अफगानिस्तानमा भूकम्प, सयौँको ज्यान गएको हुनसक्ने तालिबान सरकारको आशङ्का


१६ भाद्र २०८२, सोमबार ०९:३९ मा प्रकाशित

भदौं १६, झापा ।।

Advertisement

पूर्वी अफगानिस्तानमा ८ किलोमिटरको गहिराइमा गएको छ म्याग्निट्यूडको भूकम्पका कारण सयौँको ज्यान गएको हुन सक्ने आशङ्का गरिएको छ। स्थानीय समय अनुसार आइतवार राती ११ बजेर ४७ मिनेट जाँदा गएको भूकम्पको केन्द्रबिन्दु देशको पाँचौं ठूलो सहर जलालाबादबाट २७ किलोमिटर पर रहेको बताइएको छ।

अधिकारीहरूले बीबीसीलाई बताएअनुसार नाङ्गरहार र कुनार प्रान्तमा कम्तीमा २० जनाको मृत्यु भएको थाहा भएको र १०० भन्दा बढी घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ।

तालिबान सरकारका कैयौँ स्रोतहरूले दर्जनौँ घरहरू “भग्नावशेषमा परिणत” भएको बताएका छन्। मारिएकाहरूको सङ्ख्या बढ्न सक्ने आशङ्का गरिएको छ।

बीबीसी अफगान सेवाका अनुसार निकै प्रभावित कुनार प्रान्तका कैयौँ स्रोतहरूले त्यहाँ “सयौँको मृत्यु भएको” र कैयौँ घाइते भएको बताएका छन्।

तालिबान अधिकारीहरूले दुर्गम पहाडी क्षेत्रहरूमा उद्धार कार्यका लागि सहयोग गर्न अन्तर्राष्ट्रिय मानवीय संस्थाहरूलाई आग्रह गरेका छन्।

त्यहाँ कतिपय क्षेत्रहरू पहिरो र बाढीका कारण हवाई पहुँचमा ​​मात्र छन्।

अफगानिस्तान भूकम्पका घाइतेलाई अस्पताल लगिँदै

घाइतेहरूको उपचार र सहायताका लागि चिकित्सकहरू बोकेका कम्तीमा चारवटा हेलिकप्टरहरू कुनार प्रान्त पुगेको स्रोतहरूले बताएका छन्।

यसैबीच नाङ्गरहार प्रान्तमा दर्जनौँको सङ्ख्यामा स्वयंसेवकहरू रक्तदान गर्न अस्पतालहरूमा पुगेका छन्।

भूकम्पले काबुलदेखि पाकिस्तानको राजधानी इस्लामाबादसम्मका भवनहरू हल्लाएको बताइएको छ। त्यो करिब ३०० किलोमिटर परको दूरी हो।

धेरैजसो भूकम्पको क्षति कुनार प्रान्तमा भएको ठानिएको छ जसको झण्डै ९० प्रतिशत भूभाग पहाडी छ।

सन् २०२२ को भूकम्पमा पनि यस्तै कठिनाइहरू देखिएको थियो जसमा झण्डै १,००० मानिसहरूको मृत्यु भएको थियो। पहिरोका कारण दुर्गम गाउँहरूमा खोज र उद्धार प्रयासहरू अवरुद्ध भएपछि हवाई मार्ग प्रयोग ​​गर्नुपरेको थियो।

इन्डिअन र युरेशिअन टेक्टोनिक प्लेटहरू जोडिने कैयौँ ‘फल्ट लाइनहरू’को माथि अवस्थित रहेकाले अफगानिस्तान भूकम्पका दृष्टिले निकै जोखिममा रहेको क्षेत्र मानिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here