इस्लामावादमा दोस्रो दिनको वार्ता पुनः सुरु हुँदै, के भन्छ इरान ?


२९ चैत्र २०८२, आईतवार ०९:५७ मा प्रकाशित

चैत्र २९, एजेन्सी ।। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले पाकिस्तानी राजधानीमा अमेरिकासँग चलिरहेको युद्धविराम वार्ताबारे एक विज्ञप्ति जारी गरेका छन्। 

Advertisement

अलजजिराका अनुसार, पाकिस्तानको मध्यस्थतामा भइरहेको यो ऐतिहासिक वार्ता लगातार १५ घण्टाभन्दा बढी समयदेखि चलिरहेको सन्दर्भमा यो भनाइ आएको हो।

इरानी विदेश मन्त्रालयका प्रवक्ता बघाईले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘इस्लामावादमा इस्लामिक गणतन्त्र इरानको प्रतिनिधिमण्डलका लागि आजको दिन निकै व्यस्त र लामो रह्यो।’

उनले अगाडि लेखेका छन्, ‘पाकिस्तानको सद्भावनापूर्ण प्रयास र मध्यस्थतामा शनिबार बिहानदेखि सुरु भएको सघन वार्ता अहिलेसम्म बिना कुनै अवरोध जारी छ र दुई पक्षबीच थुप्रै सन्देश र मस्यौदाहरू (लिखित प्रस्तावहरू) आदानप्रदान भएका छन्। इरानी वार्ताकारहरूले इरानको अधिकार र हितको रक्षा गर्न आफ्नो सम्पूर्ण क्षमता, अनुभव र ज्ञानको प्रयोग गरिरहेका छन्।’

पछिल्लो समय अमेरिका र इजरायलले गरेको आक्रमणलाई सङ्केत गर्दै उनले थपेका छन्, ‘हाम्रा आदरणीय अग्रजहरू, प्रियजनहरू र देशवासीहरूको भारी क्षतिले (विशेषगरी युद्धको पहिलो दिन मिनाबको प्राथमिक विद्यालयलगायतका स्थानमा भएको अकल्पनीय मानवीय क्षतिले) इरानी राष्ट्रको हित र अधिकार सुनिश्चित गर्ने हाम्रो सङ्कल्पलाई पहिलेभन्दा अझ दृढ बनाएको छ।’

इरानी विदेश मन्त्रालयका प्रवक्ता बघाईले पाकिस्तानलाई धन्यवाद दिँदै र अमेरिकालाई असल मनसाय देखाउन आग्रह गर्दै आफ्नो विज्ञप्तिको अन्त्य गरेका छन्।

‘यस कूटनीतिक प्रक्रियाको सफलता विपक्षी पक्षको गम्भीरता र असल मनसाय, अत्यधिक माग र गैरकानुनी अनुरोधहरूबाट टाढा रहने कुरा र इरानको वैध अधिकार र हितको स्वीकारोक्तिमा निर्भर गर्दछ,’ उनले लेखेका छन्। 

उनका अनुसार, पछिल्लो २४ घण्टामा होर्मुज जलसन्धि, आणविक मुद्दा, युद्धको क्षतिपूर्ति, प्रतिबन्ध फुकुवा र इरान तथा यस क्षेत्रविरुद्धको युद्धको पूर्ण अन्त्यलगायत वार्ताका मुख्य विषयका विभिन्न आयामहरूमा छलफल भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here