कार्तिक २८, कर्नाटक ।। भारतको दक्षिणी राज्य कर्नाटक सबै औपचारिक क्षेत्रका काममा संलग्न महिलाहरूलाई महिनावारी हुँदा तलबी बिदा दिने पहिलो राज्य बनेको छ। कर्नाटक संसारको सबभन्दा ठूलो आईटी कम्पनीहरूको कार्यालय भएको स्थान पनि हो।
नयाँ नीति अनुसार सरकारी र निजी कम्पनीमा काम गर्ने १८ देखि ५२ वर्षका महिलाहरूलाई हरेक महिनाको एक दिन छुट्टी दिइने छ। यो छुट्टीलाई अर्को महिना सार्न पाइने छैन। र त्यस्तो बिदा पाउन कुनै मेडिकल सर्टिफिकेट पनि आवश्यक पर्ने छैन।
यसले औपचारिक क्षेत्रमा काम गर्ने ३ लाख ५० हजारदेखि ४ लाख महिलालाई समेट्ने छ तर यसले अनौपचारिक क्षेत्रमा कार्यरत अनुमानत: ६० लाख महिलालाई समेट्दैन। त्यसमा घरेलु सहायक, दैनिक श्रमिक लगायत पर्छन्।
विज्ञहरू उक्त नीति अनौपचारिक क्षेत्रमा पनि लागु हुनुपर्ने बताउँछन्।
तर राज्यको महिनावारीका बेला बिदा दिने नीतिले कामको प्रकार या करार पत्र जस्तो भए पनि बिदा दिनुपर्ने गरी निजी क्षेत्रलाई समेटेकोले महत्त्वपूर्ण ठानिएको छ।
महिनावारीका बेला महिलालाई बिदा दिनुपर्ने अवधारणा नयाँ होइन।
स्पेन, जापान, दक्षिण कोरिया र इन्डोनेशियामा यस अघि नै महिनावारीका बेला महिलाहरूलाई बिदा दिइन्छ।
केही भारतीय राज्यले पनि सीमित मात्रामा त्यस्तो बिदा दिँदै आएका छन्।
बिहार र ओडिसामा सरकारी कर्मचारीका लागि महिनामा दुई दिन महिनावारी बिदा दिने गर्छन्।
केरलामा विश्वविद्यालय र इन्डस्ट्रिअल ट्रेनिङ इन्स्टिट्यूटका कर्मचारीलाई त्यस्तो बिदा दिने गरिएको छ।
तर भारतमा महिलालाई महिनामा एक दिन थप छुट्टी दिने कुराले ‘जेन्डर बायस’ र समानताबारे बहस निम्त्याइदिएको छ।
केहीले त्यसलाई आवश्यक अधिकार भनेका छन् र बिदाको व्यवस्थाले महिलालाई तलब कम हुने वा महिनावारीका बेला हुने दुखाइ सहँदै काम गर्नु पर्ने अवस्था नरहने भनेका छन्।
कर्नाटकका श्रममन्त्री सन्तोष ल्याडले भने, “यो महिलाका लागि सरकारले कार्यान्वयन गर्न लागेको एक अत्यन्त प्रगतिशील नीति हो। “






