इन्धन अभावले काँकडभिट्टा–लौकही सडक निर्माण सुस्त, काम रोकिने जोखिम


२८ चैत्र २०८२, शनिबार १९:०५ मा प्रकाशित

चैत्र २८, झापा ।। पूर्व–पश्चिम राजमार्गसँग जोडिने महत्त्वपूर्ण काँकडभिट्टा–लौकही सडक स्तरोन्नति आयोजना पेट्रोलियम पदार्थ र बिटुमिन अभावका कारण प्रभावित बनेको छ ।

Advertisement

पश्चिम एसियामा देखिएको तनावका कारण बिटुमिन आपूर्ति घट्दा र डिजेलमा लागू गरिएको कोटा प्रणालीले इन्धन उपलब्ध नभएपछि निर्माण कार्य सुस्ताएको हो ।

काँकडभिट्टा–लौकही सडकखण्डको पूर्वी खण्डमा इभ्रास्कन कालिका जे.भी.ले स्तरोन्नतिको काम गरिरहेको छ ।

कम्पनीका प्रोजेक्ट म्यानेजर उज्ज्वल प्रसाईँका अनुसार कालोपत्रे गर्ने मुख्य सिजनमै पर्याप्त बिटुमिन नपाउँदा काम प्रभावित भएको हो । कम्पनीले स्टकमा राखेको बिटुमिनले अधिकतम १०–१५ दिन मात्रै काम धान्ने अवस्था रहेको उनले बताए ।

वर्षाअघि पहिलो लेयरको कालोपत्रे गर्न करिब २२ किलोमिटर सडकमा बेस बिछ्याएर तयारी गरिएको छ । तर, आवश्यक मात्रामा बिटुमिन उपलब्ध नभएकाले बेस बिछ्याइएको क्षेत्रमा कालोपत्रे सुरु गर्न समस्या भएको निर्माण कम्पनीले जनाएको छ ।

महँगो मूल्यमा बिटुमिन खरिद गरे पनि पर्याप्त आपूर्ति नभएको प्रसाईँको भनाइ छ ।

नेपाल आयल निगमले डिजेलमा लागू गरेको कोटा प्रणालीले निर्माण कार्य थप प्रभावित बनेको छ । पर्याप्त डिजेल उपलब्ध नहुँदा उपकरण सञ्चालन गर्न कठिनाइ भएको निर्माण कम्पनीको गुनासो छ ।

काँकडभिट्टा–लौकही सडक योजना पूर्वी खण्डका योजना प्रमुख सीडीई सुनिलबाबु पन्तका अनुसार हाल स्टकमा रहेको बिटुमिनले मात्रै सीमित क्षेत्रमा कालोपत्रे गर्न सकिने अवस्था छ ।

पश्चिम एसियामा देखिएको तनावका कारण पेट्रोलियम पदार्थको मूल्य बढ्दै जाँदा निर्माण लागत समेत बढेको छ । निर्माण कम्पनीले बिटुमिन आयातका लागि खोलेको एलसी समेत फिर्ता भएको जानकारी आयोजनालाई गराइएको पन्तले बताए ।

यही अवस्था कायम रहेमा आगामी एक हप्तादेखि १० दिनभित्र काम रोकिने जोखिम रहेको उनले चेतावनी दिए ।

पूर्वी खण्डअन्तर्गत काँकडभिट्टादेखि सीतापुरीसम्म करिब ४५ किलोमिटर सडक स्तरोन्नति भइरहेको छ । उक्त खण्डको अनुमानित लागत १० अर्ब ६ करोड ९४ लाख रुपैयाँ रहेको आयोजनाले जनाएको छ ।

यो सडक स्तरोन्नति सम्पन्न भएपछि पूर्वी नेपालका औद्योगिक क्षेत्र, सीमावर्ती नाका तथा तराईका जिल्लाबीच यातायात सहज हुने अपेक्षा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here