हिन्दी सिनेमाका प्रख्यात अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा सोमवार निधन भएको छ। सोमबार अपराह्न उनको आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
बलिउड फिल्म निर्माता करण जोहरले अभिनेता धर्मेन्द्रको निधन भएको पुष्टि गर्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जलि व्यक्ति गरेका छन् ।
उनले भनेका छन्, ‘धर्मेन्द्रको निधनले एक युगको अन्त्य भएको छ।एउटा विशाल मेगास्टार, मुख्यधारको सिनेमाका एउटा सच्चा हिरोको पहिचान बनाउनु भएको उहाँ भारतीय सिनेमाको इतिहासमा सधैं चम्किरहनुहुनेछ।’
सन् १९३५ मा पञ्जाबमा जन्मिएका धर्म सिंह देओलले आफ्नो पुस्तैनी गाउँ नरसालीदेखि बम्बेसम्मको एउटा स्वप्निल सफल यात्रा गरे।
भारतमात्र होइन पाकिस्तानमा पनि धर्मेन्द्रका धेरै प्रशंसक छन्। त्यसमा पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफ पनि सामेल छन्।
धर्मेन्द्र आफैले किस्सा सुनाउँथे: “नवाज शरीफ भारत आएका बेला मेरो भेट भएको थियो। नवाज शरीफले आफ्नो परिवार मोटरमा कतै गइरहेका बेला धर्मेन्द्रको घर अगाडि कार रोकेर आफ्नी पत्नी र बच्चाहरूलाई ‘हेर त्यो धर्मेन्द्रको घर हो भनेका थिए’।”
अमिताब बच्चन, आमिर खानलगायत बलिउडका दिग्गज कलाकारहरू अन्तिम संस्कारका लागि विले पार्लेस्थित पवन हंस श्मशान स्थलमा पुगेका थिए ।
यसअघि धर्मेन्द्रको निवासमा एम्बुलेन्स सहितका गाडी र घर बाहिर सुरक्षा बढाइएको थियो।






