माघ १६, काठमाडौं । चुनावमा शीर्ष नेताहरूले गर्ने सभा, सम्मेलन र भेटघाटले त्यसक्षेत्रमा चुनावी माहौल त बनाउँछ नै, तत् दलको चुनावी एजेन्डा पनि जनस्तरसम्म पुग्छ । अझ कतिपय उम्मेदवारहरू त शीर्ष नेताले आफ्नो क्षेत्रको भ्रमण गरिदिए चुनाव जितिने अपेक्षा राख्छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि अब ३४ दिन बाँकी छन् । उम्मेदवारहरू भने चुनावी क्षेत्रमा क्रियाशील भइसकेका छन् ।
तीनवटा दल अहिले भावी प्रधानमन्त्रीकै नाम अगाडि सारेर चुनावमा होमिएका छन् । त्यसैले ती प्रस्तावित प्रधानमन्त्रीका उम्मेदवारहरू देश दौडाहामा कसरी जान्छन् र के सन्देश दिन्छन् भन्ने चासोको विषय बनेको छ ।
हालसम्म हेर्दा भावी प्रधानमन्त्रीका रूपमा प्रस्तावित राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बाहेक अरू नेता आफ्नो क्षेत्र बाहिरको चुनावी कार्यक्रममा सहभागी भएका छैनन् ।

नयाँ क्षेत्रमा गगनलाई बलियो चुनौती
कांग्रेस सभापति गगन गगन थापा योपटक विगतमा चुनाव जित्दै आएको काठमाडौं-४ छोडेर चुनाव लड्न सर्लाही-४ पुगेका छन् । विशेष महाधिवेशनमार्फत पार्टीको नेतृत्व लिएका थापा उम्मेदवारी दर्ता हुने दिन माघ ६ गते चार बजेसम्म देशभरका पार्टी उम्मेदवार चयन गर्दै थिए । त्यसैले उनी उम्मेदवारी दर्ताका लागि आफैँ सर्लाही-४ पुग्न सकेनन्, वारेसमार्फत उम्मेदवारी दर्ता भयो ।
नयाँ चुनावी क्षेत्रमा प्रतिस्पर्धा गर्न उत्रिएका थापालाई केन्द्रीय कार्यसमिति बैठकले नै भावी प्रधानमन्त्रीका रूपमा अगाडि सार्ने निर्णय गरेको छ । पार्टीको सभापति र भावी प्रधानमन्त्रीका रूपमा पनि प्रस्तावित भएकाले उनी देशका अन्य निर्वाचन क्षेत्रमा पनि जानुपर्ने हुन्छ । थापा कांग्रेसभित्रका सबैभन्दा पर्खर वक्ता भएकाले उनको माग जताततै हुन्छ । तर, माघ १२ गते आफ्नो चुनावी क्षेत्र सर्लाही-४ पुगेका थापा माघ १६ गतेसम्म त्यहीँ केन्द्रित भए । हालसम्म थापा आफ्नो चुनावी क्षेत्र बाहेक बाहिर गएका छैनन् ।
काठमाडौं छोडेको विषयमा थापाले हरेकजसो कार्यक्रममा प्रस्टीकरण दिइरहेका छन् भने मधेशबाट कांग्रेसको विरासत फर्काउन मधेश झरेको तर्क गरिरहेका छन् । तर सर्लाही-४ उनका लागि चुनौतीमुक्त छैन । यसअघि कांग्रेसबाट दुईपटक र एकपटक स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित अमरेश सिंह अहिले रास्वपाबाट उम्मेदवार छन् । थापाका प्रमुख चुनौती सिंह मानिए पनि एमालेका अमनिश यादव, जसपा नेपालका रामेश्वर राय यादव र जनमतका राकेशकुमार मिश्र पनि थापाका चुनौती हुन् । त्यसैले पनि थापा आफ्नो चुनावी क्षेत्रमा बढी खटिनुपर्ने अवस्था छ ।
कांग्रेस प्रवक्ता देवराज चालिसे थापा काठमाडौं फर्किएपछि देशका अन्य क्षेत्रमा जानेबारे छलफल हुने र तय हुने बताउँछन् । उनले भने, ‘उपसभापति विश्वप्रकाश शर्मा आज सिन्धुली हुँदै झापाको यात्रामा जानु भएको छ । उहाँ पूर्वी नेपालमा सक्रिय हुनुहुन्छ । सभापति काठमाडौं फर्केपछि छलफल गरेर देश दौडाहाको कार्यक्रम बनाउँछौँ ।’

रक्षात्मक ओली
एमाले अध्यक्ष केपी शर्मा ओली पुरानै निर्वाचन क्षेत्र झापा-५ मा उम्मेदवार छन् । पार्टी सचिवालय बैठकबाटै भावी प्रधानमन्त्रीमा प्रस्तावित गरिएका ओली चार दिन आफ्नो निर्वाचन क्षेत्रमा बसेर काठमाडौं फर्किएका छन् । त्यसपछि उनी बाहिर गएका छैनन् ।
झापाबाट एकपटक बाहेक हरेक चुनाव जित्दै आएका ओलीको प्रतिस्पर्धा अहिले भावी प्रधानमन्त्रीका अर्का उम्मेदवार रास्वपाका बालेनसँग छ । भदौ २३ र २४ गतेको जेन जी आन्दोलनका अगुवामध्येका एक बालेन र आन्दोलनले सत्ताच्युत भएका ओलीबीचको प्रतिस्पर्धा रोचक हुने अहिलेसम्मको अवस्था देखिएको छ ।
सो आन्दोलनका क्रममा भएको सरकारी दमनको जिम्मेवार ओली हुनुपर्ने रास्वपाले बताइरहेको छ । ओलीले भने आफूले त्यतिबेला प्रहरीलाई गोली चलाउने आदेश निदएको भन्दै प्रतिरक्षा गर्नुपरेको छ । अझ ओलीले सार्वजनिक बहसको प्रस्ताव स्वीकार गरी सामाजिक सञ्जालमा राखेको टिप्पणीमा बालेनले जवाफ फर्काउँदै ओलीसँग एउटै मञ्च शेयर नगर्ने घोषणा गरेपछि ओली थप रक्षात्मक बनेका छन् । उनले सामाजिक सञ्जालमार्फत नै गोली चलाउन आदेश नदिएको प्रस्टीकरण दिएका छन् ।
अहिले झापा-५ ओलीका लागि सहज नभएको अवस्था बनेसँगै ओली आफ्नो क्षेत्रमै बढी केन्द्रित हुनुपर्ने अवस्था बनेको छ । उम्मेदवारी दर्ताका लागि माघ ५ गते नै झापा पुगेका ओली केही दिन बसेर माघ १० गते काठमाडौं फर्किएका थिए । झापा बसाइको क्रममा उनले आफ्नो निर्वाचन क्षेत्रको अवस्थाबारे रिपोर्टिङ लिएका थिए । त्यसैअनुसार पूर्वमन्त्री देवेन्द्र दाहाललाई चुनावी कमान्डर बनाएर काठमाडौं फर्किए ।
त्यसपछि काठमाडौंमा उनी केही राजनीतिक कार्यक्रममा सहभागी भएका छन् । अहिले ओली देशका अन्य निर्वाचन क्षेत्रमा जाने विषयमा कुनै तयारी नभएको एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले बताए । उनले भने, ‘अहिले केही तयारी भएको छैन । पछि कसरी कहाँ जाने भन्ने निर्णय हुन्छ ।’

पूर्वदेखि पश्चिमसम्म बालेन
काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएर रास्वपामार्फत संसदीय राजनीतिमा उत्रिएका बालेन माघ ५ गते रास्वपाको जनकपुर चुनावीसभामामार्फत ‘सार्वजनिक’ भए । स्वतन्त्र उम्मेदवार भएर मेयरमा निर्वाचित बालेन सार्वजनिक मञ्चबाट कमै भाषण दिन्छन् भने पत्रकार सम्मेलन त उनले मेयर निर्वाचित भएयता अहिलेसम्म गरेकै छैनन् । आफ्ना कुरा सामाजिक सञ्जालमार्फत भन्ने, तर सवालजवाफ नगर्ने उनको शैली छ ।
बालेन माघ ६ गते झापा–५ मा उम्मेदवारी दर्ता गर्न पुगे । त्यसपछि उनी पूर्वी पहाडी जिल्ला तेह्रथुम, ताप्लेजुङ र पाँचथर पुगे । यस अवधिमा उनी ताप्लेजुङस्थित पाथीभरासमेत पुगे । माघ १० गते काठमाडौं फर्किएका उनी माघ ११ गते बाँके पुगे । उनी अहिले पश्चिम नेपालको चुनावी कार्यक्रमहरूमा छन् । उनी बाँके, बर्दिया, कैलाली, बैतडी, डडेल्धुरा, कञ्चनपुर, डोटी, बझाङ, बाजुरा, दार्चुला, अछाम, कालीकोट र दैलेख पुगेका छन् ।
उनी जहाँ पुग्छन् त्यहाँ उनलाई हेर्नेको भिड लाग्ने गरेको छ । भिडलाई उनले कतै फ्लाइङ किस दिने गरेका छन् भने कतै गाडीबाटै हात हल्लाएर अभिवादन गर्ने गरेका छन् । उनले मतदाताहरूसँग चुनावी अन्तर्क्रिया भने गरेका छैनन् । हरेक जिल्लामा रहेका रास्वपाको कार्यालयमा पुग्ने र त्यहाँ पार्टीका उम्मेदवारहरूसँग भलाकुसारी उनले गर्दै आएका छन् ।
झापा-५ बाट उम्मेदवार बनेका उनी सो चुनावी क्षेत्रमा हालसम्म त्यति क्रियाशील भइसकेका छैनन् ।
रास्वपा सभापति रवि लामिछाने माघ ६ गते नै पर्सामा मुद्दाको पेसीमा थिए । जिल्ला अदालत पर्साले उनलाई एक करोड धरौटीमा छाडेको थियो । वारेसमार्फत उम्मेदवारी दर्ता गराएका उनी त्यसपछि काठमाडौं फिर्ता भए । अस्वस्थ भएका उनी तीन दिनको अस्पताल बसाइपछि अहिले घरमै आराम गरिरहेका छन् ।

सुरक्षित क्षेत्र खोज्दै गएका प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड २०६४ यताका हरेक चुनावमा नयाँ क्षेत्रमा जान्छन् र विजयी पनि भइरहन्छन् । योपटक उनलाई पार्टीले औपचारिक रूपमा प्रस्तावित प्रधानमन्त्री भनेर निर्णय गरेको छैन । तर नेकपाले चुनाव जित्दा प्रधानमन्त्रीका उनी नै प्रमुख दाबेदार हुन् ।
दोहोरिएको क्षेत्रमा भने उनी पराजित पनि भएका छन् । २०६४ मा चुनाव जितेको काठमाडौं-१० मा उनी २०७० को चुनावमा पनि उम्मेदवार थिए । उनी यो क्षेत्रबाट पराजित भए, तर सिराहबाट निर्वाचित हुँदा दोस्रो संविधानसभामा उनी बाहिर रहनु परेन ।
प्रचण्ड हरेक चुनावमा सुरक्षित निर्वाचन क्षेत्र खोज्ने क्रममा योपटक माओवादी जनयुद्धका क्रममा आधार इलाका घोषणा गरिएको रुकुम पूर्व पुगेका छन् । त्यहाँ २०६४ यताका हरेक चुनावमा माओवादीले जित्दै आएकाले प्रचण्डले यसलाई सुरक्षित क्षेत्र मानेका हुन सक्छन् । तर योपटक उनको प्रतिस्पर्धामा माओवादी जनयुद्धमै लागेर बाबु गुमाएका सन्दिप पुन प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेका छन् । र यो पार्टी माओवादीका सफल कमान्डरमध्ये एक जनार्दन शर्माले बनाएका हुन् । अथवा प्रचण्ड सुरक्षित क्षेत्र खोज्दै रुकुम पूर्व पुग्दा यसअघि माओवादीलाई जिताउनेहरू अहिले प्रचण्डसँग छैनन् । बरु एमालेले पनि पुनलाई सघाउने निर्णय गरेर प्रचण्डलाई दबाबमा राखेको छ ।
उम्मेदवारी दर्ताका लागि माघ ५ गते नै रुकुमकोट पुगेका प्रचण्ड एक हप्ता आफ्नो निर्वाचन क्षेत्रमा घुमेर काठमाडौं फिर्ता भएका छन् । त्यसपछि काठमाडौंमै पार्टीका कार्यक्रममा सहभागी भएका उनी देशका अन्य क्षेत्रमा पुगेका छैनन् ।







