बौद्ध धर्म र राजनीति


२९ चैत्र २०७९, बुधबार ०९:२६ मा प्रकाशित

प्रसिद्ध भियतनामी भिक्षु ठिक नाट हान (Thich Nhat Hanh)ले अमेरिकाको बारेमा एक ठाउँ कस्तो राम्रो  टिप्पणी गरेका थिए, अमेरिकाको पूर्वी तटमा स्वतन्त्रताको प्रतिमा त छ तर पश्चिमी तटमा कर्तव्यको प्रतिमा पनि हुनु जरुरी छ। ‘कर्तव्य बिनाको स्वतन्त्रता भनेको वास्तविक स्वतन्त्रता होइन |’

 by- टंक कार्की

Advertisement

१. विषय प्रवेश
यस संगोष्ठीका आयोजक साथीहरुले मलाई बुद्धिज्म/बौद्ध धर्म र राजनीतिका बारेमा चर्चा गर्न भन्नु भएको थियो। म आफै भने मार्क्सवादको विद्यार्थी र अनुशीलनकर्ता । उसैगरी राजनीति शास्त्र मेरो अध्ययन होइन, अभ्यास मात्रै हो | साथिहरुले म माथि गरेको अपेक्षामा म कति न्याय गर्न सक्छु, द्विविधा त छ नै। मैले ठानें विज्ञता नभए पनि आफुमा परेको छाप पस्किन सकिएछ भने त्यो राम्रै होला। यसर्थ पनि प्रस्तुत आलेख मेरो परिपाठ होइन, फगत ममा परेको छाप भनेर बुझिदिनु भयो भने त्यो चाहिँ मेरो निम्ति ठूलो न्याय हुने छ। यो मेरो सीमा हो। 

आधुनिक राजनीति शास्त्रका मुल्य र बौद्ध धर्मका राजनीतिक प्रस्तावनाको तुलनात्मक अध्ययन यो आलेखमा म प्रवेश गरेको छैन। यति हुँदाहुँदै पनि बौद्ध धर्म र मार्क्सवादको अन्तरसम्बन्धबारे संक्षिप्त चर्चा भने गरेको छु। मैले यहाँ, मुख्यतया बौद्ध धर्मको राजनीति बारेमा चर्चा गरिरहँदा त्यसका दुई आयाम गृह नीति र वैदेशिक नीतिमा प्रकाश पार्ने कोशिस गरेको छु।

२. बौद्ध धर्ममा राजनीतिको स्थान
त्यसो त धेरैलाई लाग्न सक्छ, बौद्ध धर्म धर्म शास्त्र हो, धार्मिक साधना हो, राजनीति शास्त्र होइन। फेरि पनि बौद्ध वाङ्‍ राजनीति शास्त्रमा सरोकार राख्ने प्रसङ्ग यत्र तत्र अभिलेखन भएको पाइन्छ। तिनको अध्ययनबाट थाह हुन्छ यो राजनीति-निरपेक्ष या प्रतिकृयाविहिन धर्म होइन | उसो त बौद्ध धर्ममा धर्मलाई अन्यथा भन्दा पनि प्राकृतिक काइदा कानून (Laws of Nature)को अनुसरणको रुपमा अर्थ्याइन्छ। राजनीति यसको प्रत्यक्ष हस्तक्षेप र प्राथमिकताको विषय होइन। परन्तु राजनीतिमा यसको चासो छ र अपेक्षा छन्। ती कहाँ कसरी अभिव्यक्त भएका छन्त्य, त्यसलाई मैले यहाँ सकेसम्म कोट्याउने काम गरेको छु। यस्ता केही प्रसङ्ग मैले तल प्रस्तुत गरेको छु जसले मलाई बुद्धिज्मको राजनीतिक आयाम बुझ्न धेरै मदत गरेको छ।

२.१ गृह नीति
गृह नीति चर्चा गरिंदा यो मुलत: राज्य सन्चालनको क्रममा शासकको धर्म, उसको कार्यदिशा र प्राथमिकता र प्रतिवद्धताको विषय आउँछ। यस विषयमा बौद्ध वाङमयमा जो उल्लेख पाइन्छ त्यो अरु विषयमा जस्तो उस्तो विस्तृत र व्यापक रुपमा नभएर कहीं कतै संक्षिप्त रुपमा उल्लेख भएको पाइन्छ। त्यो पनि उतिखेरको आम प्रचलनमा रहेको राजतन्त्रात्मक शासनप्रणालीको परिप्रेक्षमा रहेर। 

२.१.१ राजा/शासकको धर्म

यसबारेमा बौद्ध साहित्यमा अलिक विस्तृत चर्चा महावस्तुमा गरिएको छ। प्रस्तुत आलेखमा त्यसका मुख्य मुख्य अंश उल्लेख गरिएका छन्।

भनिन्छ, महावस्तु ईसा पुर्व दोस्रो शताब्दीमा लेख्न थालियो र त्यसमा थप्ने क्रम ईस्वीको चौथो शताब्दी सम्म कायम रह्यो। यो काल खण्डमा बुद्धका विचारको व्याख्या गर्ने र रंग पोत्ने काम भयो।अमहावस्तुमा बोधिसत्वहरु बीच विकास भई रहेका विचारहरुको संकलन छ | त्यसमा श्रुतिमा आधारित कतिपय प्राचिन कथा, परम्परा र बौध मूल ग्रन्थका अनुच्छेद संरक्षण गरिएका छन्।

महावस्तुमा काशीका राजा ब्रह्मदत्तलाई राजाको धर्म बारे त्रिपंक्षीले – लाटकोसेरो, सारिका र सुँगाले दिएको दीक्षाको प्रसङ्ग छ। त्यहाँ तिनले बताए अनुसार

