-पुर्णिमा कार्की //
अब त केही गर्छु भनेर मनले अठोट गर्छ,
तर जिन्दगीले फेरि अर्को परीक्षा लिएर उभिन्छ‘
एकचोटि होइन, पटक–पटक‘
जसरी हरेकपटक उठ्दा,
फेरि लड्नै पर्ने जस्तो।
कहिले लाग्छ —
“अब बस्, सकियो‘”
तर फेरि भित्र कतैबाट आवाज आउँछ—
“अझै हार मान्ने बेला भएको छैन‘”
यो मन पनि कस्तो अडिग हुन्छ,
टुट्दै–जोडिँदै,
रुदैँ–हाँस्दै,
फेरि पनि सपना देख्न छोड्दैन।
अरूको नजरमा सायद
तिमी केही गर्न नसकेको मान्छे हौ,
तर तिमी आफैंलाई थाहा छ—
तिमी कति लडिरहेका छौ भनेर।
हरेक रातको आँसु,
हरेक दिनको संघर्ष,
हरेक चोट, हरेक निराशा‘
यी सबै मिलेर तिमीलाई बनाइरहेका छन्—
अझै बलियो, अझै सहनशील।
कहिलेकाहीँ ढिलो हुन्छ,
तर गलत हुँदैन‘
जिन्दगीले दिएको कुरा,
ठीक समयमा नै दिन्छ।
त्यसैले आज हार जस्तो लागे पनि,
भोलि त्यही कुरा
तिम्रो जितको कारण बन्न सक्छ।
बस्‘
रोकिनु छैन,
थाकेर बस्नु छैन,
चाहे जति गाह्रो किन नहोस्—
हिँडिरहनु छ।
किनकि अन्त्यमा‘
जसले सबैभन्दा धेरै सहन्छ,
उही सबैभन्दा धेरै जित्छ।







