छिमेकी देश भारतको पश्चिम बङ्गाल राज्यमा मानिसमा निपा भाइरसको सङ्क्रमण देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको अधिकारीहरूले बताएका छन्।

Advertisement

कोभिड महामारीको समयमा नेपाल-भारत स्थलसीमाका प्रवेशबिन्दु र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्थापना गरिएका स्वास्थ्य जाँच एकाइबाट अहिले निगरानी भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले बताए।

भारतीय अधिकारीहरूका अनुसार गत महिना पश्चिम बङ्गालमा सङ्क्रमण पुष्टि भएका दुई स्वास्थ्यकर्मीको सम्पर्कमा पुगेका झन्डै २०० जनाको निगरानी गरिएको थियो। तर उनीहरूमा उक्त भाइरस सरेको देखिएन।

भारतीय पक्षले नेपाललाई निपा भाइरस सङ्क्रमणको अवस्थाबारे ताजा जानकारी उपलब्ध गराउँदै आएको र नेपालले भारतलाई सीमानाकामा सतकर्ता कायम गर्न सहयोग गर्न अनुरोध गरेको अधिकारीहरूले बताएका छन्।

नेपाली अधिकारीहरूले सर्वसाधारण मानिसलाई सतर्कता अपनाउन अनुरोध गरेका छन्। उनीहरूका अनुसार नेपालमा अहिलेसम्म उक्त भाइरसबाट सङ्क्रमित भएका वा शङ्कास्पद लक्षण भएका व्यक्ति फेला परेका छैनन्।

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले स्वास्थ्य मन्त्रालयले पश्चिम बङ्गालमा देखा परेको निपा भाइरसबारे चासो भएका कारण नेपालको पूर्वी सीमामा अवस्थित काकडभिट्टा र भद्रपुर नाकाहरूमा स्वास्थ्य डेस्क राखिएको बताए।

“कसैलाई उच्च ज्वरो आएको देखिएको छ भने स्वास्थ्यसंस्थाहरूमा सिफारिस गरेर पठाउने गरेका छौँ। अहिलेसम्म त्यस्तो केही देखिएको छैन। हाम्रो सशस्त्र प्रहरी बलमार्फत् उनीहरू(भारत)लाई हामीले त्यताबाट आउने व्यक्तिहरूको अलिअलि निगरानी तपाईँहरूले पनि गरिदिनुपर्छ भनेका छौँ। उनीहरूबाट हामी पनि त्यसमा गम्भीर छौँ भन्ने कुरा भएको छ।”

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको तापक्रम परीक्षण गर्ने क्रमलाई निरन्तरता दिइएको त्यहाँका अधिकारीहरूले जनाएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतले भने, “कोभिडको बेलामा नै यात्रुहरूको तापक्रम नाप्ने उपकरण राखिएको थियो। त्यसबाट पार हुँदा कसैको शरीरको तापक्रम १०० डिग्रीभन्दा बढी देखिएको खण्डमा त्यहाँ रहेको स्वास्थ्यकर्मीको टोलीले अलग्गै राखेर सम्बन्धित व्यक्तिहरूसँग परामर्श गर्ने गर्छ।”

स्वास्थ्य मन्त्रालयका प्रवक्ताले शङ्कास्पद कोही पनि नदेखिएका र हालसम्म कसैलाई पनि “क्वारन्टीन, ट्रयाकिङ वा परीक्षण गर्नुनपरेको” बताए।

“इन्फ्लुएन्जा वा रुघाखोकीको लक्षण भएका १५ वटा नमुना हामीले प्रत्येक साता विदेशमा पठाउने नियम कायम राखेकै छौँ। ल्याबबाट पनि हामीले नियमित निगरानी गरिरहेका छौँ। अनि हेल्थडेस्कबाट पनि निगरानी गरिरहेका छौँ। तर त्यस्तो शङ्कास्पद केही देखिएको छैन।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here