‘राजा क्रोधको वशमा कदापि पर्नु हुन्न। उसले त बरु त्यसलाई कावुमा राख्नु पर्दछ, किनभने आक्रोसमा न आफ्नो हित साधना हुन्छ न त कर्तव्य नै। … विवाद उत्पन्न हुँदा राजाले दुवै पक्षको फिराद उत्तिकै मनन गर्नु पर्दछ, उनीहरुका तर्क सुन्नु पर्दछ। अनि मात्र जे सही हो त्यसको फैसला गर्नु पर्दछ। उ पक्षपाति हुनुहुन्न, भय, घृणा या मूर्खताले काम पनि गर्नु हुन्न। … राजपाटलाई तन्दुरुस्त राखिरहँदा सारा प्रजालाई खुसवहाल राख्न कुनै कसर बाँकी राख्नु हुन्न। हिंसाजन्य कर्मबाट उ जोगिनु पर्दछ र उसले पुनित कर्म गरे प्रतिफल निस्कन्छ भन्ने देखाउन सक्नु पर्दछ। परिणाममुखि हुनुपर्दछ। पूर्ववर्ती राजाहरुले आफ्नो राज्यमा अन्यत्रबाट आउने प्रजालाई आश्रय  गराए जस्तै  (आजका) राजाले आप्रवासीहरुलाई आश्रय दिनु पर्दछ। … राजाले हरेक विषयमा लम्बेतान प्रवचन दिनु हुँदैन बरु उनले त उपयुक्त समयमा उपयुक्त फैसला सुनाउनु पर्दछ |… सर्वदा गरिवलाई विशेष महत्ता दिंदादिदै पनि आफ्ना धनी प्रजालाई पनि संरक्षण गर्न भुल्नु हुँदैन।

न्यायोचित ढंगले जो जियेका छन् तिनको संरक्षण गर। किनभने सत्ताको चक्र न्यायको चक्रमा टिकेको हुन्छ (बल चक्रम् हि निश्रय धर्म चक्रम् प्रवर्तते।) कोही अनैतिक, झगडालु वा अधम छ भने उसलाई गाउँको या प्रदेशको मुखिया बनाउने काम कुनै हालतमा नगर – ती तिम्रै भाइ छोरा या आफन्त किन नहुन। शासक या सत्ताको निम्ति मुर्ख या लालची मन्त्रीको कुनै प्रयोजन छैन। त्यसैले यस्ता मन्त्रि नियुक्त गर जो लालची होइन विवेकशील छन्, परामर्शको काममा दत्तचित्त भएर लाग्छन् र सत्तालाई बाटो देखाउन सक्छन्। तिम्रा आँखा गुप्तचरको जस्तो तिख्खर न हुन सक्छन् | त्यसैले आफ्ना समस्त क्रियाकलापमा मदत पुग्ने गरी तिनलाई ठाउँ ठाउँमा भर्ति गर।’*

शासकमा प्रज्ञा र शील/सदाचार दुवै हुनु पर्दछ। उसमा न्यायिक भावना पनि उत्तिकै बेजोड हुनु पर्दछ। बौद्ध शास्त्रमा कोरिएको राजनीतिको लक्ष्मण रेखा भनेको नै :

बल चक्रम् हि निश्रय धर्म चक्रम् प्रवर्तते |

*सन्दर्भ सामाग्री: THE MAHAVASTU
VOLUME I ,
Translated by : J. J. JONES, 1949 )

२.१.२ राज्यले अपव्यय होइन  उत्पादनशील क्षेत्रमा लगानी गर्नु पर्दछ

गौतम बुद्धले कुटदन्त ब्राह्मणलाई सुनाएको एउटा कथा म यहाँ उल्लेख गर्न चाहान्छु। यसमा पनि बुद्धले राज धर्मबारे आफ्ना धारणा प्रस्तुत गरेका छन्।

पूर्व कालमा महाविजित नामका एक राजा थिए। एक दिन उनलाई अनायस एउटा विचार फुर्‍यो कि किन म एउटा महा यज्ञ न गरौं, राज ढिकुटी खन्याउन मलाई कुनै गाह्रो छैन | यसले गर्दा मेरो यश युग युगसम्म कायम रहोस्। राजाले पुरोहित ब्राह्मणलाई बोलाएर भने, यो यज्ञ सम्पन्न गर्नु पर्‍यो।

पुरोहितले सल्लाह दिए, ‘महाराज राज्य संकटमा छ। गाउँमा यत्रतत्र चोरी डकैती भइरहेको सुनिन्छ। दिन दहाडै  बाटाघाटामा लुटपाट हुन्छ। यस्तो संकटको बेला पनि मौसुफ कर उठाई रही बक्सेको छ। यसले गर्दा मौसुफ अकृत्यकारी  होइबक्सेको छ। मौसुफलाई लाग्दो हो, ‘ डाकुहरुको दुर्गलाई त म भताभुङ्ग बनाउन सकिहाल्छु नि ! तर मौसुफ जे काम गर्न चाही बक्सेको छ त्यसबाट उनीहरुलाई तह लगाउन सजिलो छैन। जो मारिनबाट बच्छन् तिनले पछिबाट जनपदमा गएर तर्साउन थाल्छन्। तिनलाई समन गर्ने उपाय अर्कै छ।  जो जनपदमा खेतिपाती गर्न चाहन्छन् बरु तिनलाई सहुलियत दिई बक्सियोस्। जो वाणिज्य, उद्यम गर्न चाहन्छ उसलाई पुँजी बक्सियोस्। सरकारी कर्मचारीहरुको उत्साह भरेर काम लिनको निम्ति उनीहरुलाई राम्रो तलव भत्ताको व्यवस्था मिलाई बक्सियोस्। यस प्रकार जनता आफ्नो काममा दत्तचित्त भएर लाग्छन्। जनपदलाई सताउने पनि कोही हुँदैन। राज्य पनि धनधान्य हुने छ। देशमा अमनचैन हुनेछ। अनि भने प्रजा पनि आफ्ना लालाबालालाई गोदमा खेलाउँदै, घरको ढोका खुला राखेर विहारमा निस्कन सक्ने छन्। ***

यस कथा मार्फत बुद्धले शासकले राज्यको दुर्लभ र सिमित साधन श्रोतलाई अपव्यय नगरी उत्पादनशील क्षेत्रमा लगाउनु पर्ने सुझाव दिएका छन्। हाम्रो अहिलेको यथा हालमा यस सुझावको कत्रो महत्व छ त्यसबारे मैले छुट्टै परिपाठ लगाइराख्नु कुनै जरुरी छैन।

