चैत्र २४, काठमाडौं ।। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘एकै रातमा नामेट पार्ने’ चेतावनी दिएका छन्। ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले मंगलबार राति ८ बजेसम्मको समयसीमा तोक्दै सो अवधिभित्र सम्झौता नभए इरानमाथि भीषण आक्रमण सुरु हुने संकेत दिएका हुन्।
ट्रम्पले इरानसँग ‘स्ट्रेट अफ हर्मोज’ खुला गर्ने विषयमा सम्झौता नभए इरानको ऊर्जा र यातायात पूर्वाधारहरू ध्वस्त पार्ने बताएका छन्। उनले चेतावनी दिँदै भने, “सम्पूर्ण देशलाई एकै रातमा सिध्याउन सकिन्छ र त्यो रात भोलि नै हुन सक्छ। उनीहरूसँग न पुल रहनेछन्, न पावर प्लान्ट। इरान पुनः ढुङ्गे युगमा फर्कनेछ।”
इरानले भने हालसम्म अमेरिकी प्रस्तावलाई अस्वीकार गर्दै आएको छ र प्रतिबन्धहरू पूर्ण रूपमा हटाउनुपर्ने अडान राखेको छ। ट्रम्पले इरानमा खसालिएको अमेरिकी एफ-१५ (F-15) लडाकु विमानका चालक दलको साहसिक उद्धार अभियानको विवरण पनि सार्वजनिक गरेका छन्।
शत्रुको इलाकामा जंगल र पहाडको बीचमा फसेका एक घाइते पाइलटलाई बचाउन अमेरिकाले हालैका वर्षकै सबैभन्दा खतरनाक अपरेसन चलाएको ट्रम्पले दाबी गरे। उद्धारका लागि सुरुमा २१ वटा विमान भारी गोलाबारीका बीच पठाइएको थियो। पछि बम्बर, फाइटर जेट र हेलिकोप्टरसहित कुल १५५ वटा विमानहरू परिचालन गरिएको थियो।
इरानी सेनालाई भ्रममा पार्न विभिन्न बाटाहरू प्रयोग गरिएको थियो। घाइते पाइलट आफैँले आफ्नो उपचार गर्दै र पहाड चढ्दै अमेरिकी सेनाको सम्पर्कमा आएका थिए। यस अभियानमा कोही पनि अमेरिकी सैनिकले ज्यान गुमाउनु नपरेको ट्रम्पले बताए।
यस द्वन्द्वमा साथ नदिएको भन्दै ट्रम्पले आफ्ना सहयोगी राष्ट्रहरू र नेटोको तीखो आलोचना गरे। नेटोको अनुपस्थितिलाई उनले ‘कहिल्यै नमेटिने दाग’ को संज्ञा दिए भने अमेरिकालाई बेलायतको ‘आवश्यकता’ नभएको रुखो टिप्पणी समेत गरे।
कानुनी विज्ञहरूले नागरिक पूर्वाधार र पावर प्लान्टहरूलाई लक्षित गर्नु ‘युद्ध अपराध’ हुन सक्ने चेतावनी दिएका छन्। पूर्व सुरक्षा सल्लाहकार टेस ब्रिजम्यानले नागरिकहरूलाई प्रत्यक्ष असर पर्ने गरी गरिने यस्ता आक्रमणहरू अन्तर्राष्ट्रिय कानुन विपरित हुने बताएका छन्। यद्यपि, ट्रम्पले यस्ता चेतावनीप्रति कुनै चासो देखाएका छैनन्।
युद्ध सुरु भएदेखि हालसम्म अमेरिकाले इरानमा १३ हजार भन्दा बढी हवाई हमला गरिसकेको छ। पाकिस्तान, टर्की र इजिप्टले मध्यस्थताको कोसिस गरिरहेका छन्, तर इरानमा सञ्चार अवरोधका कारण वार्ता प्रभावकारी हुन सकेको छैन।
अमेरिकी राष्ट्रपतिले आफूसँग ‘उत्कृष्ट योजना’ रहेको बताए पनि त्यसलाई सार्वजनिक गरेका छैनन्।
–बीबीसीबाट







