चैत्र २७, काठमार्डां ।। सरकारले डिजिटल सुशासनलाई सुदृढ बनाउने दीर्घकालीन लक्ष्यअनुसार नागरिक सेवालाई अनलाइनमार्फत उपलब्ध गराउने अभियान योजनाबद्ध रूपमा अघि बढाएको जनाएको छ ।
सोही क्रममा निजामती कर्मचारीको व्यक्तिगत विवरण, लोकसेवा आयोगका परीक्षार्थीको प्रवेशपत्र तथा वैदेशिक अध्ययनका लागि आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) नागरिक एपमार्फत प्राप्त गर्न सकिने व्यवस्था अन्तिम चरणमा पुगेको छ । सूचना प्रविधि विभागका महानिर्देशक चन्द्र साहले हाल उक्त प्रणाली परीक्षणको चरणमा रहेको र आगामी एक साताभित्र पूर्ण कार्यान्वयनमा आइसक्ने जानकारी दिए ।
यही चैत १३ गते मन्त्रिपरिषद्बाट स्वीकृत ‘शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची’ अन्तर्गत बुँदा नम्बर ३५ मा यो विषय उल्लेख थियो । सो बुँदा कार्यान्वयनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समयसीमा सहितको कार्ययोजना तयार पारी सम्बन्धित निकायलाई तोकिएको अवधिभित्रै काम गरिसक्न भनेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले मातहतका सम्बन्धित निकायहरूलाई नागरिक एपमार्फत थप सेवा एकीकृत गर्न तथा डिजिटल प्लेटफर्ममार्फत सेवा विस्तारलाई तीव्रता दिन निर्देशन समेत दिएका छन् ।
मन्त्रीस्तरीय निर्देशनपछि सूचना प्रविधि विभागले विभिन्न सरकारी तथा प्राविधिक निकायहरूसँग समन्वय सुरु गरेको बताएको छ । सोही क्रममा नेपाल इन्जिनियरिङ परिषद्सँग सम्झौता गरी व्यावसायिक इन्जिनियरहरूको प्रमाणपत्र पनि नागरिक एपबाटै उपलब्ध हुने गरी प्रक्रिया अघि बढिसकेको विभागका महानिर्देशक साहले जानकारी दिए ।
नयाँ प्रणाली कार्यान्वयनमा आएपछि नागरिकले नागरिक एपमार्फत विभिन्न महत्त्वपूर्ण सेवा प्राप्त गर्न सक्नेछन् । यसअन्तर्गत लोक सेवा आयोगका परीक्षार्थीले प्रवेशपत्र, वैदेशिक अध्ययनका लागि आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी), तथा निजामती कर्मचारीहरूले आफ्नो व्यक्तिगत विवरण नागरिक एपबाटै प्राप्त गर्न सक्नेछन् ।
यसअघि नै नागरिक एपमार्फत प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस क्लियरेन्स रिपोर्ट) प्राप्त गर्ने सुविधा सञ्चालनमा आइसकेको छ । अब थप सेवाहरू एकीकृत भएसँगै नागरिक एपलाई ‘वन–स्टप डिजिटल सेवा प्लेटफर्म’ बनाउने सरकारको योजना थप सशक्त हुने अपेक्षा गरिएको छ ।







