साउन २४, एजेन्सी ।।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच युक्रेनमा भइरहेको युद्धको भविष्यका विषयमा छलफल गर्न आउँदो शुक्रवार अलास्कामा भेट हुने भएको छ।
ट्रम्पले १५ अगस्टमा हुने त्यस्तो भेटवार्ताको घोषणा सामाजिक सञ्जालमा एक सन्देश लेखेर गरेका थिए जसलाई पछि क्रेमलिनका एक जना प्रवक्ताले पुष्टि गर्दै अलास्का सापेक्षित रूपमा रुसबाट नजिक भएको भन्दै वार्तास्थल “एकदम युक्तिसङ्गत” भएको बताएका थिए।
ती प्रवक्ताका अनुसार सम्भावित दोस्रो शिखर बैठकका लागि ट्रम्पलाई रुसमा निम्त्याइएको छ।
यस विषयमा युक्रेनको तर्फबाट तत्काल प्रतिक्रिया आइसकेको छैन।
ट्रम्पले युद्ध अन्त्य गर्नका निम्ति युक्रेनलाई आफ्ना केही गुमेको भूभागमाथिको दाबी छाड्न पर्ने हुनसक्ने सङ्केत गरेको केही घण्टापछि यस्तो नयाँ घोषणा सार्वजनिक भएको हो।
सन् २०२२ को फेब्रुअरीमा रुसले आफ्नो छिमेकी राष्ट्रमाथि पूर्ण स्तरको अतिक्रमण आरम्भ गरेपछि यो युद्ध सुरु भएको थियो।
शुक्रवार ह्वाइट हाउसमा बोल्दै ट्रम्पले भनेका थिए,”त्यस्तो भूभागका बारेमा कुरा हुँदै छ जसका निम्ति साढे तीन वर्षसम्म लडाइँ चलेको थियो र धेरै रुसीहरूको ज्यान गएको छ। धेरै युक्रेनीहरूको पनि ज्यान गएको छ।”