प्रधानमन्त्री र मन्त्रीका गाडीमा इम्बोस्ड नम्बर राख्न नपर्ने, सर्वसाधारणलाई अनिवार्य


१९ भाद्र २०८२, बिहीबार ०९:२८ मा प्रकाशित

भदौं १९, काठमाडौं ।। नेपालमा विशिष्ट अधिकारीहरूले प्रयोग गर्ने सरकारी सवारीसाधनमा नीलो र रातो रङ्ग नम्बर प्लेट प्रयोग हुँदै आएको छ। तर त्यस्तो ढाँचाको इम्बोस्ड नम्बर प्लेट राख्ने व्यवस्था नभएका कारण राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीका सवारीसाधनमा जडान गर्न नसकिएको अधिकारीहरूले बताएका छन्।

Advertisement

यातायात विभागले सर्वसाधारण गाडीधनीले इम्बोस्ड नम्बर प्लेट जडान गर्नै पर्ने नियम ल्याएको छ। नयाँ शैलीको नम्बर प्लेट जडान नभएको सवारीसाधन चलाए असोज १ गतेबाट चालकलाई कारबाही गर्ने योजनामा सरकारी निकायहरू थिए। तर व्यापक विरोध भएपछि केही दिनअघि सरकारले कारबाहीको योजना स्थगित गरेको छ।

यातायात व्यवस्था विभागका प्रवक्ता गणेशमान सिंह राईले विशिष्ट व्यक्तिहरूका लागि प्रयोग हुने नीलो र रातो नम्बर प्लेटको व्यवस्था इम्बोस्ड नम्बर प्लेटको कानुनले नगरेका कारण त्यस्तो नम्बर प्लेट जडान हुन नसकेको बताए।

अहिले जडान भइरहेका इम्बोस्ड नम्बर प्लेटहरू पहेँलो पृष्ठभूमिमा कालो र सेतो पृष्ठभूमिमा रातो वा कालो रङ्गका मात्रै छन्। सरकारी सवारीसाधनहरूका लागि सेतो पृष्ठभूमिको प्लेटमा रातो अक्षरले नम्बर लेखिएको हुन्छ भने निजी र सार्वजनिक सवारीसाधनका हकमा कालो अक्षरले लेखिएको हुन्छ। ट्याक्सीहरूमा पहेँलो पृष्ठभूमिमा कालो रङ्गले लेखिएको नम्बर प्लेट प्रयोगमा छ।

अहिले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख र उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्ष, मन्त्री, प्रदेश प्रमुख, प्रदेशका सभामुख र मुख्यमन्त्री र मन्त्री चढ्ने सरकारी सवारीसाधनको नम्बर प्लेटको माथिल्लो आधा भाग पुरानै शैलीमा रातो र तल्लो आधा भाग नीलो रङ्गमा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here