यसरी सुरु भयो तीजमा दर खाने प्रचलन (पूरा समाचार पढ्नुहोस् )


९ भाद्र २०८२, सोमबार २१:०४ मा प्रकाशित

-सुमित्रा लुईटेल//

Advertisement

दर तीजको विशेष खान्की हो । दर एउटा भोजन मात्रै होइन, यो संस्कृति र मान्छेको मानसिकतासँग जोडिएको विषय पनि हो । तीजको व्रत बस्ने अघिल्लो दिन दर खाने परम्परा रहेको छ । भोलिपल्ट तीजको दिन केही पनि नखाई व्रत बस्ने भएकाले शरीरलाई चाहिने पोषक तत्त्वको कमी नहोस् भनेर अघिल्लो राति दर खाने चलन छ । दर शब्दको शाब्दिक अर्थ दरिलो हो ।

यो प्रचलनको सुरुवात धार्मिक कथासँग जोडिएको छ । धार्मिक मान्यताअनुसार सत्ययुगमा देवी पार्वतीले भाद्र शुक्ल द्वितीयाका दिन दर खाई तृतीयामा निराहार व्रत बस्दा भगवान् महादेव पाएको विश्वास छ । यो कथा हिन्दु पुराणहरूमा आधारित छ, जसमा पार्वतीले शिवलाई पतिका रूपमा प्राप्त गर्न कठोर व्रत र तपस्या गरेकी थिइन् । यसैबाट प्रेरित भएर नेपाली हिन्दु महिलाहरूले तीज मनाउने र दर खाने परम्परा सुरू भएको मानिन्छ ।

यो परम्परा नेपाल र भारतका उत्तरी भागहरूमा विशेष रूपमा प्रचलित छ, जसको जड हिन्दु संस्कृति र पौराणिक कथाहरूसँग गाँसिएको छ । समय क्रममा यो परम्परा महिलाहरूको स्वास्थ्य र शक्ति संरक्षणको व्यावहारिक पक्षसँग पनि जोडिएको छ, किनकि व्रतको दिन पूर्णरूपमा उपवास बस्दा शरीरलाई अघिल्लो दिनको पौष्टिक भोजनले सहारा दिन्छ ।

अहिले तीज भन्दा केही समयअघि देखि नै दर खाने भन्दै महिलाहरू जम्मा हुने, विभिन्न परिकार खाने, रमाइलो गर्ने गर्छन् । तर, दर खाने भनेको तीजको व्रत बस्ने पहिलो दिन नै हो । यसलाई आधुनिक समयमा पार्टीहरू, होटेलहरू र सामूहिक भेलाहरूमा विस्तार गरिएको छ, जसले परम्परालाई सामाजिक र मनोरञ्जनात्मक रूपमा फैलाएको छ ।

पुरानो परम्परा अनुसार जसरी घरमा खीर, ढकनी, तरकारी, अचार लगायत बनाएर खाइन्छ त्यस्ता खाना काब्रोहाइड्रटको राम्रो स्रोत हो । यस्ता खानेकुराबाट धेरै ऊर्जा प्राप्त हुन्छ र भोलिपल्ट व्रतको दिनसम्म पनि ऊर्जा रहिरन्छ । त्यसैले दरको रूपमा खीर, ढकनी जस्ता खानेकुरा खाने चलन पोषणको हिसाबले राम्रो भएको पोषणविद् प्रणिती सिंह बताउँछिन्।

‘पछिल्लो समय दरकोरूपमा बुफेट खाना मासु, पुलाउ खाने चलन छ’ सिंह भन्छिन्, ‘यस्ता खानेकुराले भने डिहाइड्रेसन गराउने र व्रत बस्न झन् गाह्रो हुन सक्छ।’

यसबाहेक, स्वास्थ्य विशेषज्ञहरूका अनुसार दरमा चोखो, शाकाहारी र दुग्धजन्य पदार्थहरू प्रयोग गर्नु राम्रो हुन्छ, किनकि यिनीहरूले शरीरमा पानी र ऊर्जाको सन्तुलन राख्छन् ।
दरको रूपमा अत्यधिक चिल्लो वा मासुजन्य भोजनले पाचन समस्या निम्त्याउन सक्छ, जसले व्रतको दिन थकान वा अस्वस्थता बढाउँछ । यसलाई रोक्न दरमा फलफूल, दही, दूध र हल्का तरकारीहरू समावेश गर्न सल्लाह दिइन्छ ।

दरको विशेष परिकार

दरको रूपमा खास गरी दूधजन्य परिकार बनाएर खाने प्रचलन छ । खीर, ढकनी, चाम्रे, आलुको तरकारी, अचार लगायत अरू मीठो मसिनो परिकार बनाएर छोरी चेलीलाई खुवाउने गरिन्छ । त्यसैले दरको विशेष परिकार भनेको यिनै खीर, ढकनीजस्ता खानेकुरा भएको द सोल्टी होटेलका सुसेफ आरबी बुढाथोकी बताउँछन् ।

दरको रूपमा खाने यस्ता परिकारले भोलिपल्ट सिङ्गै एक दिनभरका लागि मान्छेलाई तागत दिन्छ, शक्ति दिन्छ त्यसैले पनि दरको रूपमा बढी दूधजन्य खानेकुरा खाने गरिएको पाइने उनले बताए ।

यसबाहेक, क्षेत्रीय भिन्नता अनुसार दरमा सेल रोटी, घिउमा भुटेको केरा, काँक्राको अचार वा गुँद, हलुवाजस्ता परिकारहरू पनि समावेश हुन्छन् । ग्रामीण क्षेत्रमा घरेलु सामग्रीबाट बनाइने दर बढी मौलिक हुन्छ, जब कि शहरी क्षेत्रमा आधुनिक बुफेट शैली बढ्दो छ । यस परम्पराले महिलाहरूलाई माइतीसँग जोड्ने र पारिवारिक बन्धन मजबुत बनाउने सामाजिक महत्त्व पनि बोकेको छ ।

समग्रमा, दर खाने प्रचलन तीजको आध्यात्मिक, सांस्कृतिक र स्वास्थ्य पक्षलाई मजबुत बनाउने माध्यम हो, जसलाई पार्वतीको पौराणिक कथाबाट प्रेरणा मिलेको छ । आधुनिक समयमा यसलाई स्वस्थ र मौलिक रूपमा मनाउनु आवश्यक छ, जसले परम्पराको संरक्षण गर्दै स्वास्थ्य लाभ पनि दिन्छ ।

-अनलाइन खबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here