हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल


१६ माघ २०८२, बिहीबार १३:१६ मा प्रकाशित

नेताहरुका नालायकी, भूराजनीतिक षडयन्त्र र बिचौलियातन्त्र नै आजका समस्याको ब्याड हो, त्यसको समाधान नगरिकन हामी शान्तिका साथ बाँच्न र भविष्यका बारेमा सोच्न सक्दैनौ । यो तितो, असाध्यै तितो यथार्थ हो, यसलाई स्वीकार गरौँ र भोलीका चुनौति सामना गर्न आफूलाई तयार गरौँ ।

Advertisement

घनश्याम भूसाल//

चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ रु अथवा भदौ २३ र २४ का विध्वंशले आँत हल्लिएको यो मुलुकले आशा–भरोसाको बाटो भेटाउँछ रु यस्ता प्रश्नबारे चर्चा भएको छैन । धेरैलाई लाग्न सक्छ अहिले त्यस्ता प्रश्न गर्ने बेला भएको छैन ।

दुर्भाग्यवश, यथार्थ के हो भने हामी सङ्कटको धेरै लामो सुरुंगमा पसिसका छौं। चुनावले पनि हाम्रा दुर्दिन टार्दैन । आन्तरिक राजनीति र भूराजनीतिका अरु धेरै धक्काहरु हामीले ब्यहोर्नै पर्नेछ । त्यसैले यसबारे छलफल गर्नु आवश्यक छ । दुई मुख्य कारणले गर्दा यो निर्वाचनले हामीलाई निकास दिँदैन । पहिलो, भदौ २३ र २४ गतेका घटना र त्यसको राजनीतिसँग सम्बन्धित छ । २३ गते जेन्जीको आन्दोलन भयो । वानेश्वर पुगेपछि जुलुसको नेतृत्व अरुले नै गर्न थाले । संसद भवनमा तोडफोड सुरु भयो । सरकारले कलिला छोराछोरीमाथि गोली चलायो । २४ गते देशभरी आगजनी भयो । प्रधानमन्त्रीको समेत भागाभाग भयो । पूर्वप्रधानन्यायाधिशको नेतृत्वमा सरकार बन्यो । संसद विघटन भयो । फागुनमा चुनाव हुँदैछ । घटनाक्रम यही हो । यसलाई कमरेड ओली र अरु केहीले हाम्रो व्यवस्था विरुद्ध देशी–विदेशी षडयन्त्र हो, केवल षडयन्त्र हो भनेका छन् ।रास्वपा र अरु केहीले त्यसलाई केवल पुराना पार्टी र नेताहरुको नालायकी हो भनेका छन् । पर्दा अगाडिका घटना–सन्दर्भ यिनै हुन् । तर पर्दा पछाडिका तथ्य गम्भीर छन्, मुख्य छन् ।

एउटा तथ्य के हो भने पुराना पार्टीका केही नेताहरुले आफ्ना पार्टीलाई बन्धक बनाए, राज्यलाई सत्ता भोगको खेलौना बनाए, राजनीतिक मूल्य, नैतिकता, दायित्वमाथि बेपर्बाह जुवा खेले, त्यसबाट समाजमा असन्तुष्टि र आक्रोश बढ्दै गयो र त्यो आक्रोश जेन्जीका नाममा सडकमा आयो । यो तथ्यलाई स्वीकार नगर्नेहरुले भदौ २३ र २४ का घटनालाई केवल देशी–विदेशीको षडयन्त्र हो भनेका छन् । उनीहरु आफ्ना नालायकीलाई लुकाउन, जनतालाई फेरि मूर्ख बनाएर फेरि चुनाव जित्न चाहान्छन् । फेरि सत्ताभोग गर्न चाहान्छन् ।

अर्को, हाम्रो भूराजनीतिक अवस्था असाध्यै संवेदनशील छ । स्वाधिनता र लोकतान्त्रिक स्थिरताका साथ समृद्ध बन्ने हामी नेपालीको आकाङ्क्षामाथि भूराजनीतिक शक्तिहरुले खेल्ने गरेका छन्, राज्य र राजनीतिमा आफ्ना मान्छे फिट गरेर हामीलाई लडाइरहन अनेक तरिकाले लगानी गरेका छन् । भदौ २३ र २४ को विध्वंशमा पनि तिनीहरुको हात थियो । त्यो नेपाली नागरिकले गर्ने, गर्न सक्ने कुरै होइन । यो तथ्यलाई स्वीकार नगर्नेहरुले यो मुलुक भूराजनीतिक षडयन्त्रको रणमैदान भएको देख्न चाहान्छन् । जसले दिन दहाडै हाम्रो सार्वभौमिकतामाथि आक्रमण भएको देख्दैन भने के देख्छ रुआजको राजनीतिमा त्यसको अर्थ के हो ? एकथरीले खुल्लमखुल्ला आफ्ना नालायकीका लागि भोट मागिरहेका छन् भने अर्काथरीले भूराजनीतिक चलखेलको पक्षमा भोट मागि रहेका छन् । यिनीहरुमध्ये जसले जिते पनि मुलुकको दुर्गति नै हुनै हो । यस्तो ज्वलन्त विषयमा छलफल गर्न ढिलो भैसकेको छ ।

दोश्रो विषय दीर्घकालीन, ऐतिहासिक र आधारभूत सङ्कटको छ । यो सङ्कटबारे मैले गएको २० वर्षदेखि लेख्दै/बोल्दै आएको छु । हाम्रा उद्योग नचल्ने, हाम्रा छोराछोरी बेरोजगार हुने, काम खोज्न विदेसिनु पर्ने, एकपछि अर्को राजनीतिक सङ्कट आइरहने, समाज अस्थीर भइरहने किन हुन्छ ? उद्यम नगर्ने, रोजगारी नबढाउने विचौलिया कसरी सबैभन्दा ठूला पुँजीपति बन्छन् ? रोजगारी सिर्जना गर्ने उद्यमीहरु किन उठ्न सक्दैनन् ? विचौलियाहरुका हातमा पार्टी, राजनीति, न्यायाधिश, सांसद कसरी बेचिन्छन् ? व्यवस्था फेरिन्छ, नेता फेरिन्छ तर बिचौलियाको हालीमुहाली किन फेरिन्न ? यस्ता विषयमा छलफल गर्दै आएको छु । मुलुकलाई यस्तो दुस्चक्रमा फसाउने राजनीति र अर्थतन्त्रको लगनगाँठोलाई मैले दलाल पुँजीवाद भनेको छु । त्यसैलाई अहिले विचौलियातन्त्र पनि भन्न थालिएको छ । यो गाँठो नचुँडाल्दासम्म मुलकले एकपछि अर्को धक्का खाइरहन्छ । त्यस्तो धक्काले मुलुक घाइते भएपछि राजनीतिको रङ्गमञ्चमा एउटा जखमले आउँछ र यो सबै मैले ठिक पार्छु भन्छ । निराश, आक्रोसित र व्यथित हामी नेपाली सबै कुरा बिर्सेर त्यसका पछाडि लाग्छौँ । जयजयकार गर्दागर्दै हामीले पत्तै नपाउँदै त्यसले हामीलाई फेरि सङ्कटको अर्को भित्तमा ठोकाइ सकेको हुन्छ । त्यसलाई गाली गर्दै हामीले फेरि अर्को जखमले खोज्न हिँड्छौँ । त्यसैका पछाडि लाग्छौँ । यही कुरा किन दोहोरिइरहन्छ ?

सम्झौँ त कमरेड प्रचण्डको प्रतापले माओवादीका नाममा यो देश कसरी जुर्मुराएको थियो १ कमरेड प्रचण्डसँग के थिएन ? सबैथोक थियो । उनीसँग केवल विचौलियातन्त्रको मोहिनीसँग जोगिने सङ्कल्प थिएन । त्यसको महँगो मूल्य माओवादीले तिर्‍यो, अझैसम्म तिर्दैछ । कमरेड ओली इतिहासमा सम्भवतः लोकप्रियताको सर्वश्रेष्ठ उदाहरण थिए । सपनाको कुरा गर्न उनी माहिर थिए । उनीसँग केवल बिचौलियातन्त्रसँग लड्नु पर्ने विपना थिएन । ओलीजी कहाँ थिए आज कहाँ छन् सबैलाई थाहा छ । अहिले पनि कमरेड ओली र प्रचण्डमा सत्ताको कुलत गएको छैन । सत्ताको कुलत कति डरलाग्दो हुन्छ भन्ने कुरा देउवाजीले देखाएका छन् । ५ पटक प्रधानमन्त्री भएको व्यक्ति, दिन दहाडै घिसारिँदै छ, कुटिँदै छ, सारा राज्य/समाज रमिता हेरिरहेको छ, तिनै देउवाजीले काङ्ग्रेसको कुर्ची नछोड्न अन्तिमसम्म कति मरिहत्ते गरे । कमरेड ओली र प्रचण्डका सबै अवसर र प्रयोग असफल भइसकेका छन्, तर असफलता र नालायकीको धीत मरेको छैन, राजनीतिको केन्द्रमै छन् । यस निर्वाचनमा यिनीहरु पनि मुख्य शक्तिका रुपमा प्रतिस्पर्धा गर्दैछन् ।

रवि र बालेन यो निर्वाचनका अर्का मुख्य पात्र हुन् । यिनीहरु विचार, सिद्धान्त, इतिहास, समाज, तर्क, विज्ञान सबैसँग बेखवर छन् । तिनका लागि समाजवाद पुँजीवाद एउटै हो, धनी गरीब उस्तै हुन्, सुशासन/कुशासन आफै हुन्छ । यिनका डिक्सनरीमा ती शब्दै छैनन् । त्यसैमा उनीहरुलाई गौरव छ । यिनले जानेको एउटै कुरा हो पुरानो सबै खराब हो नयाँ सबै राम्रो हो । के गर्छौ भनेर तपाईँले उनीहरुलाईसोध्नु भयो भने ‘देश बनाउँछु’ भन्छन्, कसरी बनाउँछौँ भन्यो भने जसरी बन्छ त्यसरी बनाउँछौँ भन्छन् । ओली, देउवा र प्रचण्डहरुले समाजमा रोपेको आक्रोश, घृणा, असन्तुष्टि उनीहरुको सबैभन्दा ठूलो योग्यता हो । समयको खेल हो, यो चुनावमा एउटा बलियो र मुख्य शक्ति यिनीहरु हुन्, रास्वपा हो । त्यसबाहेक यो निर्वाचनको अर्को मुख्य शक्ति नेपाली काङ्ग्रेस हो ।

केही दिन पहिले नेपाली काङ्ग्रेसले आफुलाई पुनर्गठन गरेको छ । राष्ट्रिय/अन्तरराष्ट्रिय चर्चाका साथ गगन र विश्वप्रकाश नेतृत्वमा आएका छन् । देउवाका नालायकीको भारी बोकेर जनताको घरदैलोमा जानु पर्ने अपमानबाट नेपाली काङ्ग्रेस बचेको छ । तर यो अर्कै नेपाली काङ्ग्रेस होइन, हामीले जानेकै काङ्ग्रेस हो, पुरानै काङ्ग्रेस हो, जुन काङ्ग्रेसले दलाल पुँजीवादलाई आधुनिक सिद्धान्त र कार्यक्रम दिएको थियो । यो नयाँ नेतृत्वको विरोधाभाष के छ भने यसले विचौलियातन्त्र वा दलाल पुँजीवाद चिन्छ । तर चिन्छु भन्न सक्दैन । देउवा फेरेकोमा गौरवान्वित छ तर देउवाकै विचार, सिद्धान्त र सङ्गठनले नेपाललाई समृद्ध बनाउने कुरा गर्छ ।

यसरी हेर्दा, बिचौलियातन्त्रलाई हेर्ने/बुझ्ने दृष्टिकोणका हिसाबले यी मुख्य पार्टीका भाषा र मात्रामा फरक होलान् तर व्यवहारिकरुपमा ती सबै एकै हुन् । जेन्जी आन्दोलन र विध्वंशको धक्कापछि पार्टीहरुलाई सच्याउन र मुलुकको जिम्मेवारी बोक्न सक्ने गरी पुनर्गठन गर्न ठूलो अवसर थियो । त्यस्तो पार्टीालाई मैले साङ्केतिक भाषामा घुस नखानेहरुको पार्टी भन्ने गरेको छु । घुस नखाने पार्टी भनेको घुस नखाने विचार, घुस नखाने सिद्धान्त, घुस नखाने राजनीति र घुस नखाने सङ्गठन भनेको हो । त्यो अवसर हामीले गुमाइसकेका छौँ । त्यसको परिणाम मुलुकले भोग्ने नै भयो । अर्थात्, चुनावको परिणामले पनि समाधान नदिने नै भयो ।

नेताहरुका नालायकी, भूराजनीतिक षडयन्त्र र बिचौलियातन्त्र नै आजका समस्याको ब्याड हो, त्यसको समाधान नगरिकन हामी शान्तिका साथ बाँच्न र भविष्यका बारेमा सोच्न सक्दैनौ । यो तितो, असाध्यै तितो यथार्थ हो, यसलाई स्वीकार गरौँ र भोलीका चुनौति सामना गर्न आफूलाई तयार गरौँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here