेको र आफूले दुई देशको सम्बन्धका प्राथमिकता निर्धारण गर्दै उच्चस्तरीय भ्रमणको तयारी गरिरहेको जानकारी दिएका थिए । त्यस्तै जयशंकरले यो प्रस्तावलाई सकारात्मक रूपमा लिएको पनि खनालले बताए ।
हालसम्म नेपाल र भारतबीच ४० भन्दा बढी द्विपक्षीय संयन्त्रहरू सञ्चालनमा छन् । यी संयन्त्रहरूलाई पूर्ण रूपमा सक्रिय बनाएर संवाद र सहकार्यलाई सघन बनाउने सहमति दुई विदेशमन्त्रीबीच भएको छ । यसले व्यापार, लगानी, ऊर्जा, कनेक्टिभिटी, पर्यटन र सीमा व्यवस्थापनजस्ता क्षेत्रमा ठोस प्रगति सम्भव बनाउने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्रीस्तरीय भ्रमण हुनुअघि भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण हुने भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार यो भ्रमण एक महिनाभित्रै हुन सक्नेछ । यो सद्भावना भ्रमणसँगै उच्चस्तरीय भ्रमणको प्राविधिक तयारी पनि हुनेछ । मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री शाहको भ्रमणअघि परराष्ट्रमन्त्री खनालको भारत भ्रमण हुने पुरानो प्रचलनअनुसार सम्भावना पनि छ । यसले भ्रमणको एजेन्डालाई थप परिष्कृत बनाउने छ ।
नेपाल–भारत सम्बन्ध दुई देशका लागि मात्र होइन, क्षेत्रीय स्थिरता र विकासका लागि पनि निर्णायक छ । व्यापार, ऊर्जा निर्यात, सडक–रेल कनेक्टिभिटी, पर्यटन र जनस्तरको सम्बन्ध यसको मुख्य आधार हुन् । नयाँ सरकारले परराष्ट्र नीतिको समीक्षा गरिरहेको बेला यो भ्रमणले दुई पक्षीय एजेन्डालाई स्पष्ट आकार दिनेछ ।
परराष्ट्रमन्त्री खनालले सम्मेलनका क्रममा भुटान, बंगलादेश, मौरिसस र सिंगापुरका विदेशमन्त्रीहरूसँग पनि भेट गरेका थिए । तर, भारतसँगको छलफल सबैभन्दा महत्वपूर्ण मानिएको छ ।
अबको केही साताभित्र भारतीय विदेश सचिव मिश्रीको भ्रमणले तयारीको गति निर्धारण गर्नेछ । प्रधानमन्त्री शाहको भारत भ्रमणले नयाँ नेपाल र नयाँ भारतबीचको सम्बन्धलाई थप मजबुत र भविष्यमुखी बनाउने अपेक्षा गरिएको छ । तयारी पूरा भएपछि मात्र मिति तय हुने भए पनि दुई देशबीचको यो सैद्धान्तिक सहमति नै नयाँ सरकारको परराष्ट्र नीतिको पहिलो ठोस उपलब्धि मानिएको छ ।







