पुस २९, काठमाडौं । आजदेखि वैदिक सनातन धर्मावलम्बीको विधिपूर्वक माघ स्नान, श्रीस्वस्थानी व्रत एवम् कथा वाचन शुरु हुने भएको छ ।
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना श्रीस्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटेर स्नान गरी शुद्ध वस्त्र लगाएर यसको शुरुवात् गरिन्छ ।
यसै क्रममा बिहान माघ स्नान गरी मध्यान्हकालमा महादेवको पूजा आराधना गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको श्रीस्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा रहेको छ ।
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिनाको समयमा नेपालका विभिन्न शक्तिपीठहरुको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अंग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा शुरु भएको हो ।
यो विधि अनुसार एक महिनासम्म व्रत गरी अन्तिम दिन अर्थात् माघ शुक्ल पूर्णिमाका दिन भगवतीलाई (सबैकुरा) १०८ वटा- जनै, सुपारी, पान, फूल, रोटी, अक्षता, विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाइन्छ ।
यस अवसरमा आजदेखि एक महिनासम्म साँखुको शालीनदीमा माधवनारायणको मेला लाग्ने भएको छ । माघ महिनामा शालीनदीमा स्नान गरि माधवनारायणको दर्शन गरेमा पाप पखालिएर पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।