पुस १२, काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबार साँझबाट नेपालका धेरै स्थानहरूमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सो प्रणालीको प्रभावले गर्दा शुक्रबारदेखि शनिबारसम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश स्थानहरूमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरू र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा तथा गण्डकी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै उक्त मौसम प्रणालीको असरले तापक्रम समेत घट्न गई चिसो बढ्न सक्ने सम्भावना रहेको छ । आइतबारबाट भने मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।
तसर्थ, वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई/यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।