पुस्तक चर्चा: “पुस्तकले उर्जा र उत्प्रेरणा दिन्छ ।”


२५ श्रावण २०८२, शनिबार ०८:५९ मा प्रकाशित
  • कामना दुलाल//

पछिल्लो समय मैले खोजेर पढेको पुस्तक हो नबोल्ने कला । लेखक पत्रकार सन्तोष आचार्यद्वारा लिखित यो पुस्तक मानिसका दैनन्दिन जीवनमा अति आवश्यक तत्वहरुले परिपूर्ण छ । एउटा गुणस्तरीय जीवन जिउँनका लागि चाहिने कयौं कलाहरु मध्ये बोल्न र नबोल्न जान्नु निक्कै महत्वपूर्ण कला हो । यस पुस्तकले नबोल्ने र बोल्ने दुवै कलाका बारेमा निक्कै राम्रो ज्ञान दिएको छ । नबोल्ने कला केबल एउटा पुस्तकको शिषर्कमा मात्र सिमित छैन, यसले कैयौं मानिसहरूलाई जोश, उत्साह अनि उत्प्रेरणा प्रदान गर्छ । आफुमा विश्वास राख्न उत्प्ररित गरेको छ । पुस्तकले उर्जा भरेको छ र उक्साएको छ। नबोल्ने कला पुस्तकले मेरो आत्माविश्वासको स्तरलाई माथि उठाउन महत्वपूर्ण भूमिका खेलेको मैले महसुस गरेको छु ।

Advertisement

पढेका हरेक पुस्तकले जीवनमा केही न केही ज्ञान दिन्छन् । कुनैले जीवन बुझाउँछन्, कुनैले जीवन जिउनुको महत्वलाई दर्शाउँछन् । केहीले बोल्नुको फाइदा अनि आवश्यकता सिकाउँछन् केहिले नबोल्दा हुनसक्ने असहजतालाई औल्याएर बोल्दा ध्यानदिनु पर्ने कुराको ज्ञान दिन्छन्। यस्तै महत्वपूर्ण ज्ञान आर्जन गर्ने पुस्तक मध्ये मैले नबोल्ने कलालाई लिएको छु । पढेका पुस्तकमध्ये नबोल्ने कलाू त्यस्तो एक पुस्तक हो जस्ले बोल्नुको महत्व अनि तरिकाका साथै नबोल्नु या कम बोल्नको फाइदाका बारेमा वर्णन गरेको छ । बोल्नु नै सर्वपरी सफलता मान्ने हाम्रो समाजमा नबोल्नुको रहस्य पुस्तकले उजागर गरेको छ । नबोल्ने कलाले फरक धारण दिन सामर्थ्य राख्छ। नबोल्ने कलाले केवल नबोल्ने कलाको बारेमा मात्र नभएर कहाँ, कसरी, कस्तो अवस्थामा के बोल्ने भन्ने पनि मज्जाले सिकाको छ।

“अर्थ न ब्यर्थ गोविन्द गाई” भने झै कुन बेला के बोल्ने थाहा नभए के हुन सक्छ र त्यसले कस्तो असर पुर्याउन सक्छ भन्नेपनि उदाहरण पस्किएर पुस्तकले सुझाव दिएको छ। हाम्रो सामाजिक सोच, मानिसहरूको चिन्तन अनि आफुप्रतिको अविश्वासका कारण फ्यट्ट जवाफ फर्काउने स्वभाव धेरैको हुन्छ । यस्तो स्भावले कस्तो असर गर्छ थाह नहुन सक्छ । यस्तो बानीलाई आफ्नो कम्जोरिको रुपमा हेर्न पुस्तकले सिकाउँछ । सायद, मौनताको शक्तिका बारेमा जान्न अनि बुझ्न कहिल्यै पाइएनछ । नबोल्ने कला पढिसके पश्चात जीवनको बुझाई र मौनताको तागतलाई संगाल्न जानेकी छु । बोल्नै पर्ने सहि समयमा बोल्नुको महत्व नबुझेर जीवनमा धेरै अवसरहरू गुमाएकी रहेछु । आभारी छु, लेखक सन्तोष आचार्य र नबोल्ने कलाप्रति, जस्ले मेरो तागत प्रष्ट्इिदिएको छ र गल्लीहरू औल्याइदिएको छ । जीवनमा आइपर्न सक्ने कैयौं परिस्थितिसँग जुध्न सहज होस भनि फरक फरक तरिकाहरूसँग परिचय गराइदिएको छ।

पुस्तकमा आजको डिजिटल युगलाई केन्द्रबिन्दु बनाएर आम मानिसहरू र विशेष गरेर हामी जस्ता युवा विद्यार्थीहरुलाई आजको डिजिटल विश्वबारे सरल तरिकाले गहिरो जानकारी पस्किएको छ। पुस्तक पढिरहदा लाग्यो एउटा सानो बच्चा जो भर्खर हिड्न खोज्दै छ, खुट्टाको पाइला अगाडी बढाउन खोज्दै छ उसलाई उस्को अभिभावकले सरल र सहज वातावरण बनाइदिए जस्तो अनि हरेक पाइलामा आट, ढाडस दिएर म छु है सम्हाल्न तिमी नडराई अघि बढ भने जस्तो सिकाउछ । आदरणीय लेखकले पनि हामी भर्खरै सिक्दै अनि बुझ्दै अगाडी बढिरहेका युवा विद्यार्थीहरुलाई यहि पुस्तकको माध्यमबाट अभिभावकत्व प्रदान गर्न सफल हुनु भएको छ । मैले सोचे र अपेक्षा राखे भन्दा धेरै कुराहरू पुस्तकमा समावेश रहेछ । पुस्तकले अबका दिनमा सधै साथ र सहयोग प्रदान गर्ने विश्वास मैले लिएकी छु । पुस्तकको भाषा शैली सरल छ । लेखकले आफ्नो ज्ञान र अनुभवलाई सजिलो तरिकाले पस्कनु भएको छ । जसले जीवनमा सधै साथ दिने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here