***श्रोत: दीध-निकाय, कुटदन्त-सुत्त

२.१.३ लोकतान्त्रिक मुल्यको महत्ता
उ जमानाको कुरो हो। सिद्धार्थ बुद्ध मगधको राजधानी राजगृहको नजिकै गृध कूट पर्वतमा ठहर्नु भ’कोथ्यो। उता मगध नरेश अजात शत्रुले भने वज्जीहरु माथि आक्रमणको योजना बुनी रहेका थिए। त्यो योजनामा बुद्धको राय, सुझाव लिएर मात्रै चढाइ गर्ने सोच नरेशले बनाए। यस प्रयोजनको निम्ति नरेशले आफ्ना प्रधानमन्त्री वर्षाकारलाई बोलाएर भने, ‘ वर्षाकार ! तिमी भगवान बुद्ध कहाँ जाऊ र वहाँलाई मेरो तर्फबाट नमन गर्नु र वहाँको  कुशल क्षेम सोधी सके पछि भगवानलाई मगध नरेश वज्जीहरु माथि आक्रमण गर्ने सोचमा हुनुहुन्छ, तपाईंको के राय छ ? भनेर सोध। उनले जे भन्छन् त्यसलाई ध्यान पुर्वक सुन्नु र आएर मलाई जस्ताको तस्तै फेहरिस्त सुनाऊ |’

वर्षाकार बुद्ध कहाँ गए र उनलाई नमन गरेपछि राजाको सन्देश सुनाए | बगलमा बसेका आनन्दलाई बुद्धले वज्जीहरुलाई आफुले दिएको उपदेशको संझना गर्दै सोधे :

  1. ‘आनन्द ! मैले वज्जीहरुलाई उ बेला सम्झाको थिएँ कि तिमीहरु बेला मौकामा बैठक बस, विना दाउपेंच, विना दवाव खुला खुलस्त छलफल गर, सामुहिक निर्णय लेऊ र कार्यन्वयन गर। आनन्द ! के तिनीहरु यसको अनुशरण गरी रहेका छन् ?’ आनन्दले प्रत्युत्तरमा भने, ‘भगवान ! मलाई सूचना छ कि हजुरको उपदेश उनीहरु आजसम्म जस्ताको तस्तै तामिल गरिरहेका छन्।’
  2. ‘आनन्द ! मैले वज्जीहरुलाई सल्लाह दिएको थिएँ कि कुनै पनि युवतीलाई जोर जवरजस्ती कुलवधु बनाउने काम नगर्नू र महिलाहरुको सम्मान गर्नू। के तिनीहरुले  यसको उल्लङ्घन त गरेका छैनन् ?’ आनन्दले विन्ति बिसाए, ‘हो, भगवान मलाई सूचना छ कि हजुरको उपदेश उनीहरु आजसम्म जस्ताको तस्तै तामिल गरिरहेका छन्।’
  3. आनन्द ! मैले वज्जीहरुलाई सम्झाको थिएँ, पाका, वरिष्ट र जेष्ठहरुको आदर सम्मान र मानमनितो राख्नू, उनीहरुका आवश्यकता वारे ख्याल राखी राख्नू ताकि उनमा असन्तुष्टि नआओस्। के कतै यसमा तल वितल भ’को त छैन ?’ आनन्दले प्रत्युत्तरमा भने, ‘ भगवान ! मलाई सूचना छ कि हजुरको उपदेश उनीहरु आजसम्म जस्ताको तस्तै तामिल गरिरहेका छन्।’
  4. ‘ आनन्द ! मैले वज्जीहरुलाई सम्झाको थिएँ कि राज्यमा भ्रमण गर्ने सन्त, सन्यासीहरुको खातिरदारी गर्नू ताकि उनीहरु आकर्षित भई रहुन्। उनीहरु समाजमा नैतिक आधार बलियो बनाउने श्रोत हुन्। के बज्जीहरु यो काम गरी रहेका छन् ?’ आनन्दले प्रत्युत्तरमा भने, ‘ भगवानले उनीहरुलाई जस्तो उपदेश भ’को थियो त्यो आजसम्म जस्ताको तस्तै तामिल भ’को मलाई सूचना छ।’
  5. ‘आनन्द ! मैले वज्जीहरुलाई सम्झाको थिएँ, तिमीहरुले लोक धर्मको अनुशरण गरी रहनू | के तिनीहरु यो काम आज पनि गरी रहेका छन् ? आनन्दले प्रत्युत्तरमा भने, ‘ भगवानले उनीहरुलाई जस्तो उपदेश भ’को थियो त्यो आजसम्म जस्ताको तस्तै तामिल भ’को मलाई सूचना छ |

अनि भने बुद्धले वर्षाकारलाई भने, ‘ त्यसो हो भने वज्जीहरुको अग्रगमनमा कसैले भाँजो हाल्न सक्दैन। तिनको विरुद्धमा कसैले केही  लछारपछार लाउन सक्दैनन्।’~

उति अगाडि यति सुसंगत लोकतान्त्रिक तथा जनता केन्द्रित विचार पूर्वीय विचार प्रणालीमा विद्यमान थियो।  यस्ता प्रसङ्गहरुले बुद्धिज्मको, व्यापक आयामलाई मात्रै सतहमा ल्याउदैनन्, पूर्वेली, एशियायी शासन पद्धति स्वेच्छाचारी (despotic) हुन्थ्यो भन्ने पश्चिमा भ्रम निवारण गर्न पनि विपुल खजाना उपलब्ध गराउँछन्।

यो क्षेत्र त्यसै पछि परेको होइन, जब  देखि तिनको अवसान भयो हाम्रो विकास प्रक्रिया नै सुस्त भयो।

~संदर्भ सामग्री : डा.भीमराव रामजी आंवेडकर, भगवान बुद्ध र उहाँको धर्म, पृ. ३०३/४

२.१.४ लोककल्याणकारी राज्य र कानुनी राज्यको संरक्षण

बौद्ध वाङमयको दीघ निकायको चक्कवति सिंहनाद सुत्तमा राजधर्मबारे चर्चा गरिएको छ, बुद्धले नाटकीय रीतिका माध्यमबाट विषयलाई सम्झाउन लघु कथोपनद्वारा उपदेश दिइएको छ। यसमा यस्तै एउटा कथा मार्फत भिक्षुहरुलाई उपदेश दिएको प्रसङ्ग छ। त्यसमा सुस्थिर प्राकृतिक अवस्था कसरी अराजकतामा बदलिन्छ र त्यसको सम्वोधन गर्न जनता राजाको निर्वाचन गर्छन् भन्ने चर्चा गरिएको छ। यस्ता राजा वंशानुगत होइन, धर्म अनुसार, कानुनी राज्य चलाउन सक्ने उसको योग्यताको आधारमा निर्वाचित गरिन्थ्यो। राजा त्यही बन्थ्यो जो जनतालाई स्वीकार्य हुन्थ्यो। राजधर्म धान्न न सकेमा समाजमा अराजकता फैलिन्छ, त्यसले सामाजिक विभाजन, असन्तुष्टि, छलकपट, चोरी-चकारी बढाउने  काम गर्थ्यो। केही मानिसको हातमा धन संपति  थुप्रिने बाँकी कंगाल हुने स्थितिउत्पन्न हुन्थ्यो। यसले सामाजिक संघर्षको रुप लिन्थ्यो। यसर्थ राजा फ्याक्नु पर्ने हुन्थ्यो र फालिन्थ्यो पनि। 

यस सुत्तमा लोककल्याणकारी राज्य र कानुनी राज्यको संरक्षणमा जोड दिइएको छ। यसमा बुद्धले भिक्षुहरुलाई राज धर्मबारे एक राजर्षीले राजालाई सम्झाएको प्रसङ्ग सुनाउँछन्  :

‘राजन, मौसुफ आफ्ना आस्रितहरुमा, सेनामा, क्षत्रीहरुमा, अनुगामीहरुमा, ब्राह्मणहरुमा, घरधनीहरुमा, निगम र जनपदहरुमा, श्रमण र पुजारीहरुमा, मृग र पंक्षीहरुमा (जीवजन्तुहरुमा), धर्मको सत्कार गर्दै, यथोचित सम्मान गर्दै, पुजन गर्दै, श्रद्धाभाव राख्दै, धर्मध्वज होइबक्सियोस्, धर्मकेतु होइबक्सियोस्, धर्माधिपति होइबक्सियोस, समस्त धार्मिक विचारको रक्षाको लागि बन्दोबस्त गरिबक्सियोस्। मौसुफको राज्यमा कदापी अधर्म हुन न पाओस्। राज्यमा जो निर्धन छन् तिनलाई धन दिई बक्सियोस्। मौसुफको राज्यमा जो श्रमण एवं व्राह्मण मद-प्रमादबाट विरत छन्, शान्तिको अभ्यासमा लागेका छन्, केवल आत्म-शमन, आत्म-निर्वापन गरेका छन्, तिनका बीचमा गएर बेला मौकामा सोध्नु पर्दछ, ‘ गुरुवर ! भलाई के हो ? खरावी के हो ? दोष के हो ? निर्दोष के हो ? के सेवन गर्या योग्य हो ? के असेवनीय ? के गर्दा मेरो भविष्य अहितकारी र दुखदायी हुन्छ ? के गर्दा हितकारी र सुखदायी हुन्छ ? तिनले दिएको उत्तर ध्यानपुर्वक सुनिबक्सियोस् र जसबाट  खराव छ त्यसलाई त्याग गरिबक्सियोस् र जसबाट भलाइ हुन्छ त्यसलाई ग्रहण गरी बक्सियोस् र पालन गरी बक्सियोस्। राजन यहीं हो चक्रवर्ति व्रत।’ यसरी निम्न विषयमा उ बेलै राज धर्म निर्वाह गर्न निम्न कुरामा ध्यान दिन सचेत गराइएको पाइन्छ :

– सुसंस्कृतिको संरक्षण र प्रवर्धन

– पर्यावरण सन्तुलन

– लोककल्याणकारी राज्य र सामाजिक न्यायको पक्षपोषण

– प्रज्ञा र दक्षताको उपयोग 

– कानुनी राज्यको सख्त अनुसरण

– सर्व धर्मको सम्मान र संरक्षण 

– जन कार्य दिशाको अवलम्वन। 

२.१.५. अधिकार र कर्तव्यको सामन्जस्यता बौद्ध धर्मको रोजाइ 

बौद्ध धर्मको एउटा प्रशंसनीय पक्ष के पनि हो भने यसले अधिकारको मात्रै पक्ष लिदैन, उत्तिकै महत्व कर्तव्यमा पनि दिन्छ। यसले अधिकार र कर्तव्यको प्रयोगमा सामञ्जस्यता (harmony) को माग गर्दछ। यो कुरा बौद्ध धर्मको प्रत्युत्तसमुद्पाद र कार्यकारण सिद्धान्तको प्रत्यक्षत सह उत्पादन हो। यसले भन्छ कि समाजमा हाम्रो जीवन परस्पर अलगथलग नभएर घनिष्टरुपमा एक अर्कामा अन्तर्निर्भर छ। प्रसिद्ध भियतनामी भिक्षु ठिक नाट हान (Thich Nhat Hanh)ले अमेरिकाको बारेमा एक ठाउँ कस्तो राम्रो  टिप्पणी गरेका थिए, अमेरिकाको पूर्वी तटमा स्वतन्त्रताको प्रतिमा त छ तर पश्चिमी तटमा कर्तव्यको प्रतिमा पनि हुनु जरुरी छ। ‘कर्तव्य बिनाको स्वतन्त्रता भनेको वास्तविक स्वतन्त्रता होइन |’ बौद्ध विचार प्रणालीमा  स्वतन्त्रता भनेको आत्म स्वार्थको निर्वाध अनुसरण होइन, हो त आत्म-रंजित अज्ञानताको माखेसाङ्ग्लोबाट उन्मुक्ति हो।

२.१.६. धारणा कसरी बनाउने ?

