असोज २७, झापा ।। बेलायत स्थित पूर्व सैनिकहरुको साझा संगठन गोर्खा मेमोरियल फण्डको १० औं स्थापना दिवस आइतवार विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ । स्थापना भएको १० वर्ष पूरा गरेको अवसरमा विभिन्न देशमा रहेका पूर्व सैनिकहरुले सैनिक जीवनका योगदान र उपलब्धीहरुको स्मरण गर्दै स्थापना दिवस मनाएका हुन् । शिक्षा, स्वास्थ्य, खेलकुद र मानव सेवामा समर्पित अग्रणी समाजसेवी संस्था गोर्खा मेमोरियल फण्डले यस कार्यक्रम मार्फत विश्वव्यापीरुपमा मानव सेवाको संदेश प्रवाह गरेको अध्यक्ष धनकिरण गुरुङले जानकारी दिनु भयो । केन्ट राज्यमा स्थापित सैनिक सालिकको प्राङगडमा आयोजित कार्यक्रममा सैनिक परेड र झाँकीहरु प्रस्तुत गरिएको थियो ।

सो अवसरमा सम्पूर्ण पूर्व सैनिकहरुको सेवा निवृत्त जीवन समाज र राष्ट्रका लागि स्वयम्सेवी बन्न प्रेरणा मिलोस भन्ने सन्देश फण्डका अध्यक्ष धनकिरण गुरुङले दिनु भएको थियो ।
सोहि अवसरमा फण्डको नेपाल शाखा गोर्खा मोमेरियल फाउण्डसनले पनि स्थापना दिनवमा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । फाउण्डेसनका अध्यक्ष गंगालाल गुरुङको अध्यक्षतामा काँकरभिट्टामा आयोजित कार्यकममा फाउण्डेसनका सदस्यहरुको उपस्थिति रहेको थियो । स्थपना दिवसकै अवसर पारेर फाउण्डेसनले बेलायत स्थित फण्डको कार्यलयलाई शुभकामना सन्देश पठाउँदै भदौं २३ र २४ गते नेपालमा भएको आन्दोलनबाट मेचीनगर नगरपालिकामा पुगेको क्षतिमा आवश्यक सहयोगका लागि पहल गर्ने निर्णय समेत गरेको अध्यक्ष गुरुङले जानकारी दिनु भयो ।









