माघ २६, मेचीनगर ।। अन्तर्राष्ट्रिय स्तरको गोल्डकप प्रतियोगिता पाँचौं चरणको मेचीनगर गोल्डकप फागुनको अन्तिम साता काँकरभिट्टामा आयोजना हुने भएको छ ।
बिगतमा यो गोल्डकपलाई काँकरभिट्टा गोल्डकप भनिदै आएको थियो । यस पटकबाट मेचीनगर गोल्डकपका रुपमा आयोजना हुने आयोजक संस्था काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले आज एक कार्यक्रमको आयोजना गरी जानकारी दियो ।
प्रतियोगिता फागुन २१ देखि २८ गतेसम्म काँकरभिट्टा माविको खेल मैदानमा सञ्चालन हुने भएको हो ।
पाँचौ चरणको मेचीनगर गोल्डकप प्रतियोगिताको आयोजना काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले गर्नेछ । आयोजकले शनिवार जनप्रतिनिधि, राजनीतिक दलको नेतृत्व, खेल संस्थाका अगुवा र पत्रकारहरुको भेलामा प्रतियोगिता बारेमा जानकारी दिएको छ ।
भेलाले कोशी प्रदेशका पूर्व सांसद् श्रीप्रसाद मैनालीलाई मूल आयोजक समितिको अध्यक्ष बनिदिन आग्रह समेत गरेको छ ।
काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष दिनेश ओलीले प्रतियोगिताका लागि रु। ७८ लाख ५८ हजार एक सयको अनुमानित बजेट प्रस्तुत गर्नु भएको थियो ।
प्रतियोगितामा काठमाडौंको ए डिभिजनका ४ वटा क्लब सहित आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर, मोफसलका ए डिभिजन क्लब र विदेशी २ टिम गरी जम्मा आठ टिमको सहभागिता रहने उहाँले बताउनुभयो ।
बिजेता टिमलाई नगद रु। १० लाख सहित ट्रफी मेडल र प्रमाणपत्र दिइने र उपविजेतालाई नगद रु। पाँच लाख दिइने उपाध्यक्ष अशोक राईले बताउनुभयो ।
संविधानसभा सदस्य रविन कोइराला प्रमुख अतिथि रहनु भएको भेलामा प्रदेश सभाका पूर्व सदस्य श्रीप्रसाद मैनाली, झापा खेलकुद विकास समितिका अध्यक्षद्वय शंकर थापा र चन्द्र ओली, काँकरभिट्टा क्याम्पसका अध्यक्ष दुर्गा सापकोटा, नेकपा एमाले मेचीनगरका अध्यक्ष राजु कार्की, नेपाली कांग्रेस मेचीनगरका सभापति सुदय पनेरु, खेलकुद पत्रकार सचिन सुब्बा लगायतले सुझावसहितको मन्तब्य व्यक्त गर्नु भएको थियो ।