एजेन्सी । हंगेरीमा विगत १६ वर्षदेखि एकछत्र राज गर्दै आएका प्रधानमन्त्री भिक्टर अर्बानको शासन सत्ता ढलेको छ। आइतबार सम्पन्न आमनिर्वाचनमा अर्बानका पूर्व सहयोगी पिटर मग्यार नेतृत्वको ‘टिस्जा’ पार्टीले अनपेक्षित र भारी मतका साथ ऐतिहासिक जित हासिल गरेको हो ।
९८ प्रतिशतभन्दा बढी मतगणना भइसक्दा ४५ वर्षीय मग्यारको टिस्जा पार्टीले संसदका १९९ सिटमध्ये १३८ सिटमा जित निकाल्ने देखिएको छ। यो संख्या संविधान संशोधनका लागि आवश्यक ‘दुई-तिहाइ’ (१३३ सिट) भन्दा पनि बढी हो। अर्कोतर्फ, अर्बानको ‘फिदेज’ पार्टी ५५ सिटमा खुम्चिएको छ।
हंगेरीको इतिहासमा कम्युनिस्ट शासनपछिकै उच्च ७९.५ प्रतिशत मतदान हुनुलाई अर्बान विरुद्धको जनलहरका रूपमा हेरिएको छ।
राजधानी बुडापेस्टको ड्यान्युब नदी किनारमा आयोजित विशाल विजय सभामा समर्थकहरूलाई सम्बोधन गर्दै मग्यारले भने, ‘हामीले गरेर देखायौँ। आज सत्यले झुटलाई जित्यो र हंगेरीका नागरिकले इतिहास फेरिदिएका छन्।’
पराजित प्रधानमन्त्री भिक्टर अर्बानले मग्यारलाई फोन गरी बधाई दिँदै निर्वाचन परिणाम ‘पीडादायी’ रहेको स्वीकार गरेका छन्। उनले आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै भने, “अबका दिनहरू घाउ निको पार्ने दिन हुनेछन् ।”
पिटर मग्यार कुनै समय अर्बानकै फिदेज पार्टीका प्रभावशाली सदस्य थिए। तर, सन् २०२४ मा पार्टीभित्रको भ्रष्टाचार र नातावादको विरोध गर्दै उनले छुट्टै ‘टिस्जा’ पार्टी गठन गरेका थिए। छोटो समयमै उनले गाउँगाउँ पुगेर अर्बान शासनको बेथिति विरुद्ध नागरिकलाई गोलबद्ध गर्न सफल भए।
निर्वाचनमा विजयी भएका मग्यारले भ्रष्टाचार नियन्त्रण, स्वास्थ्य सेवा र सार्वजनिक यातायात सुधारलाई मुख्य एजेन्डा बनाएका थिए। उनले हंगेरीको युरोपेली युनियन र नेटोसँगको बिग्रिएको सम्बन्ध सुधार्ने प्रतिबद्धता जनाएका थिए। अर्बान शासनकालमा यी सम्बन्ध कमजोर बनेको बीबीसीले उल्लेख गरेको छ ।
अर्बानको हारसँगै युरोपेली राजनीतिमा पनि ठुलो फेरबदल आउने अपेक्षा गरिएको छ। रूसी राष्ट्रपति पुटिनका नजिक मानिने अर्बानले युक्रेनलाई दिइने सहयोगमा बारम्बार अवरोध पुर्याउँदै आएका थिए। मग्यारको जितलाई पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्क लगायत युरोपेली नेताहरूले स्वागत गर्दै “गौरवशाली जित” भनेका छन्।
मग्यारले आफ्नो पहिलो विदेश भ्रमण पोल्याण्ड र त्यसपछि ब्रसेल्स (EU मुख्यालय) गर्ने घोषणा गरेका छन्, जहाँ उनले भ्रष्टाचारका कारण रोक्का गरिएको १७ अर्ब युरो कोष खुलाउन पहल गर्नेछन्।