जनतालाई बुद्धको सल्लाह
बुद्धले जनतालाई अबुझ, गँवार र टाठा बाठाहरुको आज्ञापालक गोटीको रुपमा कहिल्यै लिएनन्उ। नले आफुलाई अधिनायकको रुपामा आफ्नो आस्था र विश्वास थोपर्ने काम पनि गरेनन्। उनमा जनताको विवेक र निर्णय क्षमता प्रति पुर्ण विश्वास र भरोसा  थियो। यस बारेमा म यहाँ एउटा प्रसङ्ग कोट्याउन चाहन्छु :

उ जमानाको कुरो हो, बुद्ध घुम्दै घुम्दै कोसल अधिराज्यको केसपुत्त नगरमा पुगेका थिए। त्यहाँका बासिन्दाहरुलाई कालाम भनिन्थ्यो। बुद्ध त्यहाँ आएको हल्ली-खल्ली मचियो, एक कान दुई कान हुँदै सारा नगर भरि हल्ला फैलियो। बुद्धको दर्शन गर्न कालामहरुको भींड लाग्यो।  उनीहरुले बुद्धलाई आफ्नो ब्यथा बिसाए, ” हाम्रो नगरमा यदाकदा केही जोगी र ब्राम्हणहरु आई रहन्छन्। (जस्तो कि अहिले हामीकहाँ विभिन्न राजनीतिक पार्टी जनतामा जाने गर्दछन्।) एक थरि आउँछन् र आफ्नो धर्मको बखान गर्दै त्यो अचुक र अद्वितीय भएको बताउँछन्, बाँकी सबको न्वारन देखि बल लगाएर निन्दा भर्त्सना गर्दछन्। अर्को थरि आउँछ, त्यसै गर्छ र पहिलोको उछितो काट्छ। हामी हैरानमा पर्छौं – ती मध्ये को सत र को असत ?! ‘

बुद्धले उनीहरुको मनमा परेको माखेसाङ्ग्लो फुकाउन कोशिस गर्दै भने, ” हे नगरबासी हो ! तपाईंहरुमा शंका उपशंका आउनु बिल्कुल जायज छ, तपाईंहरु हैरान हुनुहुन्छ किनभने तपाईंहरुमा शंका गर्न लायक विषयमा शंका छ। अब तपाईंहरु कसले के भन्छ, परम्परा या अफवाहमा नबरालिनुहोस्। धर्म शास्त्रमा के लेखिएको छ त्यसको पछि लाग्नु पनि जरुरी छैन, कसैले तर्क या सन्दर्भ पस्कियो भन्दैमा पत्याई हाल्नु पनि हुँदैन। कुनै चीजको रुप रंग हेरेर लट्ठिनु पनि हुँदैन। कसैको जोखानामा या ‘यो त मेरो गुरु’ले भनेको भनेर झट्ट विश्वास गरी नहाल्नो’स्। तपाईहरु आफु स्वयं नै जुन कुरो अकुशल, गलत र खराब छ भन्नेमा ढुक्क हुनुहुन्छ त्यसलाई त्यागी दिनु’स्। … अनि तपाईहरु आफु स्वयं जुन कुरो कुशल र ठीक ठान्नुहुन्छ त्यसलाई ग्रहण गर्न्नु’स र अनुसरण गर्नु’स्।”+

+श्रोत : Walpola Rahulaa, What The Buddha Taught बाट)

३. बैदेशिक नीतिमा बुद्ध धर्म

बैदेशिक मामिलामा बौध धर्म अनाक्रमणको पक्षमा छ। यस अनुसार राज्यको दायित्व हुन्छ कि उसले अन्य मुलुकमाथि आक्रमण गर्नु हुन्न ; बरु मानव जातिको साझा हितको निम्ति मित्रता र समानताको व्यवहार गर्नु पर्दछ। यसबाट बडो व्यवहारिक लाभ पनि छ। यसो भएमा दुवै  राज्यलाई बलियो मात्रै न बनाएर मानव समुदाय बीचको साझा हितलाई प्रवर्धन  गर्न प्रोत्साहित गर्दै विश्व शान्ती र समृद्धिलाई पनि टेवा पुग्दछ।

सिद्धार्थ गैतमले निर्वाण प्राप्त गर्नु अघि नै यस्तो विचार राखेका थिए। यस सन्दर्भमा यहाँ म दुईटा घटना स्मरण गर्न चाहान्छु :

३.१. शाक्य र कोलिय बीच रोहिणी नदीको उपयोग बारे भएको विवादलाई लिएर शाक्य गणको अधिवेशन भएको थियो। अधिवेशनमा शाक्य सेनापतिले  कोलिय विरुद्ध युद्ध गरेर समस्याको स्थायी निदान गर्ने प्रस्ताव गरे। त्यस अधिवेशनमा सिद्धार्थ गौतमले गणको सदस्यको हैशियतमा आफ्ना विचार राखेका थिए। ती तार्किक छन्।त्यति मात्र होइन आज पनि तिनको  विदेश नीति कसरी संचालन गर्ने र छिमेकीसँगको विवादको सम्वन्ध कसरी सुल्झाउने भन्ने बारे बढो सान्दर्भिक छन्।

सिद्धार्थ गौतमले उक्त बैठकमा भनेका थिए, ‘ युद्धद्वारा कुनै पनि समस्याको समाधान हुन सक्दैन। लडाइँको बाजी लगाउनाले हाम्रो उद्धेश्य पूरा हुने होइन। यसबाट झन् युद्धको विजारोपण हुन जानेछ। (युद्धमा अनगिन्ति मानिसहरुको विभत्स हत्या हुन्छ) जसले हत्या गर्छ त्यसलाई पनि हत्या गर्ने अर्को मान्छेको जन्म हुन्छ। जो विजयी हुन्छ त्यसलाई पनि जित्ने अर्को व्यक्ति निस्कन्छ। (युद्धमा लुटपाट पनि हारालुछ हुन्छ) त्यसलाई बदला लिने पनि अर्कै मान्छे निस्कन्छ।’*

