रणभूल्ल


१४ भाद्र २०८२, शनिबार १०:३८ मा प्रकाशित

रणभूल्ल

Advertisement

डा.सृजना शर्मा //

एकातिर तिमी स्वतन्त्रताको नारामा

भुल्याउँछौ भेडो बनाइ।

अर्कातिर वस्तुकरणको बजारमा

बिस्कुन बनाएर फैलाउँछौ बजारभरि।

एकातिर समानता, अधिकार र समताको चर्को नारामा

मुठ्ठी बनाएर हात उज्याउन लगाउँछौ।

अर्कातिर त्यही उजिएका हात मुन्तिरबाट

मेरा अधुरा कार्य खोसेर तिमीले

आफैलाई सर्वोत्कृष्ट घोषणा गर्दै

मेरै बुद्धिको धरातलमा आफ्ना तलो अझ चुल्याइरहेका छौ।

तिमीले मलाई यो गर, यो नगर भनेर निर्देश दिइरहँदा

म सोचिरहेको छु, म तिम्रो निर्देश मान्न के साँच्चिकै बाध्य नै छु त?

उसो भए, मलाई बन्देज र निषेध मात्रै होइन

तिम्रो निदेश पनि उत्तिकै घातक छ ।

मेरो स्वतन्त्रताको शङ्खघोषका लागि

रोजाइ मेरै हुनुपर्छ

खोजाई मेरै हुनुपर्छ

भोगाई मेरै हुनुपर्छ।

नत्र… तिम्रो निर्देशमा निर्देशित मेरा स्वतन्त्रताको कुनै अर्थ छैन।

म मेरै स्वविवेकमा उसरी नै चल्न सक्षम छु।

ठीक त्यसरी नै

जसरी तिमी चलिरहेका छौ।

तिमी को हौ र मलाई स्वतन्त्रता दिने?

तिमी के हौ र मलाई निर्देश दिने?

म पनि मानवी हुँ उसरी नै

जसरी तिमी आफूलाई मानव घोषणा गर्छौ।

आधी आकाशको कुरा होइन यहाँ

उड्नलाई मकहाँ सम्पूर्ण क्षितिज

उसरी नै उपलब्ध हुनुपर्छ अब

जसरी यसको आयतन आजसम्म तिमीले नापिरहेका छौ एकलौटी।

धरणीको फैलावटमा उसरी नै मेरा पनि

पैतालाका छाप अमेट हुनुपर्छ अब

जसरी तिमीले पाइला पाइलामा

छापेका छौ आफ्ना डोबहरू

अब बागमतीको पानीमा मेरो पनि उत्तिकै

छवि प्रतिबिम्बित हुनुपर्छ

जसरी तिम्रा छविले निर्मल बागमतिलाई जीवन दिन्छ।

हो!

अब यो धरती मात्रै होइन, नभ, नक्षत्रको नवउन्मेषमा

मेरो पनि उत्तिकै सहभागिता रहने छ, जसमा तिम्रो एकलौटी शासन रह्यो युग युगान्तर।

म निदेशमा चल्न कुनै रोबोट होइन तिम्रो

म तिमीद्वारा दिइने केही “कोड अब् कन्डक्ट” मा चल्न

तिम्रा सुपर कम्प्युटरका कुनै तिमीद्वारा लेखिएका प्रोग्राम होइन

मलाई मेरो अस्तित्व कायम गर्न तिमीद्वारा सञ्चालित भइबस्नु पर्दैन अब।

किनभने…

आधा आकाश होइन, पुरै नभमण्डल र ग्यालेक्सी ठीक उसरी नै मेरै हो

जसरी यो तिमीले आफ्नो ठानिरहेका छौ।

यसलाई आफ्नै मानी राखेका छौ

अब तिमी र म एकार्काका परिपुरक होइनौँ भनेर बुझ तिमीले

म स्वयंमा सम्पूर्ण छु, जसरी तिमी स्वयं सम्पूर्ण

बरु आऊ

हामी एकार्कालाई आ-आफ्नै सम्पूर्णतामा स्वीकारौँ र सुखी बनौँ।

के सम्भव छ त यो?

सन्धान गर्ने पालो अब तिम्रै हो

आफ्नै आत्मा नियालेर

किनभने…

यो मेरो बोध हो -जीवनसत्वको।

यो मेरो घोषणा हो – स्वअस्तित्वको

अब स्वीकार गर या नगर तिमीले

यो मेरो स्वीकारोक्ति हो -आफ्नै चेतनाको

यो मेरो स्वीकारोक्ति हो -आफ्नै चेतनाको ।।

–चन्द्रागिरी–

==========================

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here