फागुन १, ढाका ।।
बाङ्ग्लादेशमा सम्पन्न निर्वाचनमा बाङ्ग्लादेश न्याश्नलिस्ट पार्टी (बीएनपी) ले आफ्नो नेृत्वमा सरकार गठन गर्न पुग्ने गरी स्पष्ट बहुमत हात पारेको छ।
बीएनपीले निर्वाचनबाट आफ्नो पक्षमा दुईतिहाइ बहुमत आएको दाबी गरेको छ। तर प्रतिद्वन्द्वी दल जमात-ए-इस्लामीले मतपरिणामबारे प्रश्न उठाएको छ।
संसद्का ३०० सीटका लागि भएको मतदानमा बीएनपीले १५१ स्थानमा जित हासिल गरिसकेको छ। यो विजयले पूर्वराष्ट्रपति जियाउर रहमान र पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमानलाई प्रधानमन्त्री बन्ने बाटो खोलिदिएको छ।
मतपरिणाममा दोस्रो स्थानमा रहेको जमात-ए-इस्लामीले मतगणना प्रक्रियाबारे प्रश्न उठाउँदै परिणामप्रति असन्तुष्टि व्यक्त गरेको छ। “मतपरिणामसँग सम्बन्धित प्रक्रियाप्रति हामी असन्तुष्ट छौँ,” उक्त दलले एउटा विज्ञप्तिमा भनेको समाचारसंस्था एएफपीले जनाएको छ।
यद्यपि बाङ्ग्लादेशको निर्वाचन आयोगले मतपरिणाम “निष्पक्ष र विश्वसनीय” भएको दाबी गरेको छ। “समग्रमा सबैको सहकार्यमा हामी स्वीकार्य निर्वाचन गराउन सफल भयौँ,” सबै मतदाता, नेता र सञ्चारकर्मीहरूलाई धन्यवादज्ञापन गर्दै प्रमुख निर्वाचन आयुक्त नासिर उद्दिनले भने।
सन् २०२४ मा बाङ्ग्लादेशमा तात्कालिक प्रधानमन्त्री शेख हसिना सत्ताच्युत हुने गरी भएको आन्दोलनपछि गठित अन्तरिम सरकारले अहिले निर्वाचनमा गराएको हो। यो निर्वाचनमा सहभागी हुने १७ वर्ष निर्वासनमा बसेका तारिक रहमान स्वदेश फर्किएका थिए।
परिणाम आफ्नो पक्षमा नआएपछि जमात-ए-इस्लामीले आफ्ना समर्थकहरूलाई धैर्य राख्न नह्वान गरेको छ।
मतदानपछि सञ्चारमाध्यमहरूले गरेका प्रक्षेपणमा पनि मध्यदक्षिणपन्थी बीएनपीले निर्वाचनमा ठूलो जित हासिल गर्ने देखिएको थियो।
अन्तिम मतपरिणाम शुक्रवार अबेरसम्म आइपुग्ने अपेक्षा गरिएको छ। स्थानीय प्रसारकहरूले बीएनपीले करिब दुईतिहाइ बहुमत ल्याउने अनुमान गरेका छन्।
हसिनाको अवामी लीग पार्टीलाई भने चुनाव लड्न प्रतिबन्ध लगाइएको थियो। उक्त दलले निर्वाचन बहिष्कार गर्न आह्वान गरेको थियो।








