कार्यवाहकको कब्जामा रास्वपा, तीन जना भए कार्यवाहक


९ पुष २०८१, मंगलवार १७:५८ मा प्रकाशित

पुस ९, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तीन महत्त्वपूर्ण पदको नेतृत्वमा कार्यवाहक तोकिएका छन् ।

Advertisement

रास्वपाले तत्कालीन महामन्त्री डा. मुकुल ढकाललाई कारबाही गरेर कविन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र मनिष झालाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी दिएको थियो ।

अहिले पार्टी सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दर्ता भएपछि डीपी अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको छ ।

सोमबार बसेको पार्टीको सचिवालय बैठकमा लामिछानेमाथि मुद्दा दर्ता भएको भन्दै अर्याललाई कार्यवाहक सभापति तोक्ने निर्णय भएको जानकारी गराइएको थियो ।

‘पार्टी सभापति रवि लामिछानेविरुद्ध विभिन्न अभियोग लगाई सरकारले जिल्ला अदालत कास्कीमा दर्ता गरेको मुद्दाको विषयमा संक्षिप्त ब्रिफिङ गरियो, उक्त सम्बन्धमा सम्मानित अदालतको न्यायिक प्रक्रियालाई पूर्णरूपमा सघाएर जाने निर्णय गरियो’, कार्यवाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टी विधान २०७९ (संशोधन २०८१) को धारा २५ (४) (क) (९) बमोजिम ६ पुसमा सभापतिले उहाँलाई कार्यवाहक सभापति ताकिएको व्यहोराको पत्र जिल्ला अदालत कास्कीको रोहबरमा कार्यवाहक महामन्त्रीमार्फत केन्द्रीय समितिलाई जानकारी गराइएको छ ।’

पार्टीका तत्कालीन महामन्त्री ढकाललाई २० असार २०८१ मा रास्वपाले पदबाट निलम्बन गरेको थियो । पछि अनुशासनहीन व्यवहार गरेको भन्दै थप कारबाही गरेको थियो । उनले देशभर घुमेर रास्वपाको स्थितिबारे समीक्षा यात्रा प्रतिवेदन तयार पाएका थिए ।

तर, त्यसबारे कुरा राख्न नपाएको, पर्याप्त छलफल नभएको भन्दै उनी केन्द्रीय समिति बैठकमा कालो टेप लगाएर समेत बसेका थिए । पछि आफूलाई ‘ह्यारेसमेन्ट’ गरिएको भन्दै बैठकको बीचबाटै उनी बाहिरिएका थिए । मिडियाकर्मीहरूसँग कुरा गर्दै उनले पार्टी सभापति रवि लामिछानेको कार्यशैलीमाथि प्रश्न उठाएका थिए ।

पहिले गोर्खा मिडियामा भएको गलत कामको दोष जीबी राईलाई लगाएका लामिछानेले अहिले पार्टीमा आफूलाई दोष थुपारेर उम्किन खोजेको ढकालले बताएका थिए । पार्टीको महामन्त्री प्रबन्ध निर्देशक (रवि गोर्खा मिडियामा त्यही पदमा थिए) जस्तै पद भएको भन्दै उनले भने, ‘हिजो जीबी राईको गल्ती, आज महामन्त्रीको गल्ती । मैले चाहिं कहिल्यै गल्ती गर्दिनँ भन्ने व्यवहार सभापतिले देखाउनुभएको छ ।’

यसपछि उनको महामन्त्री र प्रवक्ताको जिम्मेवारी खोसिएको थियो । पहिले मुकुल रविको विश्वास पात्रका रूपमा चिनिन्थे । रविलाई सघाउन उनी अस्पतालको जागिर छाडेर राजनीतिमा आएका थिए । २०७९ सालमा उनी ललितपुरको मेघा अस्पतालमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) थिए ।

कालिकोटमा रास्कोट अस्पताल बनाउने योजना पहिले उनकै थियो । लामिछानेलाई उनले त्यसबारे सुनाएपछि दुई जनाको दोस्ती बढेको थियो ।

लामिछानेले टेलिभिजन कार्यक्रम छाडेर २०७९ असारमा रास्वपा स्थापना गर्नुअघि उनीसँग पार्टी राजनीतिमा आउन प्रस्ताव गरे । अस्पतालको जागिर छाडेर आफूलाई साथ दिएपछि लामिछानेले मुकुललाई महामन्त्रीको महत्त्वपूर्ण जिम्मेवारी समेत दिए ।

रास्वपाले मंसिरको चुनावमा अप्रत्यासित सफलता हात पार्‍यो । प्रत्यक्षतर्फ ७ सिट जितेको रास्वपा २१ सांसदसहित प्रतिनिधिसभाको चौथो ठूलो दल बन्यो । रास्वपामा सभापति लामिछाने र महामन्त्री ढकालको जोडी जम्यो ।

तर, योबीचमा लामिछाने सहकारी ठगीको मुद्दामा हिरासतमा पुगिसकेका छन् भने ढकालले लामिछानेको कार्यशैलीमाथि प्रश्न उठाउँदै पार्टीबाट बाहिरिइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here