दक्षिण कोरियामा भएको विमान दुर्घटनामा कम्तीमा ४७ को ज्यान गएको विवरण


१४ पुष २०८१, आईतवार ०९:१६ मा प्रकाशित

दक्षिण कोरियामा १८१ यात्रु बोकेको एउटा विमान एउटा विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा कम्तीमा ४७ जनाको ज्यान गएको योन्हाप समाचार संस्थाले जनाएको छ।

Advertisement

उक्त विमान रन वेबाट उछिट्टिएको थियो र देशको दक्षिण पश्चिममा पर्ने मुआन अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालमा ठोक्किएको थियो।

जिजु एअरको उक्त विमानमा १७५ जना यात्रु र ६ जना चालक दलका सदस्य थिए। सो विमान थाइल्यान्डको ब्याङ्ककबाट फर्किरहेको थियो र उक्त दुर्घटना अवतरणको समयमा भएको विवरण आएका छन्।

केही व्यक्तिको जीवितै उद्धार गरिएको छ र उद्धार प्रयासहरू जारी रहेको एक जना अग्नि नियन्त्रकले रोएटर्स समाचार संस्थालाई भनेका छन्।

एक जना विमानस्थलका अधिकारीले विमानको पछिल्लो भागबाट मानिसहरूलाई उद्धार गर्ने प्रयास भइरहेको जनाएका छन्।

सो विमानमा १७३ जना दक्षिण कोरियाका नागरिक र दुई जना थाई नागरिकहरू रहेका योन्हापले जनाएको छ।

दुर्घटनाको कारण खुलेको छैन तर स्थानीय सञ्चारमाध्यमहरूले विमानको प्रणालीमा चराले क्षति पुर्‍याउँदा यस्तो भएको हुनसक्ने विवरणहरू प्रकाशित गरिरहेका छन्।

प्रमाणित हुननसकेका भिडिओहरूमा एउटा विमान रन वेबाट हुत्तिएर बाहिरिएको र आगो लाग्नुअघि पर्खालमा ठोक्किएको देख्न सकिन्छ।

अरू भिडिओहरूमा कालो धुँवाको ठूलो लप्का आकाशतर्फ उडेको देख्न सकिन्छ।

कोरियाको अग्नि नियन्त्रण निकायका अनुसार ८० जना अग्नि नियन्त्रक र ३० भन्दा बढी दमकल घटनास्थलमा खटिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here