चैत्र १७, काठमाडौं ।। काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी (सिडिओ) छवि रिजाल पक्राउ परेका छन्। ‘जेनजी’ आन्दोलनका क्रममा भएको दमन र मानवीय क्षतिको अनुसन्धान गरिरहेको उच्चस्तरीय जाँचबुझ आयोगको सिफारिसका आधारमा उनलाई सुविधानगरबाट नियन्त्रणमा लिइएको प्रहरीका एक उच्च अधिकृतले जानकारी दिए ।
गौरीबहादुर कार्कीको नेतृत्वमा गठित उच्चस्तरीय जाँचबुझ आयोगले रिजाललाई दोषी ठहर गर्दै कानुनी कारबाहीका लागि सिफारिस गरेको थियो। मन्त्रिपरिषद्ले उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै पक्राउ प्रक्रिया अघि बढेको हो।
भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा रिजाल काठमाडौँको सिडिओका रूपमा कार्यरत थिए। बानेश्वरमा जेनजी प्रदर्शनकारीहरुको ज्यान जाने गरी गोली चलाउन आदेश दिएको भन्दै उनको कडा आलोचना हुँदै आएको थियो ।
तर उनले आयोगसमक्ष बयान दिने क्रममा आफूले घातक हतियार प्रयोग गरी गोली चलाउन आदेश नदिएको दाबी गर्दै आएका थिए।
सोही आयोगको प्रतिवेदनका आधारमा यसअघि नै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई समेत पक्राउ गरिसकिएको छ।
अनुसन्धान र कानुनी प्रक्रियालाई थप अगाडि बढाउन रिजाललाई हिरासतमा लिइएको प्रहरीको भनाइ छ ।







