पुस १२, झापा ।। काँकरभिट्टाका पुराना पहिलो पुस्ताका समाजसेवी ढाकाप्रसाद भट्टराईको हिजो बिहिवारका दिन निधन भएको छ ।
मेचीनगर–६, काँकरभिट्टा शान्ति गाउँ निवासी ८० वर्षीय भट्टराईको विहीबार दिउँसो ३ः४५ मा निजी निवासमा निधन भएको हो ।
लामो समयदेखि दम रोगबाट पीडित भट्टराईलाई ३ दिनअघि बिर्तासिटी अस्पताल बिर्तामोडमा भर्ना गरिएको थियो ।
अस्पतालमा उपचार सम्भव नभएपछि विहिवार दिउँसो ३ वजे घर ल्याइएको भाइ केन्द्रप्रसाद भट्टराईले जानकारी दिए । दिउँसो ३ः४५ मा घरैमा निधन भएको उनले बताए । आज स्थानीय मेची खोलाको गंगा घाटमा अन्त्यष्टि गरिने पारिवारिक स्रोतले बताइएको छ ।
उनका श्रीमति मनमाया, ४ जना छोरीहरु तारा निरौला, चन्दा न्यौपाने, अम्रिता घिमिरे र रुक्षा रिजाल तथा धर्म छोरा अविनाश पराजुली छन् ।
भट्टराई काँकरभिट्टाका पुराना परिचित लेखनदास हुन् । उनी झापा जिल्ला अदालतबाट १९ नम्बरका दर्तावाला लेखनदास थिए ।
भट्टराईले संविधान सभाबाट संविधान जारी हुन नसकेको समयमा संविधान सभालाई सुझाव हुने गरी संविधानको खाका प्रस्तुत गरेका थिए । उनले निर्माण गरेको संविधान २०७२ असोज ४ गते नेपालको संविधान जारी भएको भोलिपल्ट पत्रकार सम्मेलन गरेर संविधानको सार्वजनिक गरेका थिए ।
भट्टराईले काँकरभिट्टामा निजी क्षेत्रबाट पहिलो पटक सार्वजनिक रुपमा सर्वसाधारणलाई टेलिफोनको सेवा प्रदान गरेका थिए ।
भट्टराईको निधनबाट काँकरभिट्टाले एक अभिभावक तथा असल समाजसेवी गुमाएको छ । सोकको यस घडिमा विचारमञ्च डटकम परिवार भट्टराईप्रति भावपूर्ण श्रद्वाञ्जली अर्पण गर्दछौँ ।