असोज २, भद्रपुर ।। अब हुने निर्वाचन प्रत्यक्ष कार्यकारी निर्वाचित हुने गरी तयारी गर्नु पर्ने धारणा संविधान सभाका सदस्य रविन कोइरालाले व्यक्त गर्नु भएको छ । नेपाल परिवार नियोजन संघको ६७ औं स्थापना दिवस तथा १२ औं राष्टिय परिवार योजना दिवसको अवसरमा आज भद्रपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कोइरालाले यस्तो धारणा राख्नु भएको हो । उहाँले भदौं २३ र २४ गते भएको जेन–जी बिद्रोहबाट देशले ठुलो क्षति व्यहार्नु परेको उल्लेख गर्र्दै युवाहरुको बलिदानलाई उच्च सम्मान गर्नु पर्ने बताउनु भयो । जनचाहना र स्थायित्वका लागि संविधान संशोधन गरेर भए पनि कार्यकारी प्रमुखको निर्वाचन प्रत्यक्ष गर्न सुझाव दिनु भएको हो ।

नेपाल परिवार नियोजन संघ झापा शाखाका अध्यक्ष लोकनाथ भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा उत्कृष्ट सेवा गरेबापत ज्ञानेचौक स्वास्थ्य क्लीनिककी कर्मचारी रोजिना थापा मगरलाई सम्मान गरिएको थियो । झापा शाखाका सचिव राजेन्द्र भट्टराईले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य कार्यालय प्रमुख कमल सुवेदीले गर्नु भएको थियो ।