सिद्धार्थले दोष कसको हो भनेर सावधानीपूर्वक अनुसन्धान हुनु पर्ने विषय पनि उठाए।आफ्नै पक्षका कमी कमजोरी हुन सक्छन्।

विवाद हल गर्न सिद्धार्थले बडो व्यवहारिक उपाय पनि सुल्झाए। उनले प्रस्ताव राखे, ‘हामी मध्येबाट दुई जनालाई चुनौं ; र कोलियबाट दुई जना चुनियोस् ; र यी चारै जना मिलेर अर्को पाँचौं व्यक्तिलाई चुनोस्। अनि ती पाँचै जना मिलेर झगडा छिनोफानो गरोस्।’*

सेनापतिले चित्त बुझाएनन्, युद्धै गर्नु पर्ने भनेर ढींट रहे। सिद्धार्थले फेरि पनि संझाए, ‘ धर्मको सिद्धान्त अनुसार शत्रुताले शत्रुता नष्ट गर्दैन भन्ने कुरा हृदयंगम गर्नुपर्दछ। शत्रुता त केवल मित्रताले मात्रै समन गर्न सक्दछ।’*

सेनापतिको हठ र युद्ध उन्मादको अगाडि सिद्धार्थको दाल गलेन र अन्तत: मतदानमा वहाँ अल्पमतमा पर्नु भयो।

३.२ ‘छिमेकी राजा(राज्य)हरुसँग शत्रुता न मोल। जसले अरुलाई घृणा गर्दछ, उसलाई पनि विरोधीले त्यसरी नै घृणा गर्दछ। आफ्ना छिमेकीसंग सुमधुर मित्रताको सम्बन्ध बनाउ। जो मित्रतामा खरो उत्रन्छ उसलाई अरुले पनि आदर भावले हेर्दछन्।’×

×श्रोत : THE MAHAVASTU
VOLUME I,
Translated by: J. J. JONES, 1949 )

३.३ सिद्धार्थ गौतम गौतम बुद्ध बनिसकेको कालको कुरो हो। मगध राज्य र कोशल राज्यको बीचमा घमासान युद्ध भयो। उ बेला मगधमा अजातशत्रु राजा थिए उता कोशलमा राजा प्रसेनजित। अजातशत्रु कोशलको काशी क्षेत्रलाई आफ्नो आधिपत्यमा ल्याउन चाहन्थे। युद्धमा कोशल राज्य पराजित भयो। अजातशत्रु राजगृहमा विजयोल्लास मनाइरहेका थिए र प्रसेनजित श्रावस्तिमा दु:ख मनाउ गरी रहेका।

पछि फेरि अर्को युद्ध हुन्छ। यसमा मगध पराजित मात्रै हुँदैन अजात शत्रु बन्दी पनि बनाइन्छन्। प्रसेनजितले पछि कुनै हानी नोक्सानी नगरी अजात शत्रुलाई छाडी दिन्छन्। यो घटनामा बुद्धको टिप्पणी थियो, ‘जयबाट वैर पैदा हुन्छ। पराजित दुखी हुन्छ तर जो उपशान्त हुन्छ, जसलाई जय पराजयको चिन्ता हुँदैन त्यसले सुखपूर्वक जीवन बिताउँछ।… हत्या गर्नेलाई हत्यारा प्राप्त हुन्छ, लडाइँमा जस्ले हराउँछ उसलाई हराउने व्यक्ति पनि प्राप्त हुन्छ … ।’* बुद्ध अनाक्रमणको पक्षधर थिए।

*उद्धरण ‘ ‘ भित्रका अंश डा. भीमराव रामजी आंवेडकरको भगवान बुद्ध र उहाँको धर्मबाट, अनु. ललितरत्न शाक्य |’ पृ. ३०४/५

४. बुद्ध र मार्क्स
४.१ उत्तर दास युगका बुद्ध र पुँजीवादी युगका मार्क्स। सामाजिक युगका भिन्नता र तत्जन्य वैचारिक भेद भए पनि दुवै भौतिकवादी, दुवै निजि सम्पतिका विरोधी। मार्क्सले बुद्धका बारेमा थोरै मात्र पढ्न पाए, एङ्गेल्सले अलिक बढी। उ बेला बौद्ध साहित्य पश्चिमा भाषामा त्यति अनुवाद पनि भएको थिएन। थोमस मुरको युटोपिया पढ्ने मार्क्सले बुद्धको ‘संघ’ र प्रत्युत्त समुदपाद लगायतका विचार  पढेका भए सायद मार्क्सका कृतिमा बुद्ध यत्र तत्र छाउने थिए।

४.२ बुद्धको प्राथमिकता अधिरचनामा, विशेष गरि आध्यात्मिक बनौटमा परिवर्तन थियो। अर्थात बुद्धको तरिका मान्छेको मन, उसको चिन्तनको रचना फेर्नु थियो। त्यो ऐच्छिक परिवर्तन थियो, बिना बल, बिना बाध्यताको। मार्क्सको प्राथमिकता आधारमा, विशेष गरी अर्थतन्त्रको ढाँचामा आमुल परिवर्तन थियो; आधारलाई यथास्थानमा राखेर अधिरचनाको परिवर्तन मात्रै पर्याप्त हुँदैन। मार्क्सको विचार प्रणालीमा आदिम समाजलाई छोडेर पुँजीवाद सम्मका तमाम राजनीतिक सामाजिक व्यवस्था  अल्पसंख्यक शोषक वर्गले बहुमत शोषित वर्गमाथि बलपुर्वक लाधेको अधिनायकत्व हो। मार्क्स वर्गको भूमिकालाई अदलाबदली गर्नु प्रगतिशिल ठान्थे र आखिर लोकतन्त्रको मर्म पनि त बहुमत हितायको संरक्षण नै त हो। यो अदलाबदली बलपूर्वक मात्रै सम्भव हुन्छ भन्ने उनको दलिल थियो। तर यस पछिल्लो परिवर्तनको निम्ति बल प्रयोग गरिदा हिंसा अनिवार्य नै बनाउनु पर्छ भन्ने भाष्य मार्क्स स्वयंको चाहिँ होइन। अनुयायीको दोष श्रष्ठाको टाउकामा खन्याउन न्याय शास्त्रमा मिल्दैन।

४.३ दर्शनको धर्म भनेको जगतको पुनर्रचना गर्नु हो। त्यस खातिर जगतको उत्पति कसरी भयो भनेर समय नास गर्नुको कुनै तुक छैन। सम्पतिमाथि निजि स्वामित्वले गर्दा एउटा वर्गलाई सत्ता र अर्को वर्गलाई शोषण मार्फत दु:ख ल्याउँछ, सत्ताको पहुँच भन्दा बाहिर र सम्पतिविहिन दरिद्रता। यसले गर्दा समाजमा वर्ग संघर्ष हुन्छ। यसर्थ समाजको भलाईको निम्ति निजि सम्पत्ति व्यवस्थालाई उन्मुलन गर्नु जरुरी हुन्छ। यसबारे बुद्ध र मार्क्स दुवैको एउटै विचार छ। तर त्यो कसरी उन्मूलन गर्ने भन्ने बारेमा उनिहरु बीच भिन्नता छ।

४.४ बुद्धको विचार थियो दुःख सर्वव्यापी छ। यो बिनासित्ति भएको होइन, यो त परिणाम मात्रै हो जसका कारण छन्। यो तृष्णा, क्लेश र अविद्याको सह उत्पादन हो। यसबाट मुक्ति सम्भव छ र त्यसको निम्ति परलोक पुगिरहनु पर्दैन। उनले मुक्तिको मार्ग पनि  सुझाएका छन् जसलाई ‘अरियो अट्ठङ्गिकोमग्गो ‘(अष्ठ मार्ग ) भनिन्छ। त्यसमा उनले निम्न पक्ष समेटेका छन् :

१  सम्यक दर्शन
२ सम्यक संकल्प
३ सम्यक वचन
४ सम्यक कर्मान्त/कर्म
५ सम्यक आजीविका
६ सम्यक व्यायाम/ प्रयत्न
७  सम्यक स्मृति
८ सम्यक समाधि

प्रज्ञा-१,२ शील ३,४,५ र समाधि ६,७,८

यस प्रकारका प्रज्ञा, शील र समाधिबाट मुक्ति प्राप्त गर्न सकिन्छ।

बुद्धको विचार प्रणालीमा दुःखको निरोध व्यक्तिबाट सुरु भएर समाजमा टुङ्गिन्थ्यो। व्यक्तिलाई मुक्त गर्दै समाजको मुक्ति थियो।

अर्का दार्शनिक थिए, मार्क्स। उनी पनि दुःखको सर्वव्यापकतालाई मान्दथे। उनी पनि  दुःखको पछाडि लौकिक कारण नै मान्थे। त्यो वैयत्तिक कारणले मात्र होइन सामाजिक कारणले भएको हो। त्यसलाई उनी शोषणको सामाजिक रुप भन्थे। सामाजिक विकासका भिन्न भिन्न अवस्थामा प्रभुत्वशाली शोषणका रुप पनि भिन्न भिन्न रहने उनको ठहर थियो। उनको मुक्तिको मार्ग चित्रमा व्यक्तिको मुक्ति अन्ततः ध्येय  थियो नै। परन्तु शोषणको सामाजिक व्यवस्थालाई यथास्थितिमा राखेर व्यक्तिको मुक्ति सम्भव छैन भन्ने उनको विचार थियो। त्यसैले सामाजिक मुक्ति उनको प्राथमिकता थियो। त्यसको निम्ति निजि सम्पति ब्यवस्था र त्यसमा खडा भएको प्रणालीको उन्मूलन गर्न जरुरी छ। निजि संपती व्यवस्थाको बिरोधमा बुद्ध र मार्क्सको समान धारणा थियो।

बौद्ध धर्मका अनुसार बौद्ध संघमा भिक्षु भिक्षुणीहरुले समस्त सांसारिक वस्तु माथि अनाशक्ति  राख्नु पर्दछ। यहाँ स्मरणीय के छ भने बौद्ध साहित्यमा स्वयं बुद्धको जीवनमा घटेको एउटा घटना छ। 

४.५ संघ संस्कृति
प्रजापति गौतमी। गौतम बुद्धकी सानी आमा। पुत्र वात्सल्यले एक दिन प्रजापतिलाई लाग्यो कि किन छोरालाई चीवर न बनादिउ ?! दरवारका साथी संगी, सुसारेहरू बोलाइन् र उनीहरुको समेत सहयोग र सुझावमा काम थालिन्। आफैले कपास कातेर धागो बनाइन। कपडा बुनिन् र चीवर तैयार गरिन्।

बुद्धलाई भेटेर प्रजापतिले बिन्ति बिसाइन्, ‘ भन्ते ! यो चीवर मेरा आफ्नै हातले तैयार गरेको। तपाईंलाई सुहाउला भन्ठानेर। उपहार ग्रहण गरी दिनो’स् |’

बुद्धले भने, ‘माते ! कति सुन्दर। परन्तु म यो काम गर्न सक्दिन। राम्रो के हुन्छ भने, यसलाई संघमा अर्पण गरी दिनु भए हुन्छ। त्यहाँ दिए त्यो मलाई दिए सरह हुन्छ। संघलाई पनि हुन्छ।’

‘संघे गौतमी देही, संघे दिन्ने अहं चेव पुजितो भविस्सामि संघो चाति।’°

भलै मसिनो कुरो होस्, बुद्धको संघ प्रतिको निष्ठा र मर्यादा। आफु भन्दा ठुलो संघ हो | मार्क्सको आदर्श कम्युन पनि आखिर यस्तै न हो। त्यहाँ बडालाई विशेष सुविधा हुँदैन।

°°सन्दर्भ सामग्री : डा.भीमराव रामजी आंवेडकर, भगवान बुद्ध र उहाँको धर्म

४.६ शोषणमुखी निजि सम्पति व्यवस्था र त्यसमाथि खडा भएको राज्य व्यवस्था अधम हो भन्ने मार्सको पनि विचार थ्यो। उनको निस्कर्ष थियो यो उन्मुलन गर्न यस  कारणले सम्भव छ कि विकासको प्रक्रियामा जसै शोषणको निजात्मक केन्द्रियकरण र उत्पादनको सामाजिकीकरण हुन्छ त्यस अवस्थामा तिनीहरु बिच अनिवार्यरुपमा हुने द्वन्दमा सामाजिक उत्पादनका शक्तिले शोषणको केंद्रियकरणका शक्तिमाथि विजय प्राप्त गर्दछ। तब भने ‘व्यक्तिको स्वतन्त्र विकास समाजको स्वतन्त्र विकासको पुर्व शर्त  हुन्छ।’ 

यस पछि भने मार्क्स र बुद्ध सँगै हिड्छन्। मुक्तिको प्रक्रियामा यथा सम्भव दुबैलाई हिडाउन सकियो भने मुक्तिको गतिलाई नै मदत पुग्दछ।

५. अन्त्यमा,
बौद्ध धर्मको राजनीतिक चिन्तन जे जति उपल्ब्ध छ त्यो अत्यन्त लोकतान्त्रिक र जनता केन्द्रित छ। त्यो भित्री बाहिरी दुवै हिसावले जनताको अमनचैन र सुख शान्तिमा केन्द्रीत छ ती विचार आत्म अनुरागी छैनन्। बौद्ध धर्मका अनुसार सत्ताको अभ्यास न्यायपूर्ण हुनु पर्दछ – बल चक्रम् हि निश्रय धर्म चक्रम् प्रवर्तते। त्यसको औचित्य र प्रभाभवकारीताको यो जरुरी छ।

वाह्य सम्वन्धमा पनि बौद्ध धर्मको राजनीतिक चिन्तन अनाक्रमण, अहिंसा, अहस्तक्षेप, मित्रता र समानता तथा आपसी साझा हितको प्रवर्धनमा केन्दृत छ। राष्ट्रहरु बीच विवाद भई हाले पनि त्यसको समाधानको उपायको निम्ति तिनले बल प्रयोग होइन सम्वादलाई रोज्दछ। त्यसरी मात्रै विश्व शान्ति, स्थिरता कायम गर्न र समस्त मानवजातिको साझा हित प्रवर्धन गर्न सकिने यसको स्पष्ट अडान छ। बौद्ध धर्मका यिनै मुल्यहरुबाट राष्ट्रहरु बीचका पराराष्ट्र मामिला व्यवस्थित गर्न अघि सारिएका पन्चशीलका सिद्धान्त (शान्तिपूर्ण सहअस्तित्व, एक आपसको आन्तरिक मामलामा अहस्तक्षेप, एक आपसको क्षेत्रीय अखण्डता र सार्वभौमसत्ताको सम्मान, अनाक्रमण तथा समानता र पारस्परिक लाभ) सुत्रवद्ध गरिएका हुन् |

आज हाम्रो यथार्थ के हो भने हामी संक्रमणकालिन समाजबाट गुज्रदै छौं – इमाइल दुर्खिमले भने जस्तै पुरानो थिति भत्किसकेको छ र नयाँ थिति थिग्री सकेको छैन ; हामी बेथितिको (Anomie) अवस्थामा गुज्री रहेका छौं। मार्क्सले भने जस्तै हाम्रो स्थिति के पनि हो आफैले आर्जन गरेको लोकतन्त्रबाट आफू टाढा पारिदै लगिएको र आफ्नै त्यस्तो सिर्जना माथि आफ्नो स्वत्व गुम्दै गएको समाज महशुस गर्दैछ र यसले वितृष्णा (Alienation) बढाउँदै लगिरहेको छ। मूल्य र आदर्शको स्खलन हाम्रो अहिलेको यथार्थ हो। यस खाल्डोलाई पुर्ताल गर्न र समाजिक संगतियुक्त (Social harmony) सुखी र समुन्नत नेपाल निर्माण गर्न बौद्ध धर्मका माथि वर्णित विचार प्रणाली आज पनि झनै सांदर्भिक छन् , र तिनले, निश्चय नै, ठूलो भूमिका खेल्न सक्दछन्। राजनीतिमा पनि चित्त शुद्ध गर्नु जरुरी छ। राजनीतिमा पनि प्रज्ञा, शील र समाधि चाहिन्छ। आज दुनियाँ जसरी अनिश्चय, अस्थिरता र अशान्तिको वातावरणमा हेलिरहेको छ त्यसको उपचारमा पनि बौद्ध धर्मका नुसखा (prescriptions) कामलाग्दा छन्। अल्बर्ट आइन्स्टिनले त्यसै भनेका होइनन्, ‘यदि दुनियाँमा कुनै धर्मले आधुनिक वैज्ञानिक आवश्यकताको सम्बोधन गर्छ भने त्यो बौद्ध धर्म हो |’     

 माथि उल्लेखित बौद्ध धर्मको राजनीति सन्वन्धी प्रसङ्गले यसको व्यापक, दुरगामी र बडो लोकतान्त्रिक आयामलाई मात्रै सतहमा ल्याउदैनन्, त्यसले पूर्वेली, एशियायी शासन पद्धति स्वेच्छाचारी (despotic) हुन्थ्यो भन्ने पश्चिमा भ्रम निवारण गर्न पनि विपुल खजाना उपलब्ध गराउँछ। प्रज्ञाको मन्दिरमा पुर्वाग्रहको जुत्ता फुकालेर जाने हो भने निकालिने निस्कर्ष यहीं हो।

भवतु सब्ब मंगलम् !

(साभारः यो आलेख बौध विश्व बिध्यालय, लुम्बिनीले संखुवासभामा मिति २०७९ फागुन १२-१५मा आयोजना गरेको  “हिमाली संपदा र संस्कृतिको संरक्षणको लागि’ १ नं. प्रदेशस्तरीय बौद्ध सम्मेलन ” मा प्रस्तुत गरिएको कार्यपत्रको मुख्य अंश हो।)

-साभार : नेपाल रिडर्स

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here