चैत्र १८, एजेन्सी ।। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी सैन्य अभियान चाँडै टुङ्गिने र आगामी दुईदेखि तीन हप्ताभित्र अमेरिकी सेना त्यहाँबाट बाहिरिने घोषणा गरेका छन्। ह्वाइट हाउसको ओभल अफिसबाट सम्बोधन गर्दै ट्रम्पले इरानको आणविक क्षमता नष्ट गर्ने लक्ष्य पूरा भएको दाबी गरेका हुन्।
राष्ट्रपति ट्रम्पका अनुसार इरानले आगामी कैयौँ वर्षसम्म आणविक हतियार बनाउन नसक्ने सुनिश्चित भएपछि अमेरिका त्यहाँबाट पूर्ण रूपमा बाहिरिनेछ। “इरान अहिले सम्झौताका लागि भिक मागिरहेको छ,” ट्रम्पले भने, “तर सम्झौता होस् वा नहोस्, अमेरिका आफ्नो समयतालिका अनुसार नै त्यहाँबाट निस्कनेछ।”
उनले इरानको सैन्य संरचना र नौसेना पूर्ण रूपमा ध्वस्त भइसकेको बताए । उनका अनुसार इरानी आकाश अहिले अमेरिकी सेनाको पूर्ण नियन्त्रणमा छ।नयाँ इरानी नेतृत्व पहिलेको तुलनामा बढी ‘तर्कसंगत’ देखिएको उनले बताएका छन् ।
ट्रम्पले बेलायत लगायतका अन्य सहयोगी राष्ट्रहरूप्रति कडा टिप्पणी गर्दै स्ट्रेट अफ हर्मोजमा सुरक्षा सहयोग नगर्ने संकेत दिएका छन्। उनले भने, “स्ट्रेट अफ हर्मोजबाट आफ्नो तेल आफैँ लैजानुहोस्, अब अमेरिकाले मद्दत गर्ने छैन। जसरी तपाईँहरू हाम्रो लागि उभिनुभएन, त्यसरी नै हामी पनि हुने छैनौँ।”
यता इरानी राष्ट्रपति मसुद पेजेस्कियानले भने युद्ध अन्त्यका लागि आफूहरू तयार रहेको बताएका छन्। तर, उनले ‘शत्रु पक्ष’ बाट युद्ध पुनः नबढ्ने ग्यारेन्टी हुनुपर्ने सर्त राखेका छन्।
यद्यपि, कूटनीतिक संवाददाताहरूका अनुसार स्ट्रेट अफ हर्मोजमा इरानको पकडलाई चुनौती दिन अहिले कोही पनि तयार छैनन्, जसमा अमेरिकी युद्धपोतहरू समेत पर्दछन्।
सैन्य अभियान सकिएसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्ने आश्वासन समेत उनले दिएका छन्। राष्ट्रपति ट्रम्पले बुधबार राति राष्ट्रका नाममा सम्बोधन गर्दै इरानबारे ‘विशेष अपडेट’ दिने तालिका तय भएको बताइएको छ ।
ट्रम्पले इरानसँग अब धम्की दिने कुनै सामर्थ्य नरहेको टिप्पणी गर्दै अमेरिकी सेना छिट्टै स्वदेश फर्कने तयारीमा रहेको उनले दोहोर्याए ।
– बीबीसीबाट







