पुस २९, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबीच फोनवार्ता भएको छ । उनीहरूबीच गाजा युद्धविराम र बन्धकहरूको रिहाइका लागि जारी वार्ताका बारेमा कुरा गरेको बताइएको छ ।
यो वार्ता डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हाल्नुअघि सहमतिमा पुग्ने अन्तिम प्रयासको हिस्सा रहेको बीबीसीको समाचारमा उल्लेख छ ।
ह्वाइट हाउसका अनुसार फोनवार्ताका क्रममा राष्ट्रपति बाइडनले हमासद्वारा बन्धक बनाएका मानिसहरूको रिहाइ र तत्काल युद्धविराम गर्न जोड दिएका थिए ।
अमेरिकी राष्ट्रपति बाइडनले गाजामा मानवीय सहायता बढाउनु पर्ने आवश्यकताबारे पनि कुरा गरेका छन् ।
यो वार्ता नेतान्याहुको प्रयासमा भएको बताइएको छ । जसमा नेतान्याहुले आफूले वार्ताका लागि कतारमा वरिष्ठ प्रतिनिधिमण्डल पठाएको बताएका थिए ।
शनिबार ट्रम्पका मध्यपूर्व राजदूतले प्रधानमन्त्री इजरायली नेतान्याहुसँग भेट गरेका थिए । ट्रम्पले आफूले राष्ट्रपतिको कार्यभार सम्हानुअघि नै बन्धकहरूलाई रिहा गर्नुपर्नेमा जोड दिएका छन् । नभए ‘विपत्ति’ आउने उनको चेतावनी छ ।