सरकारबाट बाहिरियो एमाले : फत्तेमानको गीत गाए प्रचण्डले


२० असार २०८१, बुधबार २१:०२ मा प्रकाशित

असार १९, काठमाडौं । नेकपा एमालेका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सामूहिक राजीनामा बुझाएका छन् ।

Advertisement

एमाले र कांग्रेसबीच नयाँ सरकार गठन गर्ने सहमति भएपछि मन्त्रीहरु राजीनामा पत्र बोकेर बुधबार साँझ बालुवाटार पुगेका थिए ।

उनले एमालेका मन्त्रीहरुको एक एक गरेर राजीनामा बुझे । एमाले मन्त्रीहरुको राजीनामा बुझेपछि प्रचण्डले धेरै टिप्पणी गरेनन् ।

एउटा कुरा मात्र भन्छु भन्दै उनले फत्तेमान राजभण्डारीको गीत गाए, यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैले कैले, कसैलाई माया गर्नु एउटा भुल गरे मैले ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै नेतृत्वमा नयाँ सरकार गठन हुने निश्चित भएपछि पार्टीबाट मन्त्रीहरुलाई बुधबार साँझ बालकोटस्थित निवासमा बोलाएर राजीनामा दिन भनेका थिए । लगत्तै मन्त्रीहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर राजीनामा बुझाएका हुन् । वर्तमान सरकारमा एमालेबाट आठ जना मन्त्री थिए ।

उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी , कृषिमन्त्री ज्वालाकुमारी साह, भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, उद्योगमन्त्री दामोदर भण्डारी, महिलामन्त्री भगवती चौधरी, खानेपानी मन्त्री राजेन्द्र राई र रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राजीनामा दिएका हुन् ।

संविधानको धारा ७६ (२) अनुसार सरकार बनाउन आवश्यक बहुमत जुटिसकेको भन्दै एमाले र कांग्रेस दुवैले प्रधानमन्त्री दाहाललाई पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले यो राजीनामा आफूले भोलि स्वीकृत गर्ने बताएका एक मन्त्रीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here