माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु, सवा ५ लाख विद्यार्थी सहभागी


१९ चैत्र २०८२, बिहीबार ०९:०६ मा प्रकाशित

चैत्र १८, झापा ।। माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर एकैसाथ सुरु भएको छ। पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुँदैछ भने यस वर्ष करिब सवा ५ लाख विद्यार्थी परीक्षामा सहभागी भएका छन्।

Advertisement

राष्ट्रिय परीक्षा बोर्डले यस पटकको एसईईलाई छिटो, व्यवस्थित र नतिजामुखी बनाउन नयाँ अभ्यास लागू गरेको छ। विगतको जस्तो उत्तरपुस्तिका एक प्रदेशबाट अर्को प्रदेश पठाउने प्रणाली हटाएर अब सम्बन्धित क्षेत्रमै परीक्षण गर्ने व्यवस्था गरिएको छ। यसले समय बचत हुने र एक महिनाभित्रै नतिजा सार्वजनिक गर्न सहज हुने बोर्डको विश्वास छ।

शिक्षा मन्त्रालयले पनि नतिजा ढिलाइका कारण विद्यार्थीमा पर्ने असरलाई ध्यानमा राख्दै परीक्षा सकिएको एक महिनाभित्र परिणाम ल्याउने लक्ष्य दिएको छ। सोही अनुसार बोर्डले परीक्षण प्रक्रियामा परिवर्तन गरेको हो।

यद्यपि, स्थानीय स्तरमै परीक्षण गर्दा निष्पक्षता र सुरक्षामा चुनौती आउन सक्ने भन्दै आवश्यक परे उत्तरपुस्तिका अन्य सुरक्षित केन्द्रमा सारिने व्यवस्था गरिएको छ।

यस वर्ष कुल ५ लाख १२ हजारभन्दा बढी विद्यार्थी सहभागी छन्, जसमा छात्राको संख्या छात्रभन्दा बढी रहेको छ। देशभर करिब २ हजार परीक्षा केन्द्र तोकिएका छन् भने जापानमा पनि एक केन्द्रबाट परीक्षा सञ्चालन भइरहेको छ।

नयाँ प्रणालीले नतिजा छिटो ल्याउने अपेक्षा गरिएको भए पनि यसको प्रभावकारिता भने यसै वर्षको नतिजाले देखाउनